एकादशी : महात्म्य तथा व्रतकथा

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-
स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्। न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।
अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः। तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ। एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको ‘हरिदिवस’ र ‘हरिवासर’ पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-
अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
इ. शरीरमा विद्यमान चैतन्यको गति ‘ऊर्ध्व’ अर्थात् माथिल्तिर प्रवाहित हुनु।
ई. व्रत सम्पादन गर्न सजिलो हुनु।
उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

‘एकादशी’ व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-
अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।

यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।bisnu
एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका शुभनाम
* चैत्रमास- पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास- योगिनी एवं शयनी एकादशी।
* श्रावण मास- कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास- अजा एवं पद्मा एकादशी।
* अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास- सफला एवं पुत्रदा एकादशी।
* माघ मास- षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास- विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान
शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्त्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ। एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ। भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ। पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ।

प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुपर्छ वा पुरोहित बाट श्रवण गर्नुपर्छ। प्रभुका सामु उभिएर “आज म चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन गर्नेछु, ‘ॐ नमो भगवते वासुदेवाय’ यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असंख्य दिव्य नामलाई मुखाग्र बनाउने छु” भनी प्रतिज्ञा गर्नु पर्छ। यस्तो संकल्प गरेर भगवान विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ- ‘हे त्रिलोकपति ! मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।’ यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ। एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन। यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ। यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ। गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ। द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ। curse-of-krishna-to-aswathama

व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।

उत्पत्तिका एकादशी व्रतको व्रतकथा

मार्गशीर्ष महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ।
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्दा भगवानले बताउनुभयो- सत्ययुगमा मुर नामक भयङ्कर दानवले देवराज इन्द्रलाई पराजित गरेर स्वर्गमथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो।

अनि सबै देवता कष्ट निवारणको उपाय पत्ता लगाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीरसागर जानुभयो। त्यहाँ शेषनागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई साष्टांग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे। देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। युद्धका क्रममा असंख्य असुरहरूको संहार भयो तर मुर दैत्य मारिएको थिएन। उसको शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो र त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रालीन हुनुभयो। दानव मुरले भगवान विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन् । ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन।

नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान दिई उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो। श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ। एकादशीमा उपवास गरेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ। उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन। एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।

मोक्षदा एकदशीको व्रत कथा

पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ- मार्गशीर्ष शुक्ल एकादशीका दिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदाएकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ। मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो। अत: यो तिथि गीता जयंतीका नामबाट पनि विख्यात छ। यस दिनदेखि गीता-पाठको अनुष्ठान प्रारंभ गर्नुपर्छ तथा प्रतिदिन यथासंभव गीता पढ्नुपर्छ। गीतारूपी सूर्य को प्रकाशद्वारा अज्ञानरूपी अंधकार नष्ट हुन्छ।

भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस संदर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ। भगवान भन्नु हुन्छ एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख-शांतिपूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, संत सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन। बिहान क्षितिजमा सूर्यको लालिमा देख्नासाथ उनी ज्ञानी पंडित र विद्वानको शरणमा पुगे र जेजस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाए।

राजाका कुरा सुनेर पंडितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए। राजा पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक उनीसित आफ्नो समस्या बताए। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने-हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ। उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ। यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई दिनुपर्छ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ। राजाले विधिपूर्वक एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए। राजा वैखानसका पिता यस पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भए र स्वर्गमा उनले स्थान प्राप्त गरे।

सफला एकादशी व्रतको व्रतकथा

पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- यस एकादशीको नाम सफला एकादशी हो। यस एकादशीका देवता श्रीनारायण हुनुहुन्छ। विधिपूर्वक यस व्रतको पालना गर्नुपर्छ। जसरी नागहरूमध्ये शेषनाग, पक्षीहरूमध्ये गरुड़, सबै ग्रहहरूमध्ये चन्द्रमा, यज्ञहरूमध्ये अश्वमेध र देवताहरूमध्ये भगवान् विष्णु श्रेष्ठ छन, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत सर्वोत्तम र श्रेष्ठ मानिन्छ । जुन व्यक्तिले सबै एकादशीको व्रत सम्पादन गर्दछ, त्यो भक्त मेरा निम्ति परमप्रिय हुन्छ । हे राजन् ! अब यस व्रतको कथा सुन ।

चम्पावती नगरीमा महिष्मान नाम गरेका राजा राज्य गर्दथे। उनका चार पुत्र थिए। ती सबैमा लुम्पक नामको जेठो छोरो महापापी थियो। त्यो पापी सदैव जाँडरक्सी सेवन गर्ने, जुवातास खेल्ने, परस्त्री र वेश्यागमन तथा अन्यान्य नराम्रा काममा आफ्ना पिताको धन नष्ट गर्ने गर्थ्यो। सदैव देवता, बाह्मण, वैष्णव आदिको निन्दा गर्थ्यो। जब राजाले आफ्नो जेठो छोरो बिग्रेको थाहा पाए, उनलाई असाध्यै दुःख लाग्यो। छोरो सुधार्ने अनेकौं प्रयास गरे, अन्त्यमा केही नलागेपछि त्यसलाई उनले आफ्नो राज्यबाट निकालिदिए। त्यसपछि लुम्पक विचार गर्न थाल्यो कहाँ जाऊँ? के गरूँ? आदि।

अन्त्यमा उसले चोरी कर्मबाट जीविका चलाउने निर्णय गर्यो। दिउसो ऊ वनमा बस्थ्यो र रात्रिमा आफ्नो पिताको नगरीमा चोरी गर्थ्यो तथा प्रजालाई दुःख दिई दिई मार्ने कुकर्म पनि गर्थ्यो। केही समयपछि समस्त नगरवासी भयभीत भए। ऊ उता वनमा समेत पशु आदिलाई मारेर खान थाल्यो। नागरिक र राज्यका कर्मचारी उसलाई समात्दथे तर राजाका डरका कारणले छोड़दथे। वनमा एउटा अति प्राचीन विशाल पीपलको वृक्ष थियो। मानिसहरू त्यस रुखलाई भगवानसरह पूजा गर्थे। त्यसै वृक्षमुनि त्यो महापापी लुम्पक बसोवास गर्थ्यो। यस वनलाई मानिसहरू देवताको क्रीड़ास्थली मान्दथे। केही समयपछि पौष कृष्ण पक्षको दशमीका दिन ऊ वस्त्रहीन भएका कारण शीतकालको त्यो सम्पूर्ण रात सुत्न र निदाउन सकेन। त्यसका हातखुट्टा कक्रिए। सूर्योदय हुने बेलासम्म त ऊ मूर्छित नै भयो।

अर्को दिन सफला एकादशीको दिन थियो। एकादशीका दिन मध्याह्नको घाम चर्कंदै गर्दा सूर्यको तापले उसको मूर्छा हट्यो। लड्दैपड्दै ऊ भोजनको खोजीमा निस्क्यो। पशुलाई वध गर्न त ऊ असक्त भइसकेको थियो, त्यसैले वनमा वरपर डुलेर रुखमुनि झरेका फल टिपेर सङ्कलन गरी त्यसै पीपलको रुखमुनि आयो। त्यति बेलासम्म सूर्य अस्त भइसकेका थिए। अघिल्लो रातदेखि नै एकादशीको बेलुकासम्म निराहार भएकाले उसमा अध्यात्मिक चेतना विकास भई सकेको थियो। ल्याएका फल भुइँमा राख्नासाथ उसका मुखमा यस्ता शब्द उच्चरित भए – हे भगवन् ! अब हजुरलाई नै अर्पण गर्दछु, यी फल। हजुर नै तृप्त हुनुहवस्।Lord-Vishnu-and-Laxmi

भोकले निर्बल भएको लुम्पक्ले ती फल खान पनि सकेन, त्यस दिन रात्रिको समयमा पनि दु:ख र कष्ट सहन नसकेर सुत्न र निदाउन पनि सकेन। त्यसको यस उपवास र जागरणले भगवान अत्यन्त प्रसन्न हुनुभयो। व्रतको पुण्य प्राप्त हुनाले उसका सम्पूर्ण पाप नष्ट भए। अर्को दिन प्रात:कालमा एउटा अति सुन्दर घोड़ा अनेकौं सुन्दर वस्तुहरूद्वारा सजिएर उसका सामुन्ने आई उभियो र त्यसै समय आकाशवाणी भयो – हे राजपुत्र ! श्रीनारायणको कृपाले तेरा समस्त पाप नष्ट भए, अब तँ आफ्ना पिताको राज्यमा फर्की, पितासामु उभिएर आफूले गरेका कुकर्मप्रति क्षमा माग, पश्चाताप गर र राज्य प्राप्त गर । यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो, उसमा अचानक उत्साह, उमङ्ग र स्फूर्ति सिर्जना भयो। त्यसपछि घोडामा भएको दिव्य वस्त्र धारण गरी ‘भगवान हजुरको जय होस’ भन्दै ऊ आफ्ना पिताको दरबारतर्फ लाग्यो।

दरबारमा पुगेर आकाशवाणीमा बताइएबमोजिम आफ्नो गल्ति स्वीकारेर कुकर्मप्रति क्षमा माग्यो। छोरोमा सुधार आएको थाहा पाई भगवान्प्रति कृतज्ञता प्रकट गर्दै उसका पिताले प्रसन्न भई उसलाई समस्त राज्यको भार सुम्पिदिएर वनतर्फ़ वानप्रस्थ आश्रमतर्फ़ गए। अब लुम्पक शास्त्रानुसार राज्य गर्न थाल्यो। उसका स्त्री, पुत्र आदि सारा कुटुम्ब भगवान नारायणका परम भक्त भए। वृद्ध भएपछि ऊ पनि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर वनमा तपस्या गर्न गयो र अन्त्यकालमा वैकुण्ठलोकमा गयो। अत: जो मनुष्यले यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ उसका पापराशि नष्ट हुन्छन् र अन्त्यमा मुक्ति प्राप्त गर्दछ । व्रत लिन नसके पनि यस एकादशीका दिन सफला एकादशीको माहात्म्य र व्रतकथा पढ्ने वा श्रवण गर्ने मनुष्यले पनि अश्वमेध यज्ञको फल प्राप्त गर्दछ।

पुत्रदा एकादशी व्रत कथा
पद्मपुराणको कथा हो। युधिष्ठिरले सोधे पछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- पौष महिनाको शुक्लपक्षको एकादशीको नाम पुत्रदा एकादशी हो। यसले सबै पापलाई हरण गर्दछ। समस्त कामनाहरू तथा सिद्धिहरूका दाता भगवान नारायण यस तिथिका अधिदेवता हुन। चराचर प्राणिहरू सहित त्रिलोकीमा यस व्रतभन्दा ठूलो अर्को व्रत र तिथि छैन।

पूर्वकालमा भद्रावतीपुरीका राजा सुकेतुमान तथा महारानी चंपा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिंतामा डुबेर समययापन गर्दथे। एक दिन राजा घोडामाथि चढेर गहन वनतर्फ़ प्रस्थान गरे। त्यहां उनले एउटा सरोवरको नजिकमा ऋषि-मुनिहरूको आश्रम भेटे। राजा मुनिद्वारा गुन्जायमान वेद-पाठले अत्यंत प्रभावित भए र उनले ती ऋषिहरूलाई दण्डवत् प्रणाम गरे। राजाले अनुरोध गरेपछि मुनिहरूले आज्ञा गरे- राजन्! हामी विश्वेदेव हौ। आजबाट ५ दिनपछि माघको स्नान प्रारंभ हुनेछ। आज पुत्रदा एकादशी हो, जुन व्रतले व्रतकर्तालाई पुत्र-सुख प्रदान गर्ने सामर्थ्य राख्दछ। तिमी यस व्रतलाई विधिपूर्वक पालना गर। भगवान केशवको प्रसादस्वरूप तिमीलाई पुत्र प्राप्त हुनेछ।

मुनिहरूको निर्देशानुसार राजाले पुत्रदा-एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पार्ना गरे। यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे। जो व्यक्तिले पुत्रदा एकादशीको सविधि व्रत लिने गर्दछन, तिनका घरमा पुत्रलाभ हुन्छ। यो कतिपय भक्तको अनुभव हो। व्रत लिनेले यस जन्ममा पुत्र-सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ। पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ गरे सरहको फल प्राप्त हुन्छ। पुत्रप्राप्तिको कामना हुने भक्तजनले पुत्रदाएकादशीबाट प्रारंभ गरी निम्न मंत्रको प्रतिदिन कम्तीमा पनि ५ माला अर्थात ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ-
ॐ क्लीं देवकीसुतगोविन्द वासुदेव जगत्पते। देहि मे तनयं कृष्ण त्वामहं शरणं गत: क्लीं ॐ॥
मंत्रको जपपछि संतानगोपाल स्तोत्रको पाठ गर्नाले अनेक नि:संतानले संतान-सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिन्छन।

षट्तिला एकादशीको व्रत कथा
नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे। त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ?देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो- प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन। ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो ।

तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन। एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन्। व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन अत: मैंने विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्यो। मैले ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिन। म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किए। केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन। यहां उनाले एउटा एक कुटी र आपको रुख प्राप्त गरिन्। खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन- म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु ! अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो। त्यसपछि मैंले त्यस ब्राह्मणीलाई भने- जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन। स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन। व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो। त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ।

व्रतविधानका सम्बन्धमा जुन विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई बताएकाथिए त्यो यहां प्रस्तुत गरिन्छ। ऋषि भन्दछन- माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्व छ। यस महिनामा कृष्णपक्षमा आउने एकादशीलाई षट्तिला भन्दछन। षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ। व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ। मास र तिल मिश्रित खिचड़ी पकाएर भगवानलाई लगाउनु पर्छ। रात्रिको समयमा तिलले १०८ पटक “ॐ नमो भगवते वासुदेवाय स्वाहा” यस मंत्रले हवन गर्नु पर्छ। यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ। जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हज़ार वर्ष स्वर्गप्राप्ति हुन्छ। ऋषिवरले जुन ६ किसिमको उपयोग बतौनु भएको छ त्यो यस प्रकार छ-
१. तिलमिश्रित जलले स्नान गर्नु,
२. तिलले शरीरको मालिश गर्नु,
3. तिलको तिलक लगाउनु,
४. तिलमिश्रित जल-पान गर्नु,
५. तिलको भोजन र
६. तिलद्वारा हवन।

यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग त गर्नै पर्छ तथा कुनै श्रेष्ठ ब्राह्मणलाई बोलाएर उनलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ। यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त बनाई दिनुहुन्छ र पुण्य प्रदान गरेर स्वर्गमा स्थान प्रदान गर्नुहुन्छ। यस कथनलाई सत्य मानेर जो भगवद्भक्तले यो व्रत विधिवत लिन्छ त्यसको प्रभुले निश्चय नै उद्धार गर्नुहुन्छ ।

जया एकादशीको कथा

जया एकादशीका विषयमा जुन कथा प्रचलित छ, त्यसबमोजिम धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसित निवेदन गर्दछन। माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ? र यस एकादशीको के महत्त्व के छ? श्री कृष्ण आज्ञा गर्नुहुन्छ। माघ शुक्ल पक्षको एकादशीलाई जया एकादशी भन्दछन। यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ। श्रीकृष्णले यस सन्दर्भमा एउटा कथा पनि युधिष्ठिरलाई सुनाउनुभयो।
नंदन वनमा उत्सव चल्दै थियो।

