कस्तो, कहिले र कसरी सन्तान जन्माउने,छोरा वा छोरी पाउने तरिकाबारे वेदमा…….

garv

आधुनिक समाजमा कस्तो, कहिले र कसरी सन्तान जन्माउने भन्ने आम चिन्ता र चासोको विषय हो । छोरा वा छोरीको लालसामा धेरै प्रयोग र गैरकानुनी काम पनि हुने गरेको छ । सम्भोग प्रक्रियालाई आनन्ददायक र फलदायक तुल्याउन विभिन्न अध्ययन समेत भएका छन् । कुन समय र कस्तो प्रक्रियामा सम्भोग कार्य उचित हुन्छ भनेर अध्ययनका निश्कर्ष पनि सार्वजनिक गरिएको छ । यो भन्दा पनि गहिरो अध्ययन, चिन्तन र अनुसन्धान गरेर सम्भोग प्रक्रिया र सन्तान पैदा गर्ने विधिवारे शास्त्रमा उल्लेख गरिएको छ । कुन अवस्थामा कसरी सम्भोग गर्दा छोरा र छोरी जन्मन्छन् भन्ने कुरा वेदमा निकै राम्रोसँंग उल्लेख गरिएको छ ।

१. विवाह कहिले र कस्तोसँग गर्ने ?
बीस वा चौबीस वर्ष ब्रह्मचर्यमा रही सैद्धान्तिक स्नातक, प्रायोगिक स्नातक र सैद्धान्तिक सम्पूर्ण पक्षलाई प्रयोगमा ल्याउन सक्ने स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि मात्र समावर्तन संस्कार (सहस्रधारा स्नान) र दीक्षान्त समारोह गरेका युवा र युवतीहरू गृहस्थाश्रममा प्रवेश गर्न पाउने सिद्धान्तको वर्णन वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्र (का.३) मा छ । सूत्रकार र स्मृतिकारहरूका साथै आयुर्वेदविज्ञ सुश्रुतले समेत चौबीस वर्षसम्म ब्रह्मचर्यमै रहेर पढ्नुपर्ने धारणा प्रकट गरेको पाइन्छ ।

पण्डित दत्तरामले चाहिं २० वर्षसम्म ब्रह्मचर्यमा रही स्नातक भएका युवाले विवाह गरेर गृहस्थाश्रममा प्रवेश गरी यौनानन्द प्राप्त गर्न सक्ने बताएका छन् । सुश्रुत र दत्तराम दुवैले कन्याका निमित्त १६ वर्षसम्म ब्रह्मचर्यमै रहेर प्रायोगिक स्नातक हुनुपर्ने आशय व्यक्त गरेका छन् । ऋग्वेदको आश्वलायन श्रौतसूत्रमा कन्याका निमित्त पनि उक्त तीनखाले स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि स्नान (ज्ञानसागर–स्नान) संस्कार गर्नु अनिवार्य बताइएको छ । गुरुसँग विद्याध्ययनकालमा सिकेका सिद्धान्तहरूलाई व्यवहारमा लागु गर्नसक्ने प्रायोगिक स्नातक नभई दीक्षान्त समारोह नहुने र सो नभई गृहस्थाश्रम प्रवेश गर्न नपाउने नियम सूत्रकालमा रहेको देखिन्छ । कन्याहरूले ब्रह्मचर्यधर्म पालना गरेर स्नातक भएमात्र भनेजस्तो (रोजेको र खोजेको) युवा जीवनसाथी पाउने आशय अथर्ववेदमा प्रकट गरिएको छ ।

ऋग्वेद युगमा त आवश्यक सैद्धान्तिक ज्ञानलाई प्रयोग गर्न जान्ने १६ वर्षे युवतीले २०–२५ वर्षे युवासँग पनि विवाह गर्दथे । विशेष गरेर मन्त्रद्रष्टाले मन्त्रद्रष्टीसँग नै विवाह गर्दथे । सैद्धान्तिक ज्ञानमात्र गरेको, तर व्यवहारमा काँचो पण्डितलाई छोरी नदिने चलन पनि थियो । ऋग्वेदकी मन्त्रद्रष्ट्री सूर्यपुत्री सूर्याको विवाह चन्द्रमाका साथ गराउँदा दुवैको मञ्जुरी र अभिभावकहरूको स्वीकृतिमा दुवै कुलमा र केटाकेटीमा समेत कुनै सरुवा रोग भए नभएको कुरा थाहा पाउनका लागि धर्म–विज्ञान र चिकित्सा विज्ञानका धुरन्धर विद्वान्, देवताहरूका वैद्य अश्विनीकुमारहरूलाई जिम्मा दिइएको थियो । अश्विनीकुमारहरूको सिफारिसमा सूर्या स्वयंले साक्षात्कार गरेका ऋग्वेदका धर्म–विज्ञान, आयुर्विज्ञान, कामकला–विज्ञान र समाज–विज्ञानअनुकूलका मन्त्रहरूद्वारा सूर्या र चन्द्रमाको विवाह–संस्कार सम्पन्न भएको वर्णन पाइन्छ ।