त्यस उत्सवमा सबै देवता, सिद्ध, संत र दिव्यपुरूष उपस्थित थिए। त्यस समय गंधर्व गायन गर्दै थिए र गंधर्वकन्या नृत्य प्रस्तुत गर्दै थिए। सभामा माल्यवान नामक एउटा गंधर्व र पुष्पवती नामक एउटी गंधर्वकन्याको नृत्य हुदै थियो। त्यसै बीच पुष्यवतीको नज़र जसै माल्यवान उपर पर्यो ऊ त्यस गन्धर्वप्रति मोहित भई। पुष्यवती सभाको मर्यादालाई बिर्सिएर माल्यवान आफूतर्फ़ कसरी आकर्षित हुन्छ भन्ने ध्येयले नृत्य गर्न थाली। माल्यवानले पनि गंधर्वकन्याको भंगिमालाई देखेर आफ्नो होस गुमायो र गायनको मर्यादा उल्लङ्घन गर्यो, परिणामतः उसले बेसुरको अलाप गाउन थाल्यो। इन्द्र पुष्पवती र माल्यवानका अमर्यादित कृत्य देखेर क्रोधित भए र उनले दुबैलाई स्वर्गबाट वञ्चित हुने र पृथ्वीमा बसोवास गर्ने तथा मृत्युलोकमा अति नीच पिशाच योनिमा जन्म हुने श्राप दिए । यस्तो श्रापका कारण तत्काल दुबै जना पिशाच बने र हिमालय पर्वतमा एउटा वृक्षमा दुबैको निवास हुनथाल्यो। त्यहां पिशाच योनिमा रहदा यी दुईलाई अत्यंत कष्ट अनुभव भयो। एक पटक माघ शुक्ल पक्षको एकादशीका दिन दुबै अत्यंत दु:खी थिए त्यस दिन ती दुईले केवल फलाहारमात्र गरेका थिए। रात्रिको समयमा दुबैलाई असाध्यै जाडो हुदैथियो, अत: दुबै रातभर सँगै बसे तथा जागा नै रहे। जाडोका कारण प्रातःकालमा कठ्याङ्ग्रिएर दुबैको मृत्यु भयो र नजानिकन जया एकादशीको व्रत पालना हुन पुग्यो, अन्ततोगत्वा दुबैले पिशाच योनिबाट मुक्ति पाए। त्यसपछि माल्यवान र पुष्पवती पहिलेभन्दा पनि सुन्दर भए तथा स्वर्गलोकमा उनीहरूको स्थान पुनः प्राप्त भयो।

देवराज इन्द्र दुबैलाई देख्नासाथ छक्क परे र उनले पिशाच योनिबाट कसरी मुक्ति प्राप्त भयो भनी जिज्ञासा राखे। माल्यवानले यो भगवान विष्णुलाई प्यारो लाग्ने जया एकादशीको प्रभाव भएको बताए। हामी दुबै जया एकादशीको प्रभावले पिशाच योनिबाट मुक्त भएका हौ। इन्द्र यस्ता कुरा सुनेर अति प्रसन्न भए र उनले भने- हजुरहरू जगदीश्वरका भक्त हुनुहुन्छ त्यसैले अबदेखि मेरा निम्ति आदरणीय हुनुहुन्छ, अतः हजुरहरू अब स्वर्गमा आनन्दपूर्वक विहार गर्नुहवस्। कथा सुनाएर श्रीकृष्णले बताउनुभयो- जया एकादशीका दिन जगतपति जगदीश्वर भगवान विष्णु नै सर्वथा पूजनीय हुनुहुन्छ। जो श्रद्धालु भक्तले यस एकादशीको व्रत लिने गर्छन, तिनले दशमी तिथिदेखि नै एक समय मात्र आहार गर्नुपर्छ। सत्विक आहारामा विशेष ध्यान दिनुपर्छ । एकादशीका दिन भगवान विष्णुको ध्यान गर्दै संकल्प गर्नुपर्छ र त्यसपछि धूप, दीप, चंदन, फल, तिल एवं पंचामृतले विष्णुको पूजा गर्नुपर्छ।

विजया एकादशी
विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ । भयंकर शत्रुहरूबाट घेरिएको अवस्थामा र पराजय सामुन्ने आइपुगेको अवस्थामा विजया नामक एकादशीले हजुरलाई विजय दिलाउने क्षमता राख्दछ। यस एकादशीका संबंधमा पद्म पुराण र स्कन्द पुराणमा अति सुन्दर वर्णन प्राप्त हुन्छ। यस एकादशीका बारेमा भगवान श्रीकृष्णले स्वयं अर्जुनलाई बताउनु भएको थियो। शास्त्रअनुसार जब भगवान राम माता सीताको खोजीमा लंका जादै हुनुहुन्थ्यो त्यस बेला मार्गमा समुद्र तर्नु पर्ने भएकाले समस्या उत्पन्न भयो । अनि भगवान राम सहित समस्त सेनाले विजया एकादशीको व्रत लिएको प्रसङ्ग छ। त्यसै व्रतको प्रभावस्वरूप प्रभुले सागरमा पुल हाल्नुभयो र रावणको वध गर्नुभयो।

त्रेतायुगमा जब भगवान विष्णुले रामको अवतार ग्रहण गर्नुभयो, त्यसबेला वहाकी पत्नी सीतालाई राक्षसराज रावणले अपहरण गरेर लग्यो। जब रामले थाहा पाउनुभयो कि सीता माता लंकामा हुनुहुन्छ, वहा वादरको सेना साथमा लिई लंका तर्फ़ प्रस्थान गर्नुभयो। तर बाटोमा समुद्र थियो, त्यसैले रोकिनु पर्यो। वहाले समुद्र तर्ने कुनै उपाय नभेट्दा लक्ष्मनसित यस समस्याको हल के छ भनी सोध्नुभयो। लक्ष्मणले उत्तर दिनुभयो- यहांबाट आधा योजन टाढा परम ज्ञानी वकदाल्भ्य मुनिको आश्रम छ, हामीले ऋषिसंगै यस समस्याको हल खोज्नुपर्छ। भगवान श्रीराम लक्ष्मण समेत वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र उनलाई प्रणाम गरेर आफ्नो प्रश्न ऋषिसमक्ष प्रस्तुत गर्नुभयो। मुनिले आज्ञा गर्नुभयो- हे राम ! हजुर आफ्नो सेना समेत भएर फाल्गुण महिनाको कृष्णपक्षको एकादशीको व्रत लिनुहोस। यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ। श्रीरामले मुनिको निर्देशनबमोजिम आफ्ना सेनासमेत एकादशीको व्रत लिनुभयो र सागरमा पुलको निर्माण गरी लंकामा आक्रमण गर्नुभयो। राम र रावणको अद्वितीय युद्ध भयो जसमा रावण मारियो।

आमलकी एकादशी व्रत
आमलकी एकादशी व्रत फाल्गुन शुक्ल पक्षको एकादशीका दिन पालना गरिन्छ । यस व्रतमा अमलाको वृक्षको पूजा गर्ने विधि-विधान छ । यस व्रतका विषयमा भनिन्छ, कि यो एकादशी समस्त पाप नाश गर्न समर्थ छ । सय गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ त्यही फल आमलकी एकादशीको व्रत गर्नाले प्राप्त हुन्छ । यस व्रतमा अमलाको रुखको पूजन गरिन्छ । अमलाको वृ्क्षका विषयमा यो मत छ, कि यसको उत्पति भगवान श्री विष्णुको मुखबाट भएको हो । एकादशी तिथिमा विशेष रुपले श्री विष्णुको पूजा गरिन्छ । अमलाको रुखको उत्पति संबन्धी एउटा कथा प्रचलित छ ।

विष्णुको मुखबाट अमलाको उत्पति कसरी भयो?
विष्णु पुराणका अनुसार एक पटक भगवान विष्णुले थुक्दा वहाँको मुखबाट चन्दमा जस्तै एउटा बिन्दू प्रकट भएर पृ्थ्वीमा झर्यो । त्यसै बिन्दूबाट आमलक अर्थात अमलाको महान रुखको उत्पति भयो । यही कारण हो कि विष्णु पूजामा यस फलको प्रयोग गरिन्छ । श्रीविष्णुको श्रीमुखबाट प्रकट भएकाले अमलाको वृ्क्षलाई सर्वश्रेष्ठ मानिन्छ । यस फलको महत्वका विषयमा भनिन्छ, कि यस फलको स्मरणमात्रबाट गाई दान गरे जत्तिकै फल प्राप्त हुन्छ । यो फल भगवान विष्णुलाई अत्यधिक प्रिय छ । यस फललाई खानाले तीन गुणा शुभ फलको प्राप्ति हुन्छ ।

आमलकी एकादशी व्रत कथा

एउटा नगरमा सबै वर्गका मानिसहरू मिलेर आनन्दपूर्वक बस्दथे । मानिसहरूको आपसमा प्रेम भएका कारण नगरमा धर्म र आस्थाको निवास भए झैं प्रतीत हुन्थ्यो । यो नगर चन्द्रवंशी नामक राजाको राज्य-अन्तर्गत पर्दथ्यो । त्यस राज्यमा सबै सुखी थिए । त्यस राज्यमा विशेष रुपले श्री विष्णुको पूजा हुने गर्दथ्यो र एकादशी व्रतको पालना गर्ने प्रथा त्यस नगरमा प्राचीन समयदेखि चली आएको थियो । राजा र प्रजा सबै मिलेर एकादशी व्रतको घडा(कुम्भ) स्थापना गर्दथे, कुम्भ स्थापना पछि धूप, दीप, नैवेद्य, पंचरत्न आदिद्वारा पूजा गरिन्थ्यो ।

एकपटक एकादशी व्रत गरेको समयमा सबै जना मंदिरमा जागरण गर्दै थिए । रात्रिका समयमा एउटा शिकारी आयो जो भोको थियो र त्यो लगभग सबै पापको भागी थियो । मंदिरमा धेरै मानिस भएका कारण शिकारीले भोजन चोर्ने अवसर प्राप्त गर्न सकेन र त्यस शिकारीले त्यो रात्रि जागरण गर्दै बिताउनु पर्यो । प्रात:काल भएपछि सबैजना आफ़्नो घर गए र शिकारी पनि आफ़्नो घर गयो । केही समयपछि शिकारीको कुनै कारणवश मृ्त्यु भयो । त्यस शिकारीले जानीनजानी नै आमलकी एकादशीको व्रत गरेको थियो । त्यसै कारणले उसलाई पुन्य प्राप्त भयो र त्यसको जन्म एउटा राजाका घरमा भयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णु-भक्त थियो । दानादि कार्यमा उसको रुचि थियो । एकपटक त्यो शिकार खेल्न गयो र डाकाहरूको चंगुलमा फँस्यो । डाकाहरू उसलाई मार्ने उद्देश्यले शस्त्र-प्रहार गर्न थाले डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरेको देख्दा उसलाई अचम्म लाग्यो र अझ पछि त डाकाहरू उसलाई छोडेर स्वयं एक आपसमा पो लडाईं गर्न थाले । त्यसै बेला एउटा यस्तो शक्ति प्रकट भयो र त्यस शक्तिले सम्पूर्ण डाकाहरूलाई मारिदियो । राजाले अचम्म मान्दै प्रश्न गर्यो यसरी मेरो रक्षा गर्ने को हो? यसको उत्तरमा भविष्यवाणी भयो तेरो रक्षा श्री विष्णुजीले गर्दै हुनुहुन्छ, यो कृ्पा तैंले आमलकी एकादशीको व्रत गर्नाले त्यसैको प्रभावस्वरुप प्राप्त गरेको होस । यसरी यस व्रतका प्रभावले मोक्ष प्राप्ति हुन्छ ।

पापमोचिनी एकादशी व्रत कथा
पुराण-अनुसार चैत्र कृष्ण पक्षको एकादशी पाप मोचिनी हो अर्थात पापलाई नष्ट गर्ने सामर्थ्य भएको । स्वयं भगवान श्री कृष्णले यसबारेमा अर्जुनलाई बताउनु भएको छ । कथा-बमोजिम भगवान अर्जुन सित भन्नुहुन्छ, राजा मान्धाताले एक समयमा लोमश ऋषिसित ‘मनुष्य जसले जानी नजानी पाप कर्म गर्दछ त्यसबाट कसरी मुक्त हुन सक्ला’ भनी प्रश्न गर्नुभयो । राजा मान्धाताको यस प्रश्नको उत्तरमा लोमश ऋषिले राजालाई एउटा कथा सुनाउनु भयो,जुन यस प्रकार छ ।

चैत्ररथ नामक सुन्दर वनमा च्यवन ऋषिका पुत्र मेधावी ऋषि तपस्यामा लीन थिए । एक दिन मंजुघोषा नामकी अप्सराको दृष्टि ऋषिप्रति आकर्षित हुन पुग्यो र तीमाथि अप्सरा मोहित भइन अनि ऋषिलाई आफूतर्फ़ आकर्षित गर्ने प्रयत्न गर्न थालिन । कामदेव पनि त्यति बेला त्यही बाटो कतै जाँदै थिए, कामदेवको नज़र अप्सरामा पर्यो र उनको मनोभावनालाई बुझ्दै कामदेव अप्सराको सहायता गर्न थाले । अप्सरा आफ़्नो प्रयासमा सफल भईन र ऋषि कामपीड़ित हुन पुगे । कामपीड़ित भएर ऋषिले भगवान शिवको तपस्या बिर्सिए र अप्सरासँग रमण गर्न थाले । धेरै वर्षपछि जब उनको चेतना जाग्यो अनि उनलाई अनुभव भयो कि उनी शिवको तपस्या बाट विमुख भई सकेका छन । त्यस पछि उनलाई ती अप्सरासित साह्रै रिस उठ्यो र तपस्या भंग गर्ने दोषी मानेर ऋषिले अप्सरालाई श्राप दिए-‘तिमी पिशाचिनी बन’ । श्रापबाट दु:खी भएर ती अप्सरा ऋषिका गोडामा शरणमा परिन र श्रापबाट मुक्ति पाउन अनुनय गर्न थालिन । मेधावी ऋषिले अप्सरालाई विधिपूर्वक चैत्र कृष्ण एकादशीको व्रतको पालना गर्न भने । भोगमा निमग्न भएका कारण ऋषिको तेज पनि लोप भएको थियो अत: ऋषिले पनि यस एकादशीको व्रत गरे जसबाट उनको पाप नष्ट भयो । उता अप्सरा पनि यस व्रतका प्रभावले पिशाच योनिबाट मुक्त भइन् र उनलाई सुन्दर रूप प्राप्त भयो । त्यसपछि अप्सरा स्वर्गतर्फ़ लाग्दी भइन् ।

यस व्रतका विषयमा भविष्योत्तर पुराणमा विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गरिन्छ । व्रत लिनेले दशमी तिथिका दिन एक पटक मात्र सात्विक भोजन गर्नुपर्छ र मनबाट भोगविलासको भावनालाई त्यागेर हरिमा मन लगाउनु पर्छ । एकादशीका दिन सूर्योदय कालमा स्नान गरेर व्रतको संकल्प गर्नुपर्छ । संकल्प-उपरान्त षोडशोपचार विधि सहित श्री विष्णुको पूजा गर्नुपर्छ । पूजा-पश्चात भगवानको प्रतिमा वा चित्रका सामुन्ने बसेर भगवत् कथाको पाठ अथवा श्रवण गर्नुपर्छ । एकादशी तिथिका दिन जागरण गर्नाले धेरै गुणा पुण्य प्राप्त हुन्छ, अत: रात्रिमा पनि निराहार रहेर भजन कीर्तन गर्दै जागरण गर्नुपर्छ । द्वादशीका दिन प्रात: स्नान गरी विष्णु भगवानको पूजा गर्नुपर्छ त्यसपछि ब्राह्मणलाई भोजन गराएर दक्षिणा सहित विदा गर्नुपर्छ र आफूले पनि भोजनादि गर्नुपर्छ।