त्यस युगमा यिनै मन्त्रहरूद्वारा वैदिक युगका ऋषिहरूले आफूसमानका नारीसँग प्राणीग्रहण संस्कार सम्पन्न गर्थे । उत्तरवर्ती युगका गौरीशङ्कर, सीताराम र राधाकृष्ण आदि देवताहरूका विवाहदेखि आजसम्मका सम्पूर्ण हिन्दु विवाहहरू यिनै मन्त्रहरूबाट नै सम्पन्न गरिँदै आएका छन् । यी मन्त्रमा कामकलालाई प्रशस्त महत्व दिइएको छ र जीवनका चार पुरुषार्थमा यसलाई गणना गरी मानवीय जीवनको सफलताको एउटा आधार कामशक्ति पनि हो भन्ने कुरालाई स्वीकार गरिएको छ । धर्म, आयु र काम, यी तीन किसिमको वातावरण अनुकूल गराई गृहस्थाश्रमलाई सुख–शान्तिमय गराउन उक्त वैदिक मन्त्रहरूद्वारा राष्ट्रभृद्, जया, गुप्ताहुति र लाजाहोम आदि गर्ने गरिन्छ ।

गृहस्थाश्रमलाई एक आपसमा मिलेर चलाउने प्रतिज्ञामा आधारित सप्तपदी गरी चतुर्थी होम गरेपछि मात्र दुई धाराको जल एकै ठाउँमा मिसाएर एकै बनाएझै वेदमन्त्रद्वारा वर र वधूका पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय एवं आत्मा एकै गराउने प्रतिज्ञा गरिन्छ । तब मात्र दुई जीवात्मा एक हुन पुग्दछन् र हिन्दू विवाह सुसम्पन्न हुन्छ । यसरी हिन्दू विवाह पद्धति यौन समागममा मात्र आधारित छैन, यौन र भावना दुवैको ऐक्य र सम्मिलनमा आधारित छ । यो स्त्रीत्व र पुरुषत्व एक भई अर्धनारीश्वर हुने विज्ञान हो । यसबाट दम्पतिको सर्वत्र समान हक अधिकार सुरक्षित हुन पुग्ने विश्वास मनीषिहरूले प्रकट गरेका छन् । यसरी विवाह बन्धनमा बाँधिएकी पतिव्रता स्त्रीले आफ्नो पतिलाई वश गर्न सक्छे भन्ने धारणा धर्मशास्त्रहरूमा प्रकटित छ । यसैलाई आधार मानेर सृष्टि सञ्चालनका लागि वेदले अग्नितत्व र सोमततत्वको, साङ्ख्य दर्शनले प्रकृति र पुरुषको, वेदान्त दर्शनले माया र ब्रह्मको, पुराणले शक्ति र शिवको अवधारणा प्रस्तुत गरेको देखिन्छ ।

२. विवाहपछि सहवासको सिद्धान्त र मान्यता के हो ?
विवाहपछि ऋतुस्नाता (रजस्वलापछिको स्नान गरेकी स्त्री) ले इच्छा गरेमा दुवैको सम्मतिमा ‘ऋतुसङ्गम’ हुनसक्ने र त्यसबेला गरिने छुट्टै संस्कारको उल्लेख ‘वैखानस गृह्यसूत्र’ मा गरिएको छ । त्यसो त ऋतुस्नान गरेकी स्त्रीले इच्छा गरेको बेला वीर्यदान नगर्ने व्यक्तिलाई ठूलो पाप लाग्ने कुरा पनि शास्त्रहरूमा वर्णित छ । वैखानस गृह्यसूत्रमा नै यथाविधि सन्तानोत्पादनका दृष्टिले गरिने गर्भाधान संस्कारलाई अर्को दोश्रो संस्कारका रूपमा गणना गरिएको छ ।

वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्रमा चाहिं विवाहको अङ्ग मानिने चतुर्थी–होम–संस्कार गरेपछि सोही रातमा यथाविधि गरिने गर्भाधान संस्कार दुवैको मञ्जुरीमा गर्नका लागि अनुमति दिइएको छ । कारणवश कन्याको सानो उमेरमा विवाह भएको भए दुवै जना तीन वर्ष ब्रह्मचर्यमा बस्ने र कन्या सोह्र वर्ष पुगेपछि ऋतुस्नाताका साथमा मात्र गर्भाधानका निमित्त सहवासको अधिकार ऋग्वेदको सूक्त ‘युवा ह युवत्या क्षेत्ति योनिषु’ को सिद्धान्तका आधारमा धर्मसूत्रहरूले दिएका छन् । पुरुषको हकमा भने आयुर्वेदको बृहन्निघण्टुरत्नाकरमा बीस वर्षसम्म ब्रह्मचर्यमा रही एक्काइस वर्ष पुगेको युवालाई मात्र सहवासको अधिकार दिइएको छ ।

विवाह गरिदिने अभिभावकहरू नभएमा त कन्यालाई ऋतु हुन लागेको तीन वर्ष पूरा भएपछि मात्र सहवासका लागि जीवनसाथी रोज्न पाउने अधिकार धर्मसूत्रहरूले दिएका छन् । त्यसभन्दा पूर्व सन्तानोत्पादनका लागि सहवास गर्ने अधिकार धर्म–विज्ञान, आयुर्विज्ञान र कामविज्ञानले पनि दिएको छैन । छोटकरीमा भन्नुपर्दा बालातरुणी अर्थात् १२ देखि १५ वर्षकी युवती र बालातरुण अर्थात् १६ देखि २० वर्षसम्मको युवकलाई धर्मसूत्रहरूले गर्भाधानका लागि अधिकार दिएका छैनन् । सुश्रुतले नारीको मासिक रजको मुख्यकाल १२ वर्षदेखि ५० वर्षसम्मलाई मानेका छन् । १६ वर्षदेखि ५० वर्षसम्मकी नारीलाई उनले तरुणीको संज्ञा दिएका छन् ।

३. कस्तो अवस्थामा कुन गर्भ रहन्छ ?
पृथ्वी, अन्तरिक्ष र द्युलोकसम्बद्ध दैवी, आध्यात्मिक र भौतिक वातावरण अनुकूल रही ग्रह, नक्षत्र र लग्न राम्रो भएको; बस्ने घर, कोठा र सुत्ने बिछ्यौनासमेत सेतोले सुसज्जित भएको; पलङलाई सेतो चाँदीले मोडिएको; सेता सुगन्धित पुष्पमाला र श्रीखण्ड चन्दनको बास्ना चलेको; पञ्चपल्लव, पञ्चरत्न, पञ्चामृत, सर्वौषधि, कुश र दुबोसमेत राखेको कलश जलले अभिषेक गरिएको; शुद्ध गाईको घिउमा मधुरो बत्ती बलिरहेको; अष्ट सुगन्धको बास्नाले सारा वातावरण मगमग भएको; वरिपरिको वातावरण स्वच्छ र सुमधुर भएको; सेता साँढे, सेता घोडा, सेतो सस्र्यूँ र दहीसमेत नजिकै राखिएको; सेता भाले परेवाले हावा दिइरहेको; सुसन्तति गराउने कामराग, सामसङ्गीत र स्वस्तिवाचनको क्यासेट सुमधुर स्वरमा गुञ्जिरहेको; दुवै दम्पतिको मन प्रसन्न भएको; उल्कापात, ग्रहण, श्राद्ध, पर्वदिन (औंसी, सङ्क्रान्ति) नपरेको; शुभरात्रिमा वैदिक मन्त्रद्वारा बाह्यरति (स्पर्श, चुम्बन र मर्दन आदि) पूरा गरेर चन्द्रअनुकूल हुने गरी मुस्कुराएकी धर्मपत्नीसँग मुस्कुराएको युवाले गर्भाधान गर्दा चाहेजस्तै, भनेजस्तै र खोजेजस्तै सुसन्तति जन्मिने गर्भ रहन्छ भन्ने ठम्याइ धर्म–विज्ञान, आयुर्विज्ञान र ज्योतिर्विज्ञानको रहेको छ ।