कामदा एकादशी व्रत कथा
पुराणहरुमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे । तीमध्ये एक ठाउँमा ललिता र ललित नामका दुई स्त्री-पुरुष अत्यंत वैभवशाली घरमा निवास गर्दथे । ती दुबैमा अत्यंत स्नेह थियो, यहाँसम्म कि सानो बिछोड भए पनि दुबै व्याकुल हुने गर्दथे । एक पटक बार गीत गाउँदा संगीतमा कुनै त्रुटि भएका कारण कार्कोट नामक नागले ललित गन्धर्वलाई राक्षस हुने सराप दिए । ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुग्यो । जब उसकी प्रियतमा ललितालाई यो वृत्तान्तको जानकारी भयो उसलाई अत्यंत खेद भयो र ललिता श्रृंगी ऋषिका आश्रममा गएर विनीत भावपूर्वक प्रार्थना गर्ण थाली । त्यसलाई देखेर श्रृंगी ऋषिले भन्नुभयो “हे सुभगे! तिमी को हौ र यहाँ के प्रयोजनले आएकी हौ?” ललिताले भनी “हे मुने! मेरो नाम ललिता हो । मेरा पति कार्कोट नामक नागको श्रापबाट विशालकाय राक्षस भएका छन।यासि कारण ले म असाध्यै दुखी छु । मेरा पतिको उद्धारको कुनै उपाय बताउनुहोस।

श्रृंगी ऋषिले आज्ञा गर्नुभयो “हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामदा एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका संपूर्ण कार्य सिद्ध हुने गर्दछन। यदि तिमीले कामदा एकादशीको त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति शीघ्र नै राक्षस योनिबाट मुक्त हुनेछन र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शांत हुनेछ । ललिताले मुनिको आज्ञालाई अक्षरश पालन गरिन र एकादशीको पतिलाई समर्पण गर्ना साथ त्यसको पति राक्षस योनिबाट मुक्त भएर आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो। त्यसपछि अनेक सुंदर वस्त्राभूषणले युक्त भई पत्नी ललिताका साथमा विहार गर्दै ती दुबै विमानमा बसेर स्वर्गलोकमा पुगे। यस व्रतलाई विधिपूर्वक गर्नाले समस्त पाप नाश हुन्छन् तथा राक्षस आदि योनिबाट पनि मुक्ति पाइन्छ। संसारमा आजको यस कामदा एकादशी व्रतबराबरको कुनै अन्य व्रत छैन। यस कथालाई पढ्दा वा सुन्नाले वाजपेय यज्ञ गरे सरह फल प्राप्त हुन्छ।

बरुथिनी एकादशी व्रतको कथा
यो वैशाख कृष्ण पक्षको एकादशी हो | यो सुख-शांति एवं सौभाग्यको प्रतीक मानिन्छ | कुनै श्रेष्ठ ब्राह्मणलाई दान दिनाले, करोड़ वर्षसम्म तपस्या गर्नाले, तथा कन्यादान गर्नाले जुन फल प्राप्त हुन्छ त्यसभन्दा पनि बढि फल प्रदान गर्ने बरुथिनी एकादशीको व्रतलाई मानिन्छ | यस व्रत को पालना गर्ने भक्तका लागि मुख्य रूपले यस दिन अर्काको निंदा गर्नु, क्रोध गर्नु र असत्य बोल्नु वर्जित छ | यस व्रतको पूर्ण प्रक्रियामा तेलयुक्त भोजन निषेध गरिएको छ | यस व्रतको महात्य्म्य सुन्नाले सहस्त्र गुरुजनको हत्याजस्तो जघन्य दोष पनि नष्ट हुन पुग्छ भन्ने विश्वास गरिन्छ |

यसरी यो असाध्यै फलदायक व्रत मानिन्छ|
प्राचीन समयमा नर्मदा तटमा मांधाता नामक राजा राज्यसुख उपभोग गर्दै आनन्दपूर्वक जीवनयापन गर्दै थिए| राजकाजमा संलग्न भए पनि ती राजा अत्यंत दानशील तथा तपस्वी थिए | एक दिन जब राजा तपस्यामा मग्न थिए त्यसै समय एउटा जंगली भालू आएर तिनको गोडा चबाउन थाल्यो | केही बेरपछि त्यसले राजालाई घिसारेर वनमा लिएर गयो | त्यसपछि राजाले अत्तालिंदै तापस धर्म-अनुकूल हिंसा, क्रोध आदि नगरी भगवान विष्णुको प्रार्थना गर्ण थाले | त्यसै समय भक्तवत्सल भगवान प्रकट हुनुभयो तथा भालूलाई चक्रद्वारा उद्धार गर्नुभयो | राजाका गोडा भालूले खाइसकेको थियो, जसबाट उनलाई ठुलो चिन्ता भयो | विष्णु भगवानले उनलाई दुखी देखेर भन्नु भयो – हे वत्स ! मथुरामा गएर तिमी मेरो वाराह-अवतार मूर्तिको पूजा बरुथिनी एकादशीको व्रतको पालनाका साथ संपन्न गर | त्यसको प्रभावले तिमी पुन: सबलाङ्ग हुनेछौ | भालूले तिमीलाई टोक्नुपर्ने कारण भने तिम्रो पूर्वजन्मको अपराध हो | राजाले बरुथिनी एकादशीको व्रत अपार श्रद्धाका साथ पूर्ण गरे तथा सुन्दर अंगयुक्त भए |

मोहिनी एकादशी व्रतको कथा
धर्मराज युधिष्ठिरले सोध्नुभयो कि हे कृष्ण ! वैशाख महिनाको शुक्ल पक्षको एकादशीको नाम के हो तथा त्यसको के कथा छ? यस व्रतको के विधि छ, सो सबै विस्तारपूर्वक बताउनु हवस् ।श्रीकृष्ण भन्न थाल्नुभयो हे धर्मराज ! म तपाईसित एउटा कथा भन्दछु, जसलाई महर्षि वशिष्ठले श्री रामचंद्रसित भन्नु भएको थियो। एक पटक श्री रामचंद्रले भन्नु भयो, हे गुरुदेव ! कुनै यस्तो व्रतको बारेमा बताउनु हवस जसबाट समस्त पाप र दु:ख नष्ट होउन । मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु अत: कुनै व्रतको विधि आज्ञा गर्नु हवस् ।

महर्षि वशिष्ठले आज्ञा गर्नु भयो, हे राम ! तपाईले अति बहुत सुंदर प्रश्न गर्नु भएको छ । तपाईको बुद्धि अत्यंत शुद्ध र पवित्र छ । यद्यपि तपाईको नामको स्मरण गर्नाले मात्र मनुष्य पवित्र र शुद्ध हुन पुग्दछ तथापि तपाईको यो प्रश्न लोकहितका निमित्त अति नै सुंदर छ । वैशाख मासमा जुन एकादशी पर्दछ त्यसको नाम मोहिनी एकादशी हो । यस एकादशीको व्रत गर्नाले मनुष्य सबै पाप तथा दु:खबाट छुटेर मोह जालबाट मुक्त हुन जान्छ । अत: यो व्रत दु:खी मनुष्यले अवश्य गर्नु पर्दछ । यस बाट मनुष्यका सबै पाप र दु:ख नष्ट हुन्छन । अब तपाई यस व्रतको कथा ध्यानपूर्वक सुन्नुहवस् ।

सरस्वती नदीको किनारमा भद्रावती नामक एउटा नगरी थियो, त्यहाँ द्युतिमान नामक चंद्रवंशी राजा राज्य गर्दथे । यसै नगरीमा धन-धान्यद्वारा पूर्ण पुण्यवान धनपाल नामक एउटा वैश्य पनि बस्दथ्यो । त्यो अत्यंत धर्मात्मा एवं विष्णुभक्त थियो। उसले नगरमा अनेक भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदि निर्माण गरेको थियो र सड़कमा आप, जामुन, नीम आदिका अनेक वृक्ष रोपेको थियो । त्यस वैश्यका पाँच पुत्र थिए – सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि। यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो महापापी थियो । ऊ पितृ आदिलाई मान्दैनथ्यो। ऊ वेश्या र दुराचारी मनुष्यको संगतिमा रहेर जुवा खेल्थ्यो तथा पर-स्त्रिका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो । अरुअरु अनेक कुकर्ममा ऊ आफ्ना पिताको धन नष्ट गर्दथ्यो । वेश्याहरूसित अङ्गालो हाली घुमफिर गर्दथ्यो ।

यिनै कारणले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले उसलाई घरबाट निकाली दिए र उसको निंदा गर्न थाले । घरबाट निष्काशनपछि ऊ आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्न थाल्यो । जब संपूर्ण धन नष्ट भयो त्यसपछि वेश्या र दुष्ट संगी-साथीहरूले पनि उसको साथ छोडे । अब ऊ भोक र प्यासबाट अत्यंत दु:खी हुन थाल्यो र कुनै अर्को सहारा न भेटेर ऊ चोरी गर्न थाल्यो । एक पटक ऊ समातियो तर राज्य कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर थुना मुक्त गरे। तर जब अर्को पटक त्यो पुनः पकड़ाउ पर्यो, उसलाई राजासमक्ष उपस्थित गराईयो । राजाले उसलाई कारागारमा बंद राख्ने आदेश दिये । कारागारमा उसले असाध्यै दु:ख पायो र त्यसपछि उसलाई देश निकाला गरीयो । ऊ शहर बाट बाहिरियो र वनमा गयो र वनमा पशु-पक्षीलाई मारेर खान थाल्यो । केही समय पछि ऊ शिकारी बन्यो र धनुष-बाण लिएर पशु-पक्षीलाई मारी-मारी खान थाल्यो ।

एक दिन ऊ भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा कौडिन्य ऋषिको आश्रममा पुग्यो। त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कदै थिए । उनको भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो र ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो – हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूला ठूला पापकर्म गरेको छु तपाईले ती पापहरूबाट मुक्ति प्राप्त गर्ने सरल र साधारण अनि धनको अभावमा पनि संपन्न गर्ण सकिने उपाय बताउनु हवस् । त्यसका दीन वचन सुनेर ऋषिले भन्नुभयो – तिमी वैशाख शुक्ल एकादशीको व्रत गर । यस एकादशीको नाम मोहिनी हो र यसबाट तिम्रा संपूर्ण पाप नष्ट हुनेछन । मुनिका वचन सुनेर ऊ अत्यंत प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो । हे राम! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अंतमा ऊ गरुड़मा चढेर विष्णुलोक गयो । यस व्रतबाट मोह आदि संपूर्ण बन्धनहरू नष्ट हुन पुग्छन । संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन । यसको माहात्म्य पढ़दा अथवा सुन्दा एक हजार गौदानको फल प्राप्त हुन्छ ।

अचला एकादशीको व्रतकथा

युधिष्ठिरले भन्नुभयो – हे भगवन ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ त्यो कृपा गरी आज्ञा गर्नु हवस् ? भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो हे राजन ! यो एकादशी ‘अचला’ तथा’ अपरा दुई नामबाट प्रसिद्ध छ। पुराण-अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसंपदा प्रदान गर्दछ। जो मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यो संसारमा प्रख्यात हुन्छ। यस दिन भगवान त्रिविक्रमको पूजा गर्ने प्रचलन छ । अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिंदा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुन्छन्। यस व्रतको पालनाबाट परस्त्री-गमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य हुनु आदि सबै पाप नष्ट हुन्छन्।

जो क्षत्रिय युद्धभूमिबाट भाग्छन ती नरकगामी हुन्छन, परंतु अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन। जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनः उनकै निंदा गर्दछन ती पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुन पुग्छन। जुन फल तीनैवटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिंडदान गर्नाले प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुन जान्छ। मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट, कुंभमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गौदानबाट जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ। यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो हो। पापरूपी ईंधनलाई बाल्ने अग्नि, पापरूपी अंधकारलाई मेटाउने सूर्य, मृगलाई मार्ने सिंह समान छ।

अत: मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ। अपरा एकादशीको व्रत तथा भगवानको पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ। यस अपरा वा अचला एकादशीको प्रचलित कथाअनुसार प्राचीन कालमा महीध्वज नामक एउटा धर्मात्मा राजा थिए। त्यसको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो। ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो। त्यस पापीले एक दिन रात्रिको समयमा आफ्ना दाजुको हत्या गरेर उनको मृत शरीरलाई जंगलमा एउटा पीपलको फेदमा गाड़यो। यस अकाल मृत्युबाट राजा प्रेतात्माका रूपमा त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले। एक दिन कतै जाने उद्देश्यले धौम्य नामका ॠषिले त्यही पीपलको रुख रहेको बाटो हुँदै यात्रा गरे। उनले त्यस प्रेतलाई देखे र तपोबलका माध्यमले प्रेतको अतीतलाई पहिचान गरे, साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस उस प्रेतलाई त्यस पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा (अचला) एकादशीको व्रत सम्पादन गरे र ती राजालाई अधोगतिबाट मुक्त बनाउन त्यस एकादशीको पुण्य त्यस प्रेतलाई अर्पित गरे। यस पुण्यको प्रभावबाट राजाको प्रेतयोनिबाट मुक्ति भयो। तिनले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर स्वर्गलोक प्रस्थान गरे।। यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरी वैकुण्ठ पुग्छन भन्ने मान्यता छ । यसलाई पढ़नाले अथवा सुन्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।

निर्जला एकादशीको महात्म्य र व्रतकथा

युधिष्ठिरले भन्नुभयो :जनार्दन ! ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्दछ, कृपया त्यसको वर्णन गर्नुहोस ।
भगवान श्रीकृष्णद्वारा आज्ञा भयो: राजन् ! यसको वर्णन परम धर्मात्मा सत्यवतीनन्दन व्यासले गर्नुहुनेछ, किनभने वहा सम्पूर्ण शास्त्रका तत्त्वज्ञ र वेदवेदांगका पारंगत विद्वान हुनुहुन्छ ।अनि वेदव्यास भन्न थाल्नुभयो: यस एकादशीमा भोजनादि निषेध गरिएको छ । द्वादशीका दिन स्नान आदिबाट पवित्र भएर फूलले भगवान केशवको पूजा गर्नुपर्छ ।अनि नित्य कर्म समाप्त भए पश्चात् पहिले ब्राह्मणहरूलाई भोजनादि प्रदान गरी अन्तमा स्वयंले भोजन गर्नुपर्छ । राजन् ! जननाशौच और मरणाशौच परे पनि यस एकादशीका दिन भोजन गर्नु हुदैन ।

यो सुनेर भीमसेनले भने : परम बुद्धिमान पितामह ! मेरी उत्तम कुरो सुन्नुहोस । राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव सबैले कुनै पनि एकादशीका दिन कहिल्यै पनि भोजनादि गर्नुहुन्न तथा मसित जहिल्यै भन्नु हुन्छ : ‘भीमसेन ! तिमी एकादशीका दिन निराहार बस्ने गर…’ तर म वहाहरूसित भन्ने गर्छु कि मेरो भोक सहने बानी छैन ।भीमसेनका कुरा सुनेर व्यासले भन्नुभयो : यदि तिम्रो अभीष्ट स्वर्गलोकको प्राप्ति छ र नरकलाई दूषित ठान्छौ भने सबै एकादशीका दिन भोजनादि नगर्नु ।