ऋतुस्नाताले सहवास गर्दा डराई आँखा चिम्लेमा धृतराष्ट्रजस्तो नेत्रहीन, डराएर फुस्रो अनुहार लगाएमा पाण्डुजस्तो रोगी र प्रसन्न मुद्रा भएमा विदुरजस्तो ज्ञानी सन्तान जन्मिन्छ भन्ने कुरा महाभारतबाट स्पष्ट हुन्छ । जबर्जस्ती अनैच्छिक करणी, अत्यन्त अप्रसन्न अवस्थामा गरिने सम्भोग र भँगेराको जस्तो यौनक्रीडाबाट रोगी, अन्ध, अपाङ्ग र क्षीण मस्तिष्क भएका नपुङ्सक सन्तति पनि जन्मिन सक्छन् ।

४. सहवासका लागि कस्तो स्थान, आसन र समय उत्तम हो ?
सहवासका लागि एकान्त, शान्त र वरिपरि सुमधुर वातावरण भएको; बेली–चमेली–पारिजातका सुगन्धित पुष्पबगैचा भएको; सम्भव भएमा सुन्दर पोखरी र झरनासमेत भएको; वरिपरि बस्ने कुर्सी, टेबुल, घर र कोठासमेत सेतो कमेरे रङ्गले पोतिएको; तन्ना, तकिया र सिरकसमेत सेतै रहेको; वर र वधूले समेत श्रीखण्ड चन्दन वा अत्तर आदि सुगन्धित द्रव्य लेपन गरेको अत्यन्त मनोरम स्थान र वातावरण हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । यस्तो वातावरणमा पुरष र स्त्रीको कामेच्छालाई अझ बढाउने वा उद्दीपन गर्ने शक्ति हुन्छ ।

माथि बताइएको वातावरणमध्ये जे–जस्तो सम्भव हुन्छ, अधिकांश कुरा जुटेको परिवेशमा स्त्री उत्तानो आसनमा पल्टिनुपर्छ । त्यतिखेर हाँसो–ठट्टा र मजाकहरू गर्दै दुवै जना अत्यन्त प्रसन्न र हाँसिरहेको मुद्रामा हुनुपर्छ । खाना खाँदाबित्तिकै सम्भोगक्रिया गर्नु हुँदैन । पाचनयन्त्रले खाद्यपदार्थ पाचन गरी रसरक्तमा परिणत गर्ने सन्दर्भमा पुरुष शुक्रकीट प्रबल हुने रातको तेश्रो प्रहरमा ऋतु भएको सात दिनपछिको रज र पाठेघर शुद्ध भएको समयमा दुवैले बाह्यरति पूरा गरी कृष्णजस्तो छोरो जन्माउने मन भए कृष्णको स्वरूपलाई मनमा साकार पारेर, विष्णु वा राम भगवानजस्तो छोरो जन्माउने मन भए विष्णु वा राम भगवान्लाई झल्झली सम्झेर अनि शिवजीजस्तो छोरो जन्माउने इच्छा भए शिवजीको स्वरूप हृदयमा धारण गरेर वा अन्य कुनै प्रिय–प्रतीक सम्झेर गर्भाधान गर्नु ज्यादै राम्रो हुन्छ भनी धर्मविज्ञान, आयुर्विज्ञान र कामविज्ञानसम्बद्ध ग्रन्थमा प्रकाश पारिएको छ । मनुले चाहिं ऋतुस्नानको सोह्रौं रात्रिमा प्रसन्न मन भएका दम्पतिले गर्भाधान गर्नाले कुलदीपक छोरो जन्मन्छ भनेका छन् । अतः रज, पाठेघर र स्त्रीडिम्ब राम्रो हुने शुभ समयमा सहवास गर्नु उचित हुन्छ ।

५. छोरा र छोरी जन्माउने तरिका र विधि के हो ?

(क) छोरो जन्माउने विधि
छोरो जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमा; बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमा; ऋतुस्नान गरेको दिनबाट जोर रात (४, ६, ८, १०, १२, १४, १६) मा; पुंसज्ञक तिथिको रातमा; पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–नवमांशमा; पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमा; शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमा; आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको बेलामा; लग्नको चारौं, सातौं दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमा; पुंग्रहहरूले देखेको लग्नमा; बिजोर राशिमा चन्द्रमा रहेको बेलामा; ऋतुस्नानका उत्तरार्धका समरात्रिमा गर्भाधान गर्दा छोरो जन्मिन्छ (मु.चि. सं.प्र. श्लोक ७, पीयूषधारी टीका पृ. २३०) ।

बिजोर राशिको वर्ग पाँचौँमा रहेको र शुक्रलाई चन्द्रमाले नदेखेको मुहूर्तमा गर्भाधान गर्दा पनि छोरो नै हुन्छ (बृहज्जातक निषेका. अ. श्लो १–२२) । केन्द्रमा र त्रिकोण (९, ५) मा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा राहु, केतु, शनि र मङ्गल बसेको बखतमा जोर रातमा गर्भाधान गर्दा पनि छोरो हुन्छ (ज्योतिःसार, मु. प्र. श्लो. १९५) ।

मङ्गलको लग्न नवमांशमा वा स्त्री पुरुषको मूल र अन्तर्दशा मङ्गलकै भएको मौकामा गर्भाधान गर्दा पनि छोरो हुन्छ । फेरि लग्नबाट वा चन्द्रमा बसेको स्थानबाट पाँचौं भाव शुभग्रह वा आफ्नै स्वामीले युक्त वा दृष्ट अवस्थामा छोरा हुन्छ (त्रि. ज. कु. द., श्लो. १०, पृ. २१३) । शनि लग्नबाट ३, ५, ७, ९ र ११ स्थानमध्ये कुनै एकमा रहेको बखतमा छोरो हुन्छ (बृहज्जा. निषेका. ४, श्लो. १२) ।

लग्नस्थानमा सूर्यचन्द्र पापग्रहयुक्त नभएमा, सातौं स्थानमा राहु–केतु–शनि नभएको बखतमा, आठौं स्थानमा मङ्गल र चौथो स्थानमा पनि पापग्रहहरू नभएको लग्न र लग्नबाट ४, ५, ७, ९ र १० स्थानमा शुभग्रह रहेको अनि ३, ६ र ११ औं भावमा चाहिं पापग्रह बसेको मुहूर्तमा शुभतिथि र शुभनक्षत्रमा सम रातमा गर्भाधान गर्दा छोरा हुन्छ (मुहूर्त चिन्तामणि, संज्ञाप्रकरण) ।

गर्भशास्त्रका एक जना अमेरिकी विशेषज्ञले ऋतुस्नानका उत्तरार्धका आठ रात छोराका लागि उपयुक्त हुन्छन् भनेका छन् । दिनमा सहवास गरियो भने सूर्यकिरणको प्रभावबाट उग्र स्वभावको, बेलुका सन्ध्यामा हिरण्यकशिपुजस्तो, ऋतुस्नानको चौथो दिनमा शूरवीर भए तापनि अभिमन्युजस्तो अल्पायुको हुने धर्मविज्ञानको धारणा रहेको छ । सूर्यचन्द्र समरेखामा रहने पर्व दिन, ग्रहण, उल्कापात र वज्र खसेको समय पनि गर्भाधानका लागि अनुचित हुन्छन् । ऋतुस्नाताद्वारा ऋतुकालीन नेत्रज्योतिबाट आत्मसात् गरिएका यावत् वस्तुहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा त्यस समयमा सच्चित्र, सत् शास्त्र, सद् गुरु र सत् सङ्गीतमात्र ग्रहण हुने स्थानमा रहनु राम्रो हुन्छ ।

कतिपय बुहारीहरू गर्भाधानका समयमा अत्यन्त कर्कश सासूको गाली सुन्न वा अत्यन्त रुखो वातावरणमा रहन बाध्य हुन्छन् र उनीहरूले त्यस समयमा भोगेका वा सुनेका वाक्यहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा जन्मेका सन्तान पनि त्यस्तै कर्कश र रुखा हुन जान्छन् । त्यसैले राम्रा सन्तान जन्माउन चाहनेले घरको वातावरण कर्कश, रुखो र अनेकौं बहाना गरेर बुहारीलाई सताउने खालको छ भने त्यस ठाउँबाट अन्यत्रै राम्रो ठाउँमा बस्नु उचित हुन्छ ।