भीमसेनले फेरि भने : महाबुद्धिमान पितामह ! म तपाईसामु सत्य कुरा राख्दछु । त्यस दिन एकपटक मात्र भोजन गर्दा पनि मबाट व्रतको पालना हुन सक्दैन, पुनः उपवास गरेर त म कसरी बाच्न सकुला र? मेरो उदरमा वृक नामक अग्नि सदा प्रज्वलित रहने गर्दछ, अत: जब म असाध्यै धेरै खाने गर्दछु, अनि मात्र त्यो आगो शांत हुने गर्दछ । त्यसैले हे महामुने ! मैले वर्षभरिमा केवल एउटा मात्र उपवास गर्ने कुनै उपाय छ भने बताउनु होस, जसबाट स्वर्गप्राप्ति सुलभ होस तथा जुन व्रतको पालना गर्नाले म कल्याणको भागी पनि हुन सकौ, यस्तो कुनै एउटा व्रत निश्चय गरेर भन्नुहवस । म त्यस व्रतको यथोचित रुपले पालन गर्ने प्रयास गर्नेछु ।

व्यासले भन्नुभयो : भीम ! ज्येष्ठ महिनामा सूर्य वृष राशिमा होस वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसलाई यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा आचमन गर्न मात्र मुखमा पानी लगाऊ, त्यसबाहेक कुनै प्रकारले विद्वान पुरुषले मुखमा पानी पार्नुहुन्न, अन्यथा व्रत भंग हुन पुग्छ । एकादशीको सूर्योदयदेखि अर्को दिनको सूर्योदयसम्म मनुष्यले जलको त्याग गर्नुपर्छ अनि मात्र यो व्रत पूर्ण हुनपुग्छ । तदनन्तर द्वादशीका दिन प्रभातकालमा स्नान गरेर ब्राह्मणहरूलाई विधिपूर्वक जल र सुवर्ण दान गर्नुपर्छ । यसरी सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुषले ब्राह्मणका साथमा भोजनादि गर्नुपर्छ । वर्षभरिमा जतिपनि एकादशीहरू हुन्छन, ती सबैको फल निर्जला एकादशीको पालनाबाट मनुष्यले प्राप्त गर्न सक्छ, यसमा सन्देह गर्ने स्थान छैन । शंख, चक्र र गदा धारण गर्नुहुने भगवान केशवले मसित भन्नुभएको थियो कि : ‘यदि मानव सबै कुरो छोडेर एकमात्र मेरो शरणमा आउछ र यस निर्जला एकादशीको निराहार भई व्रत गर्दछ भने त्यो सबै पापबाट मुक्त हुन्छ।’

एकादशी व्रत गर्ने पुरुषका छेउमा विशालकाय, विकराल आकृति र कालो रंग भएका दण्ड पाशधारी भयंकर यमदूत आउँदैनन। अन्त्यकालमा पीताम्बरधारी, सौम्यस्वभाव भएका, हातमा सुदर्शन धारण गर्ने र मनसमान वेगशाली विष्णुदूत आखिरीमा त्यस्तो एकादशीको व्रत गर्ने वैष्णव पुरुषलाई भगवान विष्णुका धाममा लिएर जान्छन । त्यसै ले हे वत्स निर्जलाएकादशीको व्रत पूर्ण यत्न गरी उपवास र श्रीहरिको पूजन गरेर लिनु पर्दछ । स्त्री होस वा पुरुष, यदि उसले मेरु पर्वतसमान महान पाप गरेको छ भने पनि त्यो सबै यस एकादशी व्रतको प्रभावबाट भस्म हुन जान्छ । जो मनुष्यले त्यस दिन जलको नियमलाई पालन गर्दछ, त्यो पुण्यको भागी हुन्छ । त्यसलाई एकएक प्रहरमा कोटिकोटि स्वर्णमुद्रा दान गरेको फल प्राप्त हुन्छ भन्ने मान्यता छ । मनुष्यले निर्जला एकादशीका दिन स्नान, दान, जप, होम आदि जे जस्तो कर्म गर्दछ, त्यो संपूर्ण अक्षय हुन पुग्छ यो कथन भगवान श्री कृष्णको हो । निर्जला एकादशीको विधिपूर्वक उत्तम रीतिबाट उपवास गरी मानवले वैष्णवपद प्राप्त गर्दछ । जो मनुष्य एकादशीका दिन अन्न खाने गर्दछ, त्यसले पापयुक्त भोजन गरेको मानिन्छ । यस लोक में त्यो चाण्डालका समान हो र मरे पछि पनि ऊ दुर्गतिलाई प्राप्त गर्दछ ।

जसले ज्येष्ठको शुक्लपक्षको उपवास गरेर दान गर्दछ, त्यसले परमपद प्राप्त गर्दछ । जजसले एकादशीको उपवास गर्दछन, ती हत्यारा, रक्स्याहा, चोर तथा गुरुद्रोही भए पनि सबै पातकबाट मुक्त हुन पुग्छन।हे कुन्तीनन्दन ! ‘निर्जला एकादशी’का दिन श्रद्धालु स्त्री तथा पुरुषहरूले जुन विशेष दान र कर्त्तव्य पूरा गर्नुपर्दछ त्यो सुन, त्यस दिन जलाशायी भगवान विष्णुको पूजन र जलमयी धेनु (गौ) दान गर्नु पर्दछ अथवा प्रत्यक्ष धेनु वा घृतमयी धेनुको दान गर्नु उचित हुन्छ ।

पर्याप्त दक्षिणा र किसिम किसिमका मिष्ठान्नद्वारा यत्नपूर्वक ब्राह्मणहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ । यसो गर्नाले ब्राह्मण पक्का पनि संतुष्ट हुन्छन र ती संतुष्ट भए पछि भगवान श्रीहरिले मोक्ष प्रदान गर्नुहुन्छ । जुन भक्तले शम, दम र दानमा प्रवृत भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान वासुदेवको परमधाममा पुर्याउँछ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शैय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ । जसले श्रेष्ठ तथा सुपात्र ब्राह्मणलाई जूता दान गर्दछ, ऊ सुनको विमानमा बसेर स्वर्गलोकमा पुग्दछ र प्रतिष्ठित हुन्छ । जसले यस एकादशीको महिमालाई भक्तिपूर्वक सुन्दछ अथवा त्यसको वर्णन गर्दछ, त्यो स्वर्गलोकमा पुग्छ। चतुर्दशीयुक्त अमावस्याका दिन सूर्यग्रहणका समयमा श्राद्ध गरी मनुष्यले जुन फल प्राप्त गर्दछ, त्यही फल यस कथालाई श्रवण गर्नाले प्राप्त हुन्छ । पहिले दन्तधावन गरेर यो प्रतिज्ञा गर्नुपर्दछ कि : ‘म भगवान केशवको प्रसन्नताका निम्ति आजको एकादशीका दिन निराहार रहेर आचमनबाहेक अन्य जलको सेवन गर्ने छैन।’ द्वादशीका दिन देवेश्वर भगवान विष्णुको पूजा गर्नुपर्दछ । गन्ध, धूप, पुष्प र सुन्दर वस्त्रद्वारा विधिपूर्वक पूजन गरी जलयुक्त घडादानको संकल्प गर्दै निम्नांकित मंत्रको उच्चारण गर्नुपर्दछ :
देवदेव हृषीकेशं संसारार्णवतारक । उदकुम्भप्रदानेन नय मां परमां गतिम्॥

‘संसारसागरबाट तार्ने हे देवदेव हृषीकेश ! यस जलको घडा दान गर्नाले हजुरले मलाई परम गति प्राप्ति गराउनुहोस् ।’
व्यास भन्नुहुन्छ, हे भीमसेन ! ज्येष्ठमासमा शुक्लपक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ । त्यस दिन श्रेष्ठ ब्राह्मणहरूलाई शख्खरसित जलको घडादान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ । तत्पश्चात् द्वादशीका दिन ब्राह्मणभोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ । जसले यसरी पूर्ण रुपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ ।यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे। तबदेखि यस लोकमा ‘पाण्डव द्वादशी’को नामबाट यस एकादशीको भोलिपल्टको नाम प्रख्यात भयो।

योगिनी एकादशी व्रतको कथा
आषाढ़ मासको कृष्ण पक्षमा हुने एकादशीलाई योगिनी एकादशी भन्दछन । यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी हो । यस दिन भगवान विष्णु अथवा उनको लक्ष्मीनारायण रुपको आराधना गर्नुपर्दछ । भगवानको प्रतिमालाई स्नान गराई स्वच्छ वस्त्रद्वारा सुसज्जित तुल्याउनु पर्दछ । धूप, दीप, नैवेद्य आदिद्वारा भगवान नारायणको पूजा गर्नु पर्दछ । पूजा एवं आरतीपश्चात् ब्राह्मणहरूलाई भोजन गराई दान आदि प्रदान गर्नु पर्दछ ।

महाभारत कालमा युधिष्ठिरले कृष्णसित यस लोकमा भोग तथा परलोकमा मुक्ति दिने योगिनी एकादशी व्रतको माहात्म्यका संबन्धमा सोध्नुभयो । कृष्णले युधिष्ठिरलाई यस योगिनी एकादशी व्रतका सम्बन्धमा बताउनुभयो – प्राचीन कालमा अलकापुरी नामक नगरीमा राजा कुबेरको दरबारमा हेम नामक एउटा माली बस्दथ्यो ।

उसको प्रति दिनको काम भगवान शंकरको पूजाका निम्ति मानसरोवरबाट फूल खोजी ल्याउनु थियो। एक दिन ऊ आफ्नी पत्नीसित हास्य-विनोदमा अल्मलियो र फूल लिई आउन बिर्सियो। राजा कुबेरले सिपाहीलाई मालीलाई पक्राउ गर्ने आदेश दिए। सेवकले माली आफ्नी पत्नीसित हास्य-विनोद गर्दै रहेको व्यहोरा राजालाई बतायो । यस्तो विवरण सुनेर क्रोधित भई कुबेरले उसलाई स्त्रीवियोग र मृत्युलोकमा जन्म लिई कोढ़रोगग्रस्त हुने श्राप दिए । श्रापबाट कोढ़ी भएर हेम माली पृथ्वीतलमा यत्रतत्र भौतारिदै एक दिन मार्कण्डेय ॠषिका आश्रममा पुग्यो । ॠषिले आफ्नो योगबलद्वारा ऊ दुखी हुने कारण थाहा पाए । अनि उनले त्यसलाई योगिनी एकादशीको व्रत गर्न सल्लाह दिनुभयो। व्रतको प्रभावले हेम मालीको कोढ़रोग समाप्त भयो र ऊ दिव्य शरीर धारण गरी स्वर्गलोक फिर्ता गयो ।भगवान कृष्णले आज्ञा गर्नुभयो – यस कथालाई पढ्ना वा सुन्नाले मात्र अथवा विधिपूर्वक व्रतको पालना गर्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।

शास्त्रमा यस व्रतको विधान, नियम-संयम र फल निम्नानुसार उल्लेख गरिएको छ ।

१- आषाढ़ महिनाको कृष्णपक्षको योगिनी एकादशी व्रतको नियम पालना दशमीको रात्रिकालबाट शुरु गर्नु पर्छ। यस व्रतलाई लिने व्यक्तिले दशमीका दिनदेखि नै तनमनबाट ब्रह्मचर्यको पालन गर्नु पर्छ र यौनप्रसंगदेखि टाढा हुनु पर्छ ।

२- एकादशीका यथासंभव उपवास गर्नु पर्छ । उपवासमा अन्न त्याग्नु पर्छ वा भोजन नगरी यस व्रतलाई पालना गरिन्छ । संभव नभए एकभुक्त वा नक्त व्रत गर्नु पर्छ । अर्थात एक समय रात्रिकालमा मात्र भोजन गर्नु पर्छ ।

३- एकादशीका दिन मनोरञ्जन गर्नु, जुवा खेल्नु, दिउसो सुत्नु, दन्तधावन गर्नु, परनिन्दा, चुगली, चोरी, हिंसा, संभोग, क्रोध तथा असत्यवादन इत्यादि ११ किसिमका कर्म अनिवार्य रूपमा त्याग्नु पर्छ ।

४- एकादशीका दिन प्रात: स्नान गरी विष्णुको पूजा विधिविधानले गर्नु पर्छ । यो धार्मिक कृत्य स्वयं आफैले गर्नु पर्छ वा कुनै विद्वान ब्राह्मणद्वारा पनि गराउन सकिन्छ। शास्त्रबमोजिम स्वच्छ कपडा लगाएर भगवान विष्णुको प्रतिमाका सामुन्ने बसेर संकल्प गर्नु पर्छ । संकल्प गर्दा निम्न मंत्र उच्चारण गर्नु पर्दछ :-
मम सकल पापक्षयपूर्वककुष्ठादिरोगनिवृत्तिकामनया योगिन्येकादशीव्रतमहं करिष्ये।

५- यसपछि भगवान पुण्डरीकाक्ष अर्थात विष्णुको यथोपचार पूजा गर्नु पर्छ। भगवान विष्णुलाई पंचामृत स्नान गराउनु पर्छ । स्नानपछि भगवानको चरणामृतलाई व्रत लिनेले आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्कनु पर्छ र त्यस चरणामृत पिउनुपर्छ । मानिन्छ कि यस कर्मद्वारा विशेष रुपले कुष्ठ र चर्म रोगीको पीड़ा समाप्त हुन्छ र ऊ रोगमुक्त हुन्छ । त्यस पछि गंध, पुष्प, धूप, दीप, नैवेद्य आदि पूजन सामग्रीद्वारा पूजा गर्नु पर्छ।
६- प्रत्येक एकादशीका दिन विष्णु सहस्त्रनामको जाप एवं भगवान विष्णुको कथा सुन्नु पर्छ ।

७- तनमनले हिंसाको त्याग गर्नु पर्छ र कुनै किसिमको कुभलो चिताउनु हुदैन र गर्नु पनि हुदैन । यथासंभव रातको समयमा जागरण गर्नु पर्छ, भजन, कीर्तन एवं श्री हरिको स्मरण गर्नु पर्छ ।
योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गर्नाले सबै रोग र व्याधिको अन्त्य हुन्छ । साथै मनमा आफन्तसित भिन्न भई बस्ने भावना हराउछ र विछोड भएका वा छुट्टिएका परिजन वा संबंधीसित मिलन हुन्छ ।

हरिशयनी एकादशी व्रतको व्रतकथा

आषाढ़ मासको शुक्ल पक्षको एकादशीलाई नै ‘देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ । यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने चलन छ । यसै दिनदेखि चौमासा व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ ।यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन।

यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन, सबै पाप नष्ट हुन्छन तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान विष्णुको पूजा-आराधना गरिन्छ, परंतु आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पाहेलै दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप,दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ :-

सुप्ते त्वयि जगन्नाथ जमत्सुप्तं भवेदिदम्। विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम्।।
अर्थात हे जगन्नाथ ! तपाई निद्रित भएपछि संपूर्ण विश्व निद्रित हुन पुग्छ र तपाई जागा हुदा संपूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।

यसरी प्रार्थना गरेर भगवान विष्णुको पूजा गर्नु पर्छ। तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मंदिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ । यस दिन अनेक परिवारमा महिलाहरु पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन । यी चार महिनाका लागि आफ्नो रूचि अथवा अभीष्ट-अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ। मधुर स्वरका लागि गुड़, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति कडुवा तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ । देह शुद्धि वा सुंदरताका निम्ति परिमित प्रमाणको पंचगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । साथै चातुर्मासीय व्रतमा केही वर्जना पनि छन। जस्तै -पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही-भात आदिको भोजनादि । मूला, परवल एवं बैंगुन आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि-विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन ।

हरिशयनी एकादशी व्रतको कथा
एक पटक देवर्षि नारदले ब्रह्मासित यस हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो……………
‘सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे । एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयंकर अनिकाल परो । प्रजा व्याकुल भए । यस दुर्भिक्षले चारैतिर त्राहि-त्राहि मच्चियो। धर्म पक्षका यज्ञ, हवन पिण्डदान, कथा, व्रत आदि सबै कुरामा कमी आयो । प्रजाले राजाको दरबारमा गएर आफ्नो वेदना सुनाए । राजाले भने – ‘तपाईहरूको कष्ट धेरै ठूलो छ । म प्रजाको भलाईका निम्ति पूरा प्रयत्न गर्नेछु।’ राजा यस परिस्थितिबाट पहिलादेखि नै दुखी थिए । ती ध्यानमग्न भएर सोच्न थाले आख़िरी मैले यस्तो कुन पाप-कर्म गरेछु, जसको मलाई यस रूपमा प्राप्त हुदैछ?’