(ख) छोरो जन्माउनका लागि केही व्रत, यज्ञ र शास्त्रीय औषधिहरू
छोरो जन्माउन विभिन्न यज्ञ र व्रतहरूको विधान पनि शास्त्रमा गरिएको पाइन्छ । त्यस्ता यज्ञहरूमा पुत्र्येष्टि यज्ञ (अ.रा.बा.का. ३।१–१८), मरुस्तोम र मित्रावरुण याग (तैत्तिरीय संहिता २।२।५), पुत्रमन्थ (शतपथ ब्राह्मण १४।५।५।१), षष्ठीदेवी उपासना (देवीभागवत ९। ४६। ६९–७२), हरिवंश श्रवण (श्रीमद्भागवत ६ ।१४। १०।३०) आदि प्रमुख छन् ।

सुसन्तति गराउनका लागि ऋतुस्नानपछि सूर्यदर्शन, सिद्ध महात्माको दर्शन, सेता घोडा र साँढेको अवलोकन, सात दिन ब्रह्मचर्यमा रही सेती गाईको दूधमा चाँदी वा काँसको भाँडामा मह–घिउ राखेको जौको सातु वा परिकार घोलेर पिउने र सायं प्रातः दूधभात सेवन गर्नुपर्ने साथै सेतो घर, कोठा र शैयामा सम रातमा चाँदीका पाउजेब लगाएर गर्भाधान गर्दा राम्रो गुण भएको छोरा हुन्छ भन्ने चरकको मत छ । पुरुषले पनि एक महिना पूर्वबाट नै ब्रह्मचर्यमा रही आयुर्वेदिक औषधि खानुपर्ने नियम छ । त्यस्ता औषधिमा शुद्ध च्यवनप्राश, नरसिंह चूर्ण, अश्वगन्धा, यार्सागुम्बा, पाँचऔंले, केसर, गाईभैंसीको दूध, घिउ, नौनी, दही, मह, घिउमा तारेर सिधेनून राखेको बोकाको अण्डकोष र पुष्टकारी आदि मुख्य छन् ।
(ग) छोरी जन्माउने तरिका

रजस्नानबाट बिजोर रात (५,७, ९, ११, १३, १५) मा; स्त्रीसंज्ञक बार अर्थात् शुक्रबार र सोमबारमा; स्त्रीसंज्ञक लग्न अर्थात् वृष, कन्या, वृश्चिक, मकर र मीन लग्नमा; स्त्रीसंज्ञक नक्षत्रहरूमा; जन्मनक्षत्रबाट साताँै नक्षत्रका साथै मूल, भरणी, अश्विनी, रेवती र मघा नक्षत्रलाई समेत छाडेर; ग्रहण–दिन, व्यतिपात र महापातयोग एवं वैधृति योग छाडेर; बाबुआमाको श्राद्धको दिन, जन्मनक्षत्र, जन्मलग्नबाट आठौं लग्न र पापग्रह रहेका नक्षत्र एवं लग्न नपर्ने गरी लग्नबाट पाँचौं भावमा चन्द्रमाको षड्वर्गमा शुक्र रहेका बखतमा; पाँचौ स्थानमा रहेको शुक्रलाई चन्द्रमाले देखेमा वा त्यहीँ बसेको मुहूर्तमा गर्भाधान गर्नाले सर्वथा छोरी नै हुन्छिन् (बृहद्यवनजातक, अ.१, श्लो.११) । त्यस्तै शुक्र र चन्द्रमाको लग्न नवमांशमा पनि छोरी नै हुन्छे (बृहज्जातक निषेकाध्याय ४। १२) । छोरी जन्माउने पद्धतिलाई अथर्ववेदमा ‘स्त्रैषूय’ को संज्ञा दिइएको छ । यससम्बन्धी विस्तृत विवरण शौनक चतुराध्यायी अध्याय २, खण्ड ८८ र अध्याय ४, खण्ड ८३ मा छ ।

एक अमेरिकी सन्ततिविशेषज्ञले ऋतुस्नानका आद्य चार रात (५,६,७,९) छोरी गराउन सहयोगी हुन्छन् भनी लेखेका छन् । ऋतुस्नाताले चारौं दिनदेखि सम्भव भएमा शुक्रबार र सोमबार पारेर लक्ष्मणा, सहदेवा, श्वेतबृहती, वरको कोपिला वा वरको दारीका टुप्पाहरूमध्ये कुनै एउटा औषधी कुटेर कपटछान गरी पिचकारीद्वारा देब्रे नाकको पोराबाट गर्भ नहुँदा र गर्भ भइसकेपछि पनि दुई महिनासम्म सुस्तरी एक थोपा राख्ने गर्नाले छोरी हुन्छे भनी सुश्रुतमा प्रकाश पारिएको छ । सोही रस त्यसरी नै दाहिने नाकको पोराबाट राख्ने गर्नाले चाहिं छोरा हुन्छ भनिएको छ ।
(घ) नेपालको जनगणनाअनुसार नारीको सङ्ख्या अधिक हुनुको कारण र अन्ध, अपाङ्ग वा रोगी सन्तान हुनुको कारण