अनि प्रजाको वेदना तथा कष्टलाई सहन नसकेकाले, यस कष्टबाट मुक्ति पाउने कुनै साधन गर्ने उद्देश्यले राजा सेना लिएर जंगलतर्फ़ गए। जंगलमा विचरण गर्दागर्दै एक दिन ती ब्रह्माका तेजस्वो पुत्र अंगिरा ऋषिको आश्रममा पुगे र तिनलाई साष्टांग प्रणाम गरे । मुनिले तिनलाई आशीर्वाद दिएर कुशलक्षेम सोधे. अनि त्यसपछि जंगलमा भौतारिनु पर्ने र आफ्नो आश्रममा आउनु पर्ने अभिप्राय जान्ने इच्छा गरे । अनि राजाले हात जोडेर भने -‘महात्मन! सबै प्रकारले धर्मको पालन गर्दागर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य हेर्न विवश छु । म यसको कारण जान्दिन। आख़िरी किन यस्तो हुदैछ, कृपया हजुरले यस विघ्नको समाधान गरेर मेरो संशय नाश गर्नुहोस ।’

राजाका कुरा सुनेर अंगिरा ऋषिले भने- ‘हे राजन! यो सत्ययुग सबै युगहरुमा श्रेष्ठ र उत्तम मानिन्छ । यसमा सानो पापको पनि धेरै ठूलो फल प्राप्त हुन्छ । यस युगमा मनुष्यहरू ब्रह्मको उपासना गर्दछन । यस युगमा धर्म आफ्ना चारै किसिमका चरणमा व्याप्त भई निवास गर्दछ। यसमा ब्राह्मणबाहेक अन्य कुनै जातिलाई तप गर्ने थिएन, जबकि तपाईको राज्यमा एउटा शूद्र तपस्या गर्दैछ। यसै कारणले तपाईको राज्यमा वर्षा नभएको हो। जबसम्म त्यस शूद्रको जीवन लीला समाप्त हुदैन, तबसम्म यो दुर्भिक्ष शांत हुनेछैन। त्यस शूद्र तपस्वीलाई बध गर्नाले मात्र पापको शांति हुने देखिन्छ।’ परंतु राजाको हृदय एकजना निरपराधलाई मार्न तैयार भएन। राजाले त्यस निरपराध तपस्वीलाई मार्नु उचित नहुने ठानेर ऋषिसित अन्य उपाय बताउन अनुरोध गरे। राजाले बिन्ति गरे-‘हे देव! म त्यस निरपराधलाई हत्या गरौ, यो कुरो मेरो मन स्वीकार गर्दैन। त्यसैले कृपा गरेर तपाईले कुनै अरु उपाय बताउनुहोस।’ त्यस पछि ऋषिले भने -‘ आषाढ़ महिनाको शुक्ल पक्षको एकादशी (पद्मा एकादशी वा हरिशयनी एकादशी) को विधिपूर्वक व्रत गर, यस व्रतको प्रभावले अवश्य नै वर्षा हुनेछ।’ ऋषिका कुरा सुनेर राजा मान्धाता जङ्गलबाट फिर्ता आए र उनले चारै वर्णसहित पद्मा एकादशीको विधिपूर्वक व्रत गरे। व्रतको प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन-धान्यले परिपूर्ण भयो।

कामिका एकादशीको व्रतको व्रतकथा

कुंतीपुत्र धर्मराज युधिष्ठिरले भन्नुभयो- हे भगवन, अब कृपा गरेर श्रावण कृष्ण एकादशीको के नाम हो र यसको पालनाको के विधान छ त्यो बताउनुहोस।
श्रीकृष्ण भगवानले आज्ञा गर्नु भयो हे युधिष्ठिर! यस एकादशीको कथा एक पटक स्वयं ब्रह्माजीले देवर्षि नारदसित भन्नु भएको थियो, त्यसैलाई म तिमिसित भन्दछु। नारदले ब्रह्मासित सोधे कि हे पितामह! श्रावण मासको कृष्ण पक्षको एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो? के विधि छ र त्यसको माहात्म्य कस्तो छ, यी संपूर्ण विवरण कृपा गरी बताउनुहोस।
नारदजीका यस्ता वचन सुनेर ब्रह्माजीले भन्नुभयो – हे नारद! लोकको हितका निम्ति तिमीले असाध्यै सुंदर प्रश्न गर्यौ । श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका हो। त्यसको नाम मात्र सुन्नाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ । यस दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ। तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो पनि सुन।

जुन फल गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ। जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गंडकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन त्यो फल भगवान विष्णुको पूजनद्वारा प्राप्त हुन्छ।जो मनुष्यले श्रावणमा भगवानको पूजन गर्दछन, त्यससित देवता, गंधर्व र सूर्य आदि सबै पूजित हुन पुग्छन। अत: पापदेखि डराउने मनुष्यले कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ। पापरूपी हिलोमा फँसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यंत आवश्यक छ। यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ।

हे नारद! स्वयं भगवानले के भन्नु भएको छ भने कामिका व्रतबाट जीव कुयोनिमा पुग्दैन। जुन मनुष्यले यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान विष्णुलाई अर्पण गर्दछ, त्यो यस संसारका समस्त पापबाट मुक्त हुन्छ। विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिबाट त्यति प्रसन्न हुनुहुन्न जति तुलसी दलबाट। तुलसी दल पूजनको फल चार भार चाँदी र एक भार स्वर्णदान बराबर हुन्छ। हे नारद! म स्वयं भगवानलाई अतिप्रिय लाग्ने तुलसीलाई सदैव नमस्कार गर्दछु। तुलसीको बिरुवालाई सिञ्चन गर्नाले मनुष्यका सबै यातनाहरू नष्ट हुन पुग्छन । दर्शन मात्रले पनि सबै पाप नष्ट हुन्छन र स्पर्शबाट त मनुष्य पवित्र हुन पुग्छ।

कामिका एकादशीका दिन रात्रिको समय पारेर दीपदान तथा जागरणको फलको माहात्म्य चित्रगुप्त पनि वर्णन गर्न सक्दैनन। जसले यस एकादशीका दिन रात्रिको समयमा भगवानको मंदिरमा दियो बाल्दछ, उसका पितृहरूले स्वर्गलोकमा अमृतपान गर्ने अवसर प्राप्त गर्छन तथा जसले घिउ वा तेलको दीपक जलाउदछन, ती सय करोड़ दीपकबाट प्रकाशित भएर सूर्य लोक पुग्दछन।ब्रह्माजी भन्नुहुन्छ हे नारद! ब्रह्महत्या तथा भ्रूण हत्या आदि पापलाई नष्ट गर्ने यस कामिका एकादशीको व्रत मनुष्यले यत्नपूर्वक गर्नुपर्दछ। कामिका एकादशीको व्रतको माहात्म्य श्रद्धापूर्वक सुन्नाले र पढ़नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोक पुग्दछ।

पुत्रदा एकादशी व्रतको व्रतकथा
एक पटकको कुरा हो, युधिष्ठिरले भने- हे भगवन ! श्रावण शुक्ल एकादशीको नाम के हो? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरी भन्नुहोस। भगवान् मधुसूदनले उनका जिज्ञासा शमन गर्ने उद्देश्यले बताउनु भयो- यस एकादशीको नाम पुत्रदा हो। अब तिमी शांतिपूर्वक यसको कथा सुन। यसलाई सुन्नाले मात्र वाजपेयी यज्ञको फल प्राप्त हुन्छ।

द्वापर युगको आरंभमा महिष्मति नामको एउटा नगरी थियो, जसमा महीजित नामका राजा राज्य गर्थे , तर पुत्रहीन भएका कारण राजालाई राज्य सुखदायक लाग्दैनथ्यो। जसका संतान छैनन, त्यसका निम्ति यो लोक लोक र परलोक दुबै नै दु:खदायक हुन्छन भन्ने उसको मान्यता थियो। पुत्रसुखको प्राप्तिका निम्ति राजाले अनेक उपाय गरे तर राजाले पुत्रप्राप्ति गर्न सकेनन।वृद्धावस्था आउन लागेको देखेर राजाले प्रजाका प्रतिनिधि बोलाए र भने- हे प्रजाजन ! मेरो भण्डारमा अन्यायले उपार्जन गरेको धन पाणि छैन। न मैंले कहिल्यै देवता तथा ब्राह्मणको धन नै हरण गरेको छु। कोहीकसैको नासो पनि मैंले हरण गरेको छैन, प्रजालाई पुत्रसमान पालन पनि गरैकै हो। म अपराधीहरूलाई पुत्र तथा बन्धुवान्धव ठानेर दंड दिने गर्थे। कहिल्यै कसैसङ्ग घृणा पनि गरेको छैन। सबैलाई समान मानेको छु। सज्जनहरूको सदैव पूजा र सम्मान गरेको छु। यसरी धर्मयुक्त राज्य गर्दागर्दै पनि मेरा पुत्र छैनन।

अतः म अत्यंत दु:खी छु, यसको के कारण हो?
राजा महीजितका यी कुरा सुनेपछि यी रहस्य पहिल्याउन मंत्री तथा प्रजाका प्रतिनिधि वनतर्फ़ गए। त्यहाँ ठूला-ठूला ऋषि-मुनि हरूको दर्शन गरे। राजाका उत्तम कामनाका पूर्तिका लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्न थाले। एउटा आश्रममा तिनले एकजना अत्यंत वयोवृद्ध धर्मज्ञ, ठूला तपस्वी, परमात्मामा निरन्तर मन लगाउने, निराहार, जितेंद्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ़ तत्वलाई जान्ने, समस्त शास्त्रका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जुन मुनिको कल्प व्यतीत भएपछि एउटा रौं झर्थ्यो।

सबैले गएर ऋषिलाई प्रणाम गरे। ती मानिसलाई देखेर मुनिले सोधे- हजुरहरू के कारणले पाल्नु भएको हो? नि:संदेह म हजुरहरूको हित गर्नेछु। मेरो जन्म केवल अर्काको उपकारका निम्ति भएको हो, यसमा संदेह गर्नु पर्दैन।लोमश ऋषिका यस्ता वचन सुनेर सबै जनाले भने- हे महर्षे! हजुर हाम्रा कुरा बुझ्न ब्रह्माजत्तिकै समर्थ हुनुहुन्छ। अत: हजुरले हाम्रो यस संदेहलाई निवारण गर्नुहोस। महिष्मति पुरीका धर्मात्मा राजा महीजित प्रजाको पालन पुत्रवत् गर्दछन र पनि उनी पुत्रहीन हुनुपर्ने कारण के हो।

उनीहरूले ऋषिलाई बिन्ती गरे- हामी उनका हौ। अत: उनको दु:खबाट हामी पनि दु:खी छौ। हजुरको दर्शनले हामीलाई पूर्ण विश्वास सिर्जना भएको छ कि हाम्रो यो संकट अवश्यमेव हट्नेछ किनभने महान पुरुषहरूको दर्शनले मात्र पनि अनेक कष्ट दूर हुन पुग्छन। अब हजुरले कृपा गरी राजाको छोरो जन्मने उपाय बताउनु होस।

यो अनुरोध सुनेर ऋषिले केही बेरका लागि नेत्र बंद गर्नुभयो र राजाको पूर्वजन्मको वृत्तांत जानेर भन्न थाल्नुभयो- यी राजा पूर्वजन्ममा एउटा निर्धन वैश्य थिए। निर्धन भएका कारण उनले कतिपय कुकर्म गरे। यी त्यतिबेला एउटा गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्दथे। एक पटक ज्येष्ठ मासको शुक्ल पक्षको द्वादशीका दिन मध्याह्नको समयमा जबकि उनी दुई दिनदेखि भोकै थिए, एउटा जलाशयमा पानी खान गए। त्यसै स्थानमा भर्खरै ब्याएको एउटा गाई पनि पानी खादैथियो। राजा त्यस तिर्खाएको गाईलाई हटाएर स्वयं आफू जलपान गर्न थाले, त्यसैले राजाले यो दु:ख सहनु परेको हो। एकादशीका दिन भोकै बसेकाले ती अर्को जन्ममा राजा भए र तिर्खाएको गाईलाई जलपानका अवस्थामा अवरोध पुर्याएकाले पुत्रवियोगको दु:ख सहनु परेको हो। यस्ता ऋषिका वचन सुनेर सबिले पुनः आफ्ना जिज्ञासा राखे- हे ऋषि! शास्त्रमा पापको प्रायश्चित पनि उल्लेख गरेको हुन्छ। अत: जसो गरी हाम्रा राजाको यो पाप नष्ट हुन्छ, हजुरले त्यस्तो उपाय बताउनुहोस।

लोमश मुनिले आज्ञा गर्नुभयो- श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भन्दछन, त्यस दिन तिमीहरू सबैले व्रत गर्नुपर्छ र रात्रिकालमा जागरण समेत गर्नुपर्छ, त्यसो गरेमा यस राजाको पूर्वजन्मको सम्पूर्ण पाप नष्ट हुनेछन, साथै राजाले पुत्रप्राप्ति पनि गर्नेछन। लोमश ऋषिका यस्ता दिव्य उपदेश सुनेर मन्त्री सहित सारा प्रजा नगरतर्फ़ फर्किए र सबैले श्रावण शुक्ल पुत्रदा एकादशीको व्रत लिए र जागरण गरे।
यस पछि द्वादशीका दिन यस व्रत र जागरणको पुण्यको फल राजालाई अर्पण गरिदिए। त्यस पुण्यको प्रभावले रानीले गर्भ धारण गरिन् र प्रसवकाल समाप्त भएपछि उनले एउटा असाध्यै तेजस्वी पुत्र जन्माइन्त्प।त्यसैले हे राजन! यस श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी राखिएको हो। अत: संतानसुखको इच्छा हुने भक्तजनले यस व्रतलाई लिनुपर्छ। यसको माहात्म्यलाई सुन्नाले मात्र मनुष्य सबै पापबाट मुक्त हुनपुग्छ र यस लोकमा संतान-सुख भोगेर परलोकमा स्वर्ग प्राप्त गर्छ।

अजा एकादशीको व्रतकथा
कुंतीपुत्र युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा राखे- हे भगवन ! भाद्रपद कृष्णपक्षको एकादशीको नाम के हो? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर बताउनुहोस। भगवान मधुसूदनले आज्ञा गर्नुभयो- यस एकादशीको नाम अजा हो। यसले सबै किसिमको समस्त पापराशिलाई नाश गर्ने सामर्थ्य वहन गर्दछ। जो मनुष्यले यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई वैकुंठको प्राप्ति अवश्यमेव हुन्छ। अब तपाई यसको कथा सुन्नुहोस।

प्राचीनकालमा हरिश्चन्द्र नामक एकजना चक्रवर्ती राजा राज्य गर्दथे। उनले कुनै कर्मका वशीभूत भएर आफ्नो संपूर्ण राज्य एवं धन त्याग्नु पर्यो, साथै आफ्नी पत्नी, आफ्नो पुत्र तथा स्वयं आफूलाई समेत बेच्नु पर्यो। ती राजा हरिश्चन्न्द्रले चांडालको दास भएर सत्यवादी भई मृतकहरूका वस्त्रादि ग्रहण गरी जीवन धान्नु पर्यो। तर जस्तै अप्ठ्यारो परिस्थिति आई लागे पनि उनी सत्यबाट विचलित भएनन। कति पटक राजा चिंताको समुद्रमा डुबेर मनमा तर्कना गर्दथे- म कहाँ जाऊँ, के गरौ, जसबाट मेरो उद्धार होस।

यसरी राजाका धेरै वर्ष बिते। एक दिन राजा यस्तै चिंतामा मग्न थिए कि गौतम ऋषि घुम्दाघुम्दै राजाका सामु आई पुगे। राजाले तिनलाई देखेर प्रणाम गरे र आफ्नो संपूर्ण दु:खपूर्ण कथाव्यथा सुनाए। राजाका दुखप्रद वेदना सुनेर गौतम ऋषिलाई दया पलायो अनि उनी राजालाई भन्न थाले- हे राजन ! तिम्रो भाग्यले आजबाट सात दिनपछि भाद्रपद कृष्णपक्षको अजा नामको एकादशी आउने छ, तिमी विधिपूर्वक त्यस दिन व्रत गर। गौतम ऋषिले राजालाई अझ बताए- यस व्रतको पुण्य प्रभावबाट तिम्रा समस्त पाप नष्ट हुनेछन। यसरी राजालाई आज्ञा गरी गौतम ऋषि त्यसै समय अंतर्ध्यान भए। राजाले ऋषिको भनाइबमोजिम एकादशी आएपछि विधिपूर्वक व्रत र जागरण गरे। त्यस व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए। स्वर्गमा बाजा बज्न थाले र पुष्पको वर्षा हुन थाल्यो। उनले आफ्ना मृतक पुत्रलाई जीवित र आफ्नी स्त्रीलाई वस्त्र तथा आभूषणद्वारा सुसज्जित देखे। व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्ति भयो। अंत्यमा ती आफ्नो परिवार सहित स्वर्ग गए। हे राजन ! यो संपूर्ण चमत्कार अजा एकादशीको प्रभावबाट नै भएको हो। अत: जो मनुष्यले यत्नपूर्वक तथा विधिपूर्वक यस व्रतलाई पालना गर्दै रात्रिको समयमा जागरण गर्दछ, उसका समस्त पाप नष्ट भएर अन्त्यमा ऊ स्वर्गलोक पुग्दछ । यस एकादशीको कथाको श्रवणमात्रले पनि अश्वमेध यज्ञको फल प्राप्त हुन्छ।

हरिपरिवर्तिनी एकादशी व्रतको व्रतकथा

यस हरिपरिवर्तिनी एकादशी चान्द्रमासको भाद्रमहिनाको शुक्लपक्षमा पर्दछ । यस एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । यसको निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने बताइएको छ । पापीहरूले पापनष्ट होस् भन्ने कामनाले यस व्रतको सम्पादन गर्ने गर्दछन्, प्रायश्चित्तका लागि यो व्रतभन्दा ठूलो अर्को कुनै उपाय छैन ।पद्मपुराणको एउटा प्रसङ्गमा भगवान् श्रीकृष्ण र युधिष्ठिरको संवादका क्रममा यस व्रतको कथा र महात्म्य उल्लेख गरिएको पाइन्छ । त्यस क्रममा भगवान् श्रीकृष्णले भन्नु भएको छ – जसले यस एकादशीका दिन मेरो वामनावतारको पूजा गर्दछ, त्यसले तीनै लोकमा सम्पदा र प्रतिष्ठा प्राप्त गरी पूज्य हुने अवसर प्राप्त गर्नपुग्छ ।

त्यसैले मोक्षको इच्छा राख्ने मनुष्यले यस हरिपरिवर्तिनी एकादशीको व्रतलाई विधिपूर्वक लिनु पर्दछ ।
भगवान् श्रीकृष्णका यस्ता वचन सुनेपछि युधिष्ठिरले सोध्नुभयो – हे भगवन् ! भाद्रपद शुक्लपक्षको एकादशीको नाम के हो? यसको विधि तथा माहात्म्य कस्तो छ ? कृपा गरी आज्ञा गर्नुहोस् । राजा युधिष्ठिरका जिज्ञासालाई शान्त बनाउने उद्देश्यले भगवान् श्रीकृष्णले भन्नुभयो – पुण्य, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा संपूर्ण पाप नाश गर्ने, उत्तम परिवर्तिनी एकादशीको माहात्म्य म हजुरलाई बताउँछु, ध्यानपूर्वक सुन्नुहोस् । भाद्रपद महिनाको शुक्लपक्षमा पर्ने एकादशीका दिन जसले कमलनयन भगवान् विष्णुलाई कमलको फूलले पूजा गर्दछ, ऊ वैकुण्ठलोकमा पुग्दछ । यस दिन व्रत र पूजा गर्ने व्यक्तिले ब्रह्मा, विष्णु र शिवसहित तीनै लोकको पूजा गरेसरह फल प्राप्त गरेको ठहरिन्छ। अत: आजको एकादशीको व्रत अवश्य गर्नु पर्दछ। आजका दिन आषाढ शुक्लपक्षको हरिशयनी एकादशीमा क्षीरसागरमा शेषनागमाथि शयन गर्नुहुने भगवान् विष्णु निद्रित अवस्थामा नै कोल्टे फेर्ने गर्नुहुन्छ, त्यसैले यस एकादशीलाई परिवर्तिनी एकादशी भनिएको हो।

भगवान् श्रीकृष्णका सुमधुर वाणी सुनेर युधिष्ठिरले फेरि सोध्नुभयो हे भगवन् ! मलाई तपाईं कसरी सुत्नु हुन्छ र कसरी कोल्टे फेर्नु हुन्छ भन्ने कुरामा जिज्ञासा जागेको छ र वामन रूपमा अवतरित भई के-के लीला गर्नुभयो? भन्ने विषयमा समेत जान्ने इच्छा जागेको छ । मेरा यी कानलाई पवित्र तुल्याइदिनुहुन अनुरोध गर्दछु । युधिष्ठिरका यस्ता जिज्ञासा सुने पछि श्रीकृष्णले आज्ञा गर्नुभयो- हे राजन् ! अब तपाई सबै पापलाई नष्ट गर्ने भएको कथाको श्रवण गर्नुहोस।

त्रेतायुगमा बलि नामक एउटा दैत्य थियो। त्यो मेरो परम भक्त थियो । विविध प्रकारका वेद सूक्तहरूद्वारा मेरो पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इन्द्रसित द्वेष भएका कारण उसले इन्द्रलोक तथा सम्पूर्ण देवताहरूमाथि विजय प्राप्त गरेको थियो। देवताहरू आफ्नो अधिकार प्राप्तिका लागि चिन्तित भए र सबै एकत्र भई गहन छलफलपछि म भएको स्थानमा आए । बृहस्पतिसहित इन्द्रादिक देवता प्रभुका नजिकै गई नतमस्तक भएर वेदमन्त्रद्वारा मेरो पूजा र स्तुति गर्न थाले । देवताहरूको कल्याणका लागि बलिलाई बलहीन तुल्याउन मैले वामन रूप धारण गर्नुपर्यो, यो मेरो पाँचौ अवतार थियो, मैले वामनअवतार लिई ऋषि कश्यप र देवी अदितीको पुत्रका रूपमा स्वर्गका राजा इन्द्रको भाइ अनुजका रूपमा छल गरी राजा बलिलाई जितें। बलिले तिनै लोक र चौधै भुवनमाथि आफ्नो अधिकार जमाएको थियो, उसमा ठूलो अहङ्कार र घमण्ड भरिएको थियो, सम्पत्तिको मादकता देखिन थालेको थियो । यस्तैमा उसले एउटा ठूलो यज्ञको आयोजना गरी गरीबगुरुवा र ब्राह्मणलाई इच्छामाफिकको दान गर्ने कार्यक्रम राखेको थियो । यसै अवसरमा मैले वामन रूपधारी ब्रह्मचारी भएर राजा बलिसित तीन पाइला भूमि भिक्षा मागें ।

बलिले जम्मा तीन पाइलामात्र मागेको देखेर त्यसलाई तुच्छ ठान्दै अझ धेरै माग गर्न प्रार्थना गर्यो, तर मैले उसलाई भनें – यो तीन पाइला जमिन मेरा लागि तीनै लोकसमान हुनेछ, हे राजन ! तिमीले त्यत्ति जमिन दान गर्न प्रतिबद्ध भए पुग्छ । राजा बलिका लागि यो कुरो सामान्य थियो, याचनाको रहस्य खोतल्ने सोच नै नराखी उसले कुश, तिल र पानी समातेर सङ्कल्प गर्न आँट्यो, बलिका गुरु शुक्राचार्यले मेरो याचनाको रहस्य ध्यानदृष्टिले थाहा पाए, उनले सङ्कल्प पूरा गर्न आँटेको बलिलाई रोक्न खोजे, उनी आफ्ना यजमानको बचाउ गर्न चाहन्थे, तर बलिको घमण्डका कारण बुद्धिभ्रष्ट भैसकेको थियो, ऊ सङ्कल्पबाट पछि हटेन, र मलाई तीन पाइला जमिन दान गर्ने सङ्कल्प गरी छाड्यो । सङ्कल्पको कुश समात्नासाथ मेरो पालो मैले ठूलो रूप धारण गर्न थालें, मेरो यस रूपले तीनलोक र चौधै भुवनलाई ढाक्यो ।

मेरो यस स्वरूपलाई त्रिविक्रम भन्ने गरिन्छ । मेरो यस त्रिविक्रम स्वरूपले भूलोकमा पद, भुवर्लोकमा जङ्घा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गर्यो । यस स्वरूपलाई सूर्य, चन्द्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इन्द्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे। अनि मैंले राजा बलिको हात समातेर भनें- हे राजन् ! एक पदद्वारा पृथ्वी, अर्कोद्वारा स्वर्गलोक पूर्ण भयो, अब तेस्रो पाउ कहाँ राखौं ? त्यस पछि बलिले आफ्नो शिर झुकायो र मैंले आफ्नो खुट्टा उसको मस्तकमा राखिदिएँ अनि मेरो त्यो भक्त पाताललोकमा गयो। उसको बिन्ती र नम्रता देखेर मैंले भने हे बलि ! म सदैव तिम्रा नजिकै
बस्नेछु । विरोचनका पुत्र बलिले अनुरोध गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा मेरो प्रतिमा स्थापित भयो । त्यसैले आजको एकादशीमा मेरो वामन र त्रिविक्रम रूपको पूजा र भक्तिको महत्त्व बढेको हो ।

त्यस्तै मनुष्यलोकको एक वर्ष मेरालागि एकदिन बराबर हुन्छ । उत्तरायणमा पर्ने ६ महिना मेरो दिवाकाल हो भने दक्षिणायनका ६ महिना मेरा लागि रात्रीकाल हुन्छ। प्रत्येक वर्षको आषाढ शुक्लको हरिशयनी एकादशीमा क्षीरसागरको माझमा शेषनागको पिठ्यूँमा शयन गरी कार्तिक महिनाको शुक्लपक्षमा पर्ने हरिप्रबोधिनी एकादशीमा मेरो निद्रा पूर्ण हुने गर्दछ। मेरो शयनकालको आधा भाग आजको एकादशीमा पूर्ण हुन्छ र निद्रित अवस्थामा नै म कोल्टे फेर्ने गर्दछु, त्यसैले आजको एकादशीलाई हरिपरिवर्तिनी एकादशीसमेत भन्ने गरिन्छ । सारांशमा आजका दिन तीनै लोकका स्वामी भगवान् विष्णुको पूजा गर्नु पर्छ। ताँबो, चाँदी, चामल र दहीको दान गर्नु उचित हुन्छ। रात्रिका समयमा जागरण गर्नुपर्छ ।

जसले विधिपूर्वक यस एकादशीको व्रत गर्दछ, त्यो सबै पापबाट मुक्त भई स्वर्गलोकमा पुगी चन्द्रमा-समान प्रकाशित हुने अवसर पाउँछ र यशप्राप्ति हुन्छ । रूपलावण्य र कान्तिमा कमजोरी देखिएका किशोरीहरूले आजको एकादशीको व्रत लिएमा वा रूपलावण्य र सौन्दर्यमा कमी नआओस् भन्ने कामना भएका स्त्रीले समेत आजको व्रत लिएमा तिनको शारीरिक सौन्दर्यमा अझ निखार आउँछ । जसले पापनाशक यस कथालाई पढ़ने वा सुन्ने कर्म गर्दछ, त्यसले समेत एक हजार अश्वमेध यज्ञ गरेसरह प्राप्त गर्दछ ।

इन्दिरा एकादशी व्रतको व्रतकथा एवं महात्म्य

धर्मराज युधिष्ठिरले आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षमा पर्ने एकादशीका बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले भगवान् श्री कृष्णसित प्रश्न गरे – हे भगवन ! आश्विन कृष्णपक्षको एकादशीको नाम के होरु यसको व्रतविधि तथा फल के छ? यस प्रसंगमा मलाई उपदेश गर्नुहवस् । युधिष्ठिरका प्रश्न सुनेर भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो युधिष्ठिर ! यतिबेला पर्ने एकादशीको नाम इंदिरा एकादशी हो। यो एकादशी पापलाई नष्ट गर्ने तथा पितृहरुलाई अधोगतिबाट मुक्ति दिलाउने एकादशी हो। हे राजन ! ध्यानपूर्वक यसको कथा सुन। यसलाई सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ।

प्राचीनकालमा सत्ययुगको समयमा महिष्मति नामको एउटा नगरीमा इंद्रसेन नामको एकजना प्रतापी राजा धर्मपूर्वक आफ्ना प्रजालाई पालन गर्दै शासन गर्दथे। ती राजा पुत्र, पौत्र र धन आदिबाट संपन्न र भगवान् विष्णुका परम भक्त थिए । एक दिन सुखपूर्वक आफ्नो सभाकक्षमा बसेर राजकाजका बारेमा छलफल गरिरहेको समयमा अन्तरिक्षबाट महर्षि नारद उनको सभामा उपस्थित भए । अकस्मात् आफूअगाडि राजाले नारदलाई देख्दा राजा छक्क परे र उनलाई प्रणाम गर्दै उभिए र विधिपूर्वक आसन र अर्घ्यका लागि अनुरोध गरे । राजाको आतिथ्यलाई स्वीकार गर्दै मुनि नारदले राजासित प्रश्न गरे- हे राजन ! तिम्रा राज्य राज्यप्रशासनका समस्त क्रियाकलाप र अंग राम्ररी नै सुसञ्चालित त छन् ? तिम्रो बुद्धि धर्ममा र तिम्रो मन विष्णु भक्तिमा रत त छ? देवर्षि नारदका यस्ता कुरा सुनेर राजाले उत्तर दिए- हे महर्षि ! हजुरको कृपाले मेरो राज्यमा सबै ठिकठाक र कुशल छ तथा मकहाँ यज्ञ कर्मादि सुकृतिपूर्वक भइरहेका छन।