यद्यपि नारी वा पुरुष जसको सङ्ख्या बढी भए पनि राष्ट्र र समाजलाई खासै फरक नपर्ला । तर पनि पुरुषको सङ्ख्या कम र नारीको सङ्ख्या बढी हुनुको कारण के होला भन्ने स्वाभाविक जिज्ञासा मानिसहरूमा पैदा हुन सक्छ । यहाँ त्यसैका बारेमा केही बताउन खोजिएको छ । युवतीहरूले प्रायः चुइगम, चकलेटजस्ता वस्तुहरू ऋतुकालमा बढी सेवन गर्नाले र युवाहरूले प्रायः चुरोट, बिंडी, सुर्ती, खैनी, पानपराग, जर्दा र चिया–कफी एवं गुणस्तरहीन मद्यपदार्थको अम्मल गर्नाले साथै अखाद्य वस्तु मिसिएको, विषको प्रभाव भएको भोजनबाट पुंबीज (वीर्य) कमजोर हुन्छ र रेत (अर्थात् स्त्री रज) बढी तरल हुन जान्छ । यस्तो अवस्थामा नारीको रजकीट प्रबल एवं रजको आधिक्य हुने हुँदा विशेष गरेर छोरीहरूको जन्म हुन्छ । यही नै नारी जनसङ्ख्या बढ्नुको मूल कारण हो ।

त्यस्तै धर्मविज्ञान र आयुर्विज्ञानले तोकेका वा बाजीकरण गराउने औषधी एवं खाद्यपदार्थहरू पुरुषले सेवन नगर्नु र मासिक, पाक्षिक, साप्ताहिक एवं त्रिदिवसीय एक पटक मात्र सहवास गर्न पाउने आयुर्वेदिक अधिकारलाई समेत बेवास्ता गर्नाले अन्ध, अपाङ्ग र क्षीण मस्तिष्क भएका रोगी सन्तान हुन गएका हुन् भन्न सकिन्छ । पत्नीकै साथमा हुने अनैच्छिक सहवासबाट पनि त्यस्ता सन्तान जन्मिन सक्छन् भन्ने देखिन्छ । लग्न नवमांशमा वा लग्नकुण्डलीको स्थानमध्ये तनु, धन, सन्तान, भाग्य आदि स्थानमा अन्ध, अपाङ्ग, क्षीण मस्तिष्क गराउने गरी ग्रहहरू रहन गएको अवस्था र युद्ध बमवारीको समाचार सुनेको वा घटना देखेको बेला गर्भ रहनाले पनि त्यस्ता सन्तान हुन सक्तछन् ।

त्यस्तै गर्भ रहेदेखि आठ महिनासम्म गर्भको शिशुलाई हानि पुर्‍याउने खाद्य पदार्थ सेवन गर्दा र चोटपटक लाग्दा, नराम्रा उल्कापात र ग्रहणको अवलोकनबाट, चट्याङको आवाजजस्ता कुराहरूबाट पनि गर्भस्थ शिशुमा नराम्रो प्रभाव पर्न गई रोगी, अपाङ्ग, क्षीण मस्तिष्कको सन्तान हुन सक्दछ । अतः दुवै दम्पति सावधान भएर आपसी सहमतिमा प्रसन्न मुद्रामा सुसमयमा गर्भाधान गरी नौ महिनासम्म मातृशिशु कल्याणका लागि तोकिएका औषधी सेवन गरी राम्रो दक्ष विशेषज्ञबाट प्रजनन गराउनु पर्दछ । पाँच वर्षसम्म शिशुलाई दिनुपर्ने खोप, आहारविहार पनि सन्तुलित हुनु पर्दछ ।
(ङ) सन्तानको आकार–प्रकार सम्बन्धमा

मातृज, पितृज, आहारज र आत्मकर्मज महाभूतहरूमध्ये जसको आधिक्य हुन्छ, तदनुकूलको गर्भ एवं सन्तान हुन जान्छ भन्ने सुश्रुतको वैज्ञानिक भनाइ पनि यहाँ लागू हुन पुग्दछ ।

(च) गर्भाधानको विशेषता
गर्भाधान संस्कारको मुहूर्तकै आधारमा जीवात्माको पूर्वजन्म, परजन्म र वर्तमान जन्मका आयु कर्म, धन, विद्या र मरण निश्चित हुनसक्ने ज्योतिर्विज्ञानको अवधारणा रहेको हुँदा र स्वयं ब्रह्मतत्व नै सो मार्गमा जीवात्मा रूपबाट प्रवेश गर्ने र मानव सोही रूपमा प्रवेश गरी सन्तानका रूपमा अमर बन्ने अवधारणा हिन्दू संस्कृतिको रहेकाले पनि श्रुति, स्मृति, सूत्र, पुराण, आयुर्वेद, तन्त्र र कामशास्त्रले समेत गर्भाधान संस्काररूपी महायज्ञलाई तीन लोकको र तीनै किसिमको वातावरणलाई अनुकूल गराउने विशेष पद्धतिद्वारा सुसम्पन्न गर्ने नियम राखेको देखिन्छ । अन्य संस्कृतिमा चाहिं यस्तो सूक्ष्म वैज्ञानिक चिन्तन लागु भएको भेटिँदैन । यो हिन्दू संस्कृतिका अनुयायीहरूले गौरव गर्ने विषय हो ।
(छ) उपसंहार

सृष्टि संरचनाको सूक्ष्मताको धरातलमा स्त्री र पुरुषको आयु एवं शारीरिक र मानसिक अवस्थाको समेत विश्लेषण गरी दम्पतिले सांसारिक रंगमञ्चमा खेल्नुपर्ने वैज्ञानिक र व्यावहारिक भूमिकालाई विवाह र गर्भाधानका पृष्ठभूमिमा राम्रोसँग केलाइएको छ । जुन प्रकारको धर्मविज्ञान, ग्रहवातावरणीय विज्ञान, कामकलाविज्ञान, समाजविज्ञानका दृष्टिबाट मात्र महत्वपूर्ण नभई वैदिकदर्शन, सांख्यदर्शन, शक्ति र शिवको योजनद्वारा गरिने सृष्टिखेलको पौराणिक र तान्त्रिक दर्शनका दृष्टिबाट समेत उत्तिकै महत्व रहिआएको वस्तुतथ्य विवाह र गर्भाधान संस्कारको विश्लेषणबाट छर्लङ्ग हुन्छ । दम्पतिले सेवन गर्ने वस्तुहरू र त्यसबाट बन्ने बीज र उक्त बीजलाई योनिरूप अग्निकुण्डमा आहुति गर्दाको समय र त्यसले पार्ने प्रभाव, गर्भस्थ शिशुमा दश महिनासम्म गरिने दशकर्मको आशय र प्रजनन् गर्दाको मुहूर्त एवं सोका आधारमा निर्धारण गरिने भविष्य हिन्दू संस्कृतिको आफ्नै विशेषता हो भन्न सकिन्छ ।

(ज) सुझाव
पुंसन्ततिकारक (छोरो गराउने) रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) बनाउनु पर्दछ ।
छोरी गराउने रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) गराउनु पर्दछ ।
सन्तान नहुनेलाई सन्तान हुने गरी रात्रिक्यालेण्डर (रात्रिको घण्टा, बजे, मिनेटका आधारमा) गराउनु पर्दछ ।
छोरा गराउने रात र छोरी गराउने रातको सूची जानकारी गराउनु पर्दछ ।
छोराछोरीमध्ये चाहेको सन्तान गराउने र सन्तान नगराउने समेत धर्मविज्ञान, आयुर्विज्ञान र कामशास्त्रमा बताइएका औषधिहरूको सूची बनाएर प्रयोग परीक्षण गरिनुपर्छ ।

चाइनाले १२६३ ई. मा १८ वर्षदेखिका दश हजार गर्भिणी महिलाहरूको जन्ममिति, महिना, दिन र गर्भ रहेको महिना एवं त्यसको आधार लिँदै जन्मेका छोरा र छोरीको प्रतिशतका आधारमा बनाएको र ९९ प्रतिशत सफल भएको भनी दाबी गरेको क्यालेण्डरजस्तै नेपालको हावापानीअनुरूपको क्यालेण्डर नेपालमा बनाउनका लागि प्रसूतिगृहमा भर