हजुरले मेरो राजसभामा पाउ कष्ट गरी हामीलाई धन्यधन्य त तुल्याउनु भएको छ, तर उपस्थित हुनासाथ किन यस्ता प्रश्न गर्नुभएको ? हजुरको आगमनको मुख्य अभिप्राय बताउने कृपा गर्नुहुन अनुरोध छ । अनि ऋषि नारदले राजाका जिज्ञासालाई उत्तर दिंदै भन्न थाले- हे राजन ! तिमीले मेरा कुरा सुन्नासाथ आश्चर्य मान्नेछौ । मेरा वचनलाई सुन। म एक पटक ब्रह्मलोकबाट यमलोक गएँ, त्यहाँ श्रद्धापूर्वक यमराजद्वारा पूजित भएर मैंले धर्मशील र सत्यवान धर्मराजको प्रशंसा गरेँ। यमराजको त्यसै सभामा महान ज्ञानी र धर्मात्मा तिम्रा पितालाई एकादशीको व्रत भंग भएका कारणले पाएँ। उनले पठाएको संदेश सुन। तिम्रा पिताजीले भनेका छन कि पूर्व जन्ममा कुनै विघ्न भएका कारणले म यमराजका छेउमा बस्दैछु, त्यसैले हे पुत्र ! यदि तिमी आश्वीन कृष्णपक्षको इंदिरा एकादशीको व्रत मेरा निम्ति गर्नसक्छौ भने मलाई स्वर्गप्राप्ति हुनेछ। नारदका मुख बाट पिताजीको संदेश सुनेर राजा भन्न थाले हे महर्षि ! हजुरले यस व्रतको विधि मलाई बताउनुहोस्। नारदजीले व्रतविधि आज्ञा गरे- आश्विन महिनाको कृष्ण पक्षको दशमीका दिन प्रातस्कालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुनस् दिउँसो नदी आदिमा गएर स्नान गर्नु पर्छ। अनि श्रद्धापूर्वक पितृश्राद्ध गर्न पर्छ र एक छाक मात्र भोजन गर्नु पर्छ।

प्रातस्काल भएपछि एकादशीका दिन दतिउन आदि गरेर स्नान गर्नु पर्छ, पुनः व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गनु पर्छ कि ‘म आज संपूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु।ु हे अच्युत ! हे पुंडरीकाक्ष ! म हजुरको शरणमा छु, हजुरले मेरो रक्षा गर्नुहोस, यसरी नियमपूर्वक शालिग्रामको प्रतिमा अगाडी विधिपूर्वक श्राद्ध गरेर योग्य ब्राह्मणलाई फलाहार भोजन गराउनु पर्छ र दक्षिणा दिनु पर्दछ। श्राद्धमा बाकी रहेका पदार्थलाई सुघेर गाईलाई दिनु पर्दछ र ध़ूप, दीप, गंध, पुष्प, नैवेद्य आदि संपूर्ण सामग्रीले ऋषिकेश भगवानको पूजन गर्नु पर्छ। रात्रीकालमा भगवानको प्रतिमाको छेवैमा बसेर जागरण गर्नु पर्छ । त्यसपछि द्वादशीका दिन प्रातस्कालमा भगवानको पूजाआजा गरेर ब्राह्मणलाई भोजनदी गरा उनु पर्छ। भाइ-बंधु, स्त्री र पुत्र सहित आफुउले पनि मौन रहेर भोजन गर्नु पर्छ । नारदजी बताउदै हुनुहुन्छ- हे राजन ! यसप्रकारले यदि तिमीले आलस्य रहित भई यस एकादशीको व्रत गर्यौ भने तिम्रा पिता अवश्य नै स्वर्गलोक पुग्ने छन। यत्तिका कुरा भने पछि नारदजी अंतर्ध्यान हुनुभयो। नारदका कथनानुसार राजाले आफ्ना दाजुभाइ, इष्टमित्र, बन्धुबान्धव, करकुटुम्ब र दासजन सहित विधिपूर्वक व्रत लिए व्रत समापन भएपछि आकाशबाट पुष्पवर्षा भयो र त्यस राजाका पिता गरुड़मा बसेर पृथ्वीतलमा रहेका सन्ततिलाई अशिर्वचन प्रदान गर्दै विष्णुलोकतर्फ़ गए। राजा इंद्रसेन पनि एकादशीको व्रतको प्रभावले निष्कंटक राज्य सुखभोग गरेर अन्त्यमा आफ्ना पुत्रलाई सिंहासनमा राखेर स्वर्गलोकतर्फ़ प्रस्थान गरे। हे युधिष्ठिर! आजको यस इंदिरा एकादशीको कथा एवं माहात्म्य यत्ति नै हो, जुन मैले तिमीलाई सुनाए।

पापाङ्कुशा एकादशी व्रतको महात्म्य तथा कथा

धर्मराज युधिष्ठिरले भगवान् मुकुन्दसित पुनः जिज्ञासा राख्नुभयो- हे भगवन ! आश्विन शुक्लपक्षको एकादशीको नाम के हो? अब हजुरले कृपा गरी यसको विधि तथा फल के हुन्छ बताउने कष्ट गर्नुहोस । भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- हे युधिष्ठिर ! पापसमूहको नाश गर्ने सामर्थ्य भएको यस एकादशीको नाम पापांकुशा एकादशी हो। हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भगवान पद्मनाभको पूजा गर्नुपर्छ। यो एकादशीले मनुष्यलाई मनोवांछित फल दिएर स्वर्ग प्राप्त गराउदछ। मनुष्यले लामो समयसम्म कठोर तपस्याबाट जुन फल प्राप्त गर्दछ, त्यो फल भगवान गरुड़ध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन्छ। जो मनुष्यले अज्ञानवश अनेक पाप गर्दछ परंतु भगवान् हरिलाई नमस्कार गर्दछ, त्यसले नरकमा जानु पर्दैन। विष्णुको नामको संकीर्तनबाट संसारका सबै तीर्थका पुण्यफल प्राप्त हुन्छ। जो मनुष्यले शार्ङ्ग धनुषधारी भगवान विष्णुको शरण लिएको छ, त्यसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन। जो मनुष्य वैष्णव भएर शिवको र शैव भएर विष्णुको निंदा गर्दछ, ती अवश्य नरकवासी हुन पुग्छन। हज्जारौ वाजपेय र अश्वमेध यज्ञबाट जुन फल प्राप्त हुन्छ, त्यो एकादशीको व्रतको सोह्र भागको एक भाग पनि होइन। संसारमा एकादशीको समता हुने कुनै पुण्य छैन।

यस एकादशीबराबरको पवित्र वस्तु तीनै लोकमा केही पनि छैन। यस एकादशी-बराबरको कुनै व्रत छैन। जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ। हे राजेन्द्र! यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुंदर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ। एकादशीको व्रतको समानता गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन। हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ। हे युधिष्ठिर ! यस व्रतलाई विधिपूर्वक लिने व्यक्तिले दस पुस्ता मातृपक्ष, दस पुस्ता पितृपक्ष, दस पुस्ता स्त्रीपक्ष तथा दस पुस्ता मित्रपक्षको उद्धार गर्दछ। ऊ दिव्य देह धारण गरी चतुर्भुज रूप भई, पीतांबर पहिरिएर र हातमा माला लिएर गरुडमाथि बसेर विष्णुलोक जान्छ। हे नृपोत्तम ! बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ। आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन।

जो मनुष्यले कुनै प्रकारको पुण्य कर्म नगरी जीवनका दिन व्यतीत गर्दछ, त्यो कामीको खलाँतीले जसरी सास फेर्छ र निर्जीव समान हुन पुग्छ। निर्धन मनुष्यले पनि आफ्नो शक्ति-अनुसार दान गर्नु पर्दछ तथा धनयुक्तले त सरोवर, बगैंचा, घर आदि बनाएर दान गर्नु पर्दछ। यस्तो कर्म गर्ने मनुष्यले यमलोकको द्वार कहिल्यै पनि देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्य, कुलीन र रोगरहित हुन पुग्छ।

रमा एकदशीको व्रत कथा

धर्मराज युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा गर्दै सोधे हे भगवन ! कार्तिक कृष्ण एकादशीको नाम के हो ? यसको विधि के छ ? यो व्रत लिनाले के फल पाइन्छ । हजुरले विस्तारपूर्वक बताउनुहोस । भगवान श्रीकृष्णले भन्नु भयो – कार्तिक कृष्ण पक्षको एकादशीको नाम रमा एकादशी हो । यसले ठूला ठूला पापलाई नाश गर्ने सामर्थ्य राख्दछ । यसको माहात्म्य म तिमीलाई भन्दछु, ध्यानपूर्वक सुन ।

हे राजन ! प्राचीनकालमा मुचुकुंद नाम गरेको एउटा राजा थियो । उसको इंद्रसित मित्रता थियो र साथै यम, कुबेर, वरुण र विभीषण पनि उसका मित्र
थिए । राजा मुचुकुंद ठूलो धर्मात्मा, विष्णुभक्त र न्यायप्रिय शासक थियो । उसकी एउटी छोरी थिई, छोरीको नाम चंद्रभागा थियो । उक्त कन्याको विवाह चंद्रसेनका पुत्र शोभनसित भएको थियो । एक पटक शोभन ससुराली आएको थियो । ऊ ससुराली आएकै समयमा पुण्यप्रदा एकादशी रमा एकादशी पर्ने
भयो ।

जब व्रतको दिन नजिकिन थाल्यो, चंद्रभागाका मनमा अत्यंत चिन्ता उत्पन्न भयो कि मेरा पति अत्यंत दुर्बल छन र मेरे पिताको आज्ञा अति कठोर छ । दशमीका दिन राजाले ढोलक बजाएर संपूर्ण राज्यमा के घोषणा गरे भने एकादशीका दिन कसैले पनि भोजन गर्नु हुदैन । राजाको घोषणा सुन्नासाथ शोभनलाई अत्यंत चिंता भयो र आफ्नी पत्नीलाई भन्नथाल्ल्यो- हे प्रिये ! अब म के गरौ वा मैले के गर्नु उचित हुन्छ, म कुनै बेला पनि भोक सहन सक्दिन । प्रिये ! यस्तो उपाय बताऊ जसबाट मेरो प्राण बचोस, अन्यथा अवश्य मेरो प्राण जानेछ ।

चंद्रभागा आफ्ना पतिलाई सम्झाउँदै भन्नथाली- हे स्वामी ! मेरा पिताको राज्य मा एकादशीका दिन कसैले पनि भोजन गर्दैन । यहासम्म कि हाती, घोड़ा, ऊँट, बिरालो, गाई आदि पनि तृण, अन्न, जल आदि ग्रहण गर्दैनन, फेरि मनुष्यको त के कुरा गर्नु । यदि हजुर भोजन गर्न इच्छा राख्नु हुन्छ भने कुनै अर्कै स्थानमा जानुहोस, किनभने यदि हजुर यहीं रहन मन पराउनु हुन्छ भने हजुरले अवश्यमेव व्रत लिनै पर्छ । यस्ता कुरा सुनेर शोभन भन्नथाल्यो- हे प्रिये ! म अवश्य व्रत गर्छु, जे भाग्यमा हुन्छ, त्यही देखा जाएगा । यस्तो विचार गरेर शोभनले व्रत बस्ने निर्णय गर्यो र व्रतका दिन ऊ भोक र प्यासबाट अत्यंत पीडि़त हुन लाग्यो । जब सूर्य नारायण अस्त हुनुभयो र रात्रिमा जागरणको समय आयो जुन वैष्णवलाई अत्यंत हर्ष प्रदान गर्न सक्थ्यो, परंतु शोभनका लागि त्यो समय अत्यंत दु:खदायी हुन पुग्यो । प्रात:काल हुन नपाउदै शोभनका प्राणपखेरु उडे। अनि राजाले सुगंधित काष्ठद्वारा त्यसको दाह संस्कार संपन्न गरे । परंतु आफ्ना पिताको आज्ञा लिएर चंद्रभागा आफू सती गइन र शोभनको अंत्येष्टि क्रियापछि पनि माइतमा नै बस्नथाली ।
रमा एकादशीको प्रभावले शोभनलाई मंदराचल पर्वतमा धन-धान्यले युक्त तथा शत्रुरहित एउटा सुंदर देवपुर प्राप्त भयो । ऊ अत्यंत सुंदर रत्न र वैदुर्यमणि जटित स्वर्णका खंभामा निर्मित अनेक किसिमको स्फटिक मणिद्वारा सुशोभित भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मर बाट विभूषित, गंधर्व र अप्सराबाट युक्त सिंहासनमा आरूढ़ यसरी शोभायमान हुन्थ्यो मानौ अर्का इंद्र विराजमान छन ।

केही समय पछि मुचुकुंदकै नगरमा बस्ने एकजना सोम शर्मा नामक ब्राह्मण तीर्थयात्रा गर्दै घुम्दाघुम्दै मन्दराचल पर्वतमा पुगे र उनले शोभनलाई चिनेर यो त राजाको ज्वाई शोभन हो, भन्दै उसकै छेवैमा गए । शोभनले पनि ससुराली गाउका ब्राह्मणलाई चिनेर आफ्नो आसनबाट उठेर ब्राह्मणका छेउमा आई प्रणामादि गरी कुशल प्रश्न गरे । ब्राह्मणले भने राजा मुचुकुंद र हजुरकी पत्नी कुशलपूर्वक छन । नगरमा पनि सबैतिर आनन्दैआनन्द छ, परंतु हे राजन ! हामीलाई आश्चर्य भइरहेको छ । हजुर आफ्नो वृत्तांतको वर्णन गर्नुहोस कि यस्तो सुंदर नगर जुन कहिल्यै देखेको थिइएन, न त सुन्नमा नै आएको थियो, हजुरले कसरी प्राप्त गर्नुभयो? मुनिका जिज्ञासा शान्त पार्न शोभन सुमधुर अवाज़मा भन्नथाल्यो – कार्तिक कृष्णपक्षको रमा एकादशीको व्रत बसेकाले मैले यो नगर प्राप्त गरेको हो, परंतु यो अस्थिर छ । हजुरले यो नगर स्थिर हुने उपाय गर्नुहोस । ब्राह्मणले पुनः जिज्ञासा राखे – हे राजन ! यो किन स्थिर छैन र कसरी यो स्थिर हुन पुग्छ?बताउनुहोस, त्यस पछि म अवश्यमेव यसलाई स्थिर बनाउने उपाय गर्नेछु ।

मेरो यस कुरालाई हजुरले मिथ्या नठान्नु होला । शोभनले भने मैंले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, अत: यो वैभव सबै अस्थिर छ । यदि हजुरले मुचुकुंदकी कन्या चंद्रभागालाई यी सबै वृत्तांत सुनाउनु भए यो स्थिर हुनसक्छ । उनले उक्त नगर स्थिर नरहेको कुरा पनि गरे । जसरी उक्त सुन्दर नगर स्थिर हुन सक्छ त्यस्तो उपाय गर्नु पर्छ । यस्ता वचन सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगर फर्किएर चंद्रभागासित सबै वृत्तांत भनी सुनाए । ब्राह्मणका वचन सुनेर चंद्रभागा ठूलो प्रसन्नताका साथ ब्राह्मणसित भन्न थाली- हे ब्राह्मण ! यी सबै कुरा हजुरले प्रत्यक्ष देख्नुभएको वा सपनाका कुरा गर्दै हुनुहुन्छ । ब्राह्मणले भने- हे पुत्री ! मैंले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो । साथै कसैद्वारा विजय हुन नसक्ने देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो ।

बाहुनका त्यस्ता अनौठा कुरा सुनेर चंद्रभागा फेरि भन्न थाली- हे विप्र ! हजुरले मलाई त्यहा लिई जानोस जहा मैले मेरा पतिदेवको दर्शन प्राप्त गर्छु । मैले आफूले गरेका पुण्यद्वारा त्यस नगरलाई स्थिर बनाई दिन्छु। हजुरले यस्तो कर्म गर्नोस जसबाट हामी दुईको मिलन होस, वियोगीलाई भेट गराउनु पनि ठूलो र महान पु्ण्य हो । सोम शर्मा यस्ता कुरा सुनेर चंद्रभागालाई लिएर मंदराचल पर्वतका समीपमा वामदेव ऋषिको आश्रममा गए । ऋषि वामदेवले संपूर्ण विवरण सुनेर वेदमंत्रको उच्चारणद्वारा चंद्रभागाको अभिषेक गरे । अनि ऋषिको मंत्रको प्रभाव र एकादशीको व्रतले गर्दा चंद्रभागाको शरीर दिव्य भयो र उनिले दिव्य गति प्राप्त गर्दी भइन ।

त्यसपछि असाध्यै प्रसन्नताका साथ चंद्रभागा आफ्ना पतिसमक्ष पुगिन । उता आफ्नी प्रिय पत्नी आउदै गरेको देखेर शोभन अति प्रसन्न भयो । उनलाई बोलाएर आफ्नो बायातर्फ़ बसाल्यो। चंद्रभागाले पतिलाई भनिन – हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस । माइतमा जब म आठ वर्षकी थिए तबदेखि विधिपूर्वक एकादशीको व्रतलाई श्रद्धापूर्वक लिदै आएकी छु । यस पुण्यको प्रतापबाट हजुरको यो नगर स्थिर हुनेछ तथा समस्त कर्मबाट युक्त भई प्रलयको अन्त्यसम्म रहनेछ । यसरी चंद्रभागा दिव्य आभूषण र वस्त्रबाट सुसज्जित भएर आफ्ना पतिका साथमा आनंदपूर्वक बस्न थाली ।हे राजन ! यो मैले रमा एकादशीको माहात्म्य बताए, जो मनुष्यले यस व्रतलाई श्रद्धापूर्वक लिन्छन, तिनको ब्रह्महत्यादि समस्त पाप नष्ट हुनपुग्छ । जो मनुष्यले यस माहात्म्यलाई पढ़ने र सुन्ने मात्र गर्दछन, ऊ समस्त पापबाट छूटकारा पाई विष्णुलोकमा पुग्दछ ।

हरि प्रवोधिनी एकदशीको महात्म्य

कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । यसलाई ठूली एकादशीको रुपमा पनि मान्ने गरिन्छ । ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ।एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन- ‘हे नाथ! अब हजुर दिन-रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ। अत: हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस्। यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो- ‘देवी’! तिमीले ठीक भन्यौ। म जागा रहेपछि सबै देवता र ख़ासगरी तिमीलाई कष्ट हुन्छ।

तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुदैँन। त्यसैले, तिम्रो कथनानुसार आजदेखी म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु। त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ। मेरो यो निद्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ। यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ। यस कालमा मेरा जातिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु। भगवान विष्णुलाई चार महिनाको योग-निद्राबाट जगाउनका लागि घण्टा ,शंख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन-
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते । त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे । हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ॥

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचारविधिले पूजा गर्नुपर्छ। अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ । संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम-संकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ। विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ। अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन।पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी-माहात्म्यका अनुसार श्रीहरि-प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ। यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ। यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जप-तप, स्नान-दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन। देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो। यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन छ।

यसै संदर्भमा कथा के छ भने जलंधर नामक असुरकी पत्नी वृंदा पतिव्रता स्त्री थिई, उसलाई आशीर्वाद प्राप्त थियो कि जबसम्म उसका पतिव्रता व्रत भंग हुदैन तबसम्म उसको पति जीवित रहने छ। जलंधर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान विष्णुले जलंधरको वेश धारण गरी वृंदाका कक्षमा प्रवेश गरे तर उनलाई वृंदाले चिन्न सकिनन र उनको पतिव्रत भंग भयो। वृंदाको पतिव्रत भंग भएपछि जलंधर मारियो। विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन। वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए। विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंडकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ। तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ। त्यसदिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान शालिग्राम र तुलसीको गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ।

पुरुषोत्तम महिनामा पर्ने पद्मिनी एकादशीको व्रतकथा र महात्म्य

प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ। मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ। यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता छ। तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पनि भनिन्छ। यो एकादशी (Padmini Ekadashi) भगवानले अतीव प्रिय मान्नुहुन्छ। त्यसैले यस एकादशीको व्रत विधिपूर्वक सम्पादन गर्दा प्रत्येक जीव सीधै विष्णुलोक पुग्दछ भन्ने धार्मिक विश्वास छ। यस व्रतको विधिवत् पालनाबाट व्यक्तिले सबै प्रकारका यज्ञ, व्रत एवं तपश्चर्याको फल प्राप्त गर्दछ। यस व्रतको महात्म्यमा उल्लिखित कथा अनुसार भगवान् श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी र बलशाली राजा थिए। तिनका धेरैवटी रानीहरू थिए तर कुनै रानीबाट पनि यिनले सन्तान उत्पादन गर्न सकेका थिएनन्। सन्तानहीन भएकाले राजा र तिनका रानीहरू यावत् सुखसुविधाहरूका माझमा पनि दु:खी र सन्तप्त थिए। सन्तानप्राप्तिको मनोरथ पूर्ण गर्न ती राजा आफ्ना रानीलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे। हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन। बरु राजा दुब्लापातला र ख्याउटे बन्न पुगे। उनी यतिसम्म निर्बल भए कि रानीहरूको कामना पूर्ति गर्न समेत उनी असमर्थ झैं हुनपुगे। त्यसै जङ्गलमा नजिकै ऋषि अत्रिको आश्रम थियो। उनकी पत्नी अनुसूया सतीत्व, पवित्रता र आचरणमा तीनै लोकमा प्रसिद्ध थिइन्। राजा कृतवीर्यका रानीहरूले ऋषिपत्नी अनुसूयासँग आफ्ना आकाङ्क्षालाई बताउँदै सन्तानप्राप्तिको उपाय सुझाउन अनुरोध गरे। ठिक्क त्यतिबेला अधिकमास परेको थियो, गुरुआमा अनुसूयाले तिनलाई त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा सुझाईन् र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि बताईन्।

रानीहरूले पनि गुरुपत्नीले निर्देशन गरेबमोजिम पद्मिनी एकादशीको व्रत लिए। व्रतको सम्पादन पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो। रानीहरूले भगवानसित भने- प्रभु ! हजुर हामीसँग प्रसन्न हुनुहुन्छ भने हाम्रो सट्टामा हाम्रा पतिलाई वरदान र आशिक दिनुहवस्। भगवानले रानीहरूको अनुरोधलाई स्वीकार गर्दै राजासँग वरदान माग भन्नुभयो, राजा कृतवीर्यले पनि भगवानसँग बिन्ती गरे- हे प्रभो ! मेरी जेठी पत्नी (पट्टरानी)को कोखमा हजुरले मलाई यस्तो एउटा पुत्र प्रदान गर्नुहवस्, जो सर्वगुण सम्पन्न होस् र तीनै लोकमा आदरणीय तथा सम्मानित पनि होस्, अनि ऊ कसैसित पनि पराजित नहोस्। भगवानले पनि तथास्तु भन्नुभयो र त्यहाँबाट अन्तर्धान हुनुभयो। केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण गरिन् र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो, धेरै ओटी आमाहरूले निस्वार्थ भगवद्भक्ति गरी जन्मिएको हुँदा ऊ जन्मँदै सहस्रबाहु अर्थात् हज्जारवटा हातसहित जन्मिएको थियो। उसको व्यक्तित्व, ऐश्वर्य र पराक्रम तीनै लोकमा प्रसिद्ध भयो। उसको अन्त्यका निमित्त स्वयं भगवानले पर्शुराम अवतार लिनु परेको प्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ। कुनै समयमा कार्तवीर्यले रावणलाई पनि बन्दी बनाएको थियो भन्ने कथा छ।

पद्मिनी एकादशी व्रत विधान:

यस एकादशीको व्रतसम्पादन गर्ने नियम र विधान यस प्रकार छ :-
१) एकादशीका दिन स्नानादिबाट निवृत्त भएर भगवान् विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ।
२) निर्जला(सकेसम्म पानीसमेत नखाई) व्रतसम्पादन गर्नुपर्छ।
३) दिनभरि पुराणको अध्ययन, श्रवण र मनन गर्नुपर्दछ।
४) रात्रीकालमा पनि निर्जला व्रत लिनुपर्छ र भजनकीर्तनका साथमा जागरण गर्नुपर्दछ।
५) रात्रिकालमा प्रत्येक प्रहरमा क्रमशः दम्पतीसहित भगवान् नारायण र शङ्करको पूजा गर्नुपर्दछ।
६) प्रत्येक प्रहरमा भगवान् भिन्नभिन्न नैवेद्य र भेटी चढाउनु पर्दछ, जस्तै पहिलो प्रथम प्रहरमा श्रीफल(नरिवल), दोस्रो प्रहरमा बेल, तेस्रो प्रहरमा फर्सी र चौथो प्रहरमा मौसमी, जुनार वा सुन्तला र सुपाडी अर्पण गर्नुपर्दछ।
७) द्वादशीका दिन बिहानै भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराई सीधा, दक्षिणासहित विदा गर्नुपर्छ र त्यसपछि आफूस्वयंले भोजन ग्रहण गर्नुपर्दछ।
यसरी यस एकादशीको व्रतसम्पादन गर्नाले मनुष्यको जीवन सफल हुन्छ, उसले आजीवन सुख भोगेर अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ।

पुरुषोत्तम महिनाको अर्को एकादशी : परमा एकादशी

परमा एकादशीको महात्म्य यस्तो छ- अधिक मासमा कृष्ण पक्षमा जुन एकादशी पर्दछ, त्यसलाई हरिवल्लभा अथवा परमा एकदशीका नामले सम्बोधन गरिन्छ भनेर भगवान् श्री कृष्णले अर्जुनलाई बताउनु भएको थियो र प्रभुले अर्जुनलाई यस व्रतका प्रसङ्गमा एउटा कथा पनि सुनाउनु भएको थियो।

कथा
काम्पिल्य नगरीमा सुमेधा नामक एकजना ब्राह्मण आफ्नी पत्नीका साथमा निवास गर्दथे। ब्राह्मण धर्मात्मा थिए र उनकी पत्नी पनि पतिव्रता थिइन्। त्यो परिवार यस्तो थियो, आफुस्वयं भोकै बसेर भए पनि अतिथि र परपाहुनाको सेवा हृदयबाट नै सत्कारपूर्वक गर्दथ्यो। धनको अभावका कारण एक दिन ब्राह्मणले आफ्नी पत्नीलाई भने – धनोपार्जन गर्न म अब परदेश जानु उचित हुनेछ किनकि धनको अभावमा परिवार सञ्चालन गर्न अति कठिन छ। ब्राह्मणीले पतिलाई सम्झाउँदै भनिन्, मनुष्यले जे जस्तो वस्तु प्राप्त गर्दछ, त्यो भाग्यवश प्राप्त हुन्छ, हामीले पूर्वजन्ममा गरेका कुकर्मका कारण अहिले गरिबी ब्यहोर्नु परेको हो, हजुर परदेशमा जाँदा मेरो पनि बिल्लीबाठ हुन्छ, त्यसैले यतै आफ्नै थातथलोमा बसेर कर्मशील हुनुहवस्, म पनि मेरा बुताले भ्याएसम्म सरसहयोग गर्नेछु, जसैतसै गुजारा चल्नेछ। अनि भगवानको इच्छा जाग्यो भने राम्रै पनि हुन सक्छ। आखिर मन सन्तुष्ट र आनन्दपूर्ण भयो भने धेरै धनसम्पत्ति पनि त चाहिंदैन। बाहुनलाई बुढीका कुरा मन परे र जेजस्तो भए पनि घरैमा बसेर कुनै कामधन्दा गर्ने निधो गरे। एक दिन संयोगले कौण्डिल्य ऋषि ती ब्राह्मणका घरैछेउबाट कतै जांदै थिए, ऋषिको दर्शन प्राप्त गरेर ब्राह्मण/ब्राह्मणी अतीव प्रसन्न भए र ऋषिलाई घरमा बोलाएर स्वागतसत्कार र आदरभाउ गरे। ऋषि ती दम्पतीको सेवा भावनालाई देखेर असाध्यै खुसी भए अनि ब्राह्मण र ब्राह्मणीको गरिबी एवं दीनता हटाउने उद्देश्यले मल मासको कृष्ण पक्षको एकादशीको व्रत प्रतिपादन गर्ने सल्लाह समेत प्रदान गर्दै भने हजुरहरू युगल दम्पतीले अधिकमासमा आउने उक्त परमा नामको एकादशीको विधिपूर्वक व्रत सम्पादन गर्नुहोस्। उनले उक्त एकादशीको व्रतको प्रभावबाट धनधान्य, ऐश्वर्य र वैभवको प्राप्ति हुने र इहलोकमा सुखसम्मृद्धिका साथै परलोकमा समस्त पापको नाश गर्दै उत्तम गतिको प्राप्ति हुन्छ। ऋषि भन्दछन्- कुनै समयमा धनाधिपति कुबेरले यस एकादशीको व्रत लिएको थियो, जसबाट प्रसन्न भएर भगवान् शङ्करले उनलाई धनाध्यक्षको पद प्रदान गर्नुभएको थियो। मलमासको समय प्राप्त भएपछि सुमेधा नामका ती ब्राह्मणले विधिपूर्वक त्यस एकादशीको व्रत लिए, जसबाट उनको गरिबीको अन्त्य भयो र पृथ्वीमा लामोसमयसम्म सुख भोगेर ती दुबै पतिपत्नी भगवान् विष्णुको उत्तम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे।

व्रत पूजन विधि
यस व्रतका दिन भगवान् विष्णुको ध्यान गर्दै उनलाई नै समर्पण गर्ने उद्देश्यले व्रत लिनु पर्दछ। व्रत लिने व्यक्तिले घिउको वर्तनमा दियो बालेर फल, फूल, तिल, चन्दन एवं धूपले भगवान् विष्णुको पूजा गर्नु पर्दछ। व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ गर्नुपर्छ, यसको ठुलो महत्त्व छ।

दानको महत्त्व
शास्त्रहरूमा परमा एकादशीलाई दान गर्नका निमित्त पनि अत्युत्तम दिन भनेर चर्चा गरिएको पाइन्छ, यस दिन धार्मिक पुस्तकहरू, अन्न, फल, मिट्ठाइ आदि दान गर्ने विधान छ। जसले कारणवश यो व्रत सम्पादन गर्न सक्दैनन् तिनले यस व्रतको पुण्य प्राप्त गर्न माथि बताइएका वस्तुहरूको दान गर्नुपर्दछ। दान गर्दा के कुरो सम्झनुपर्छ भने त्यस्ता व्यक्तिलाई धार्मिक पुस्तक दान गर्नुपर्दछ, जो ईश्वर एवं धार्मिक पुस्तकप्रति आस्था राख्दछ।
इति शुभम्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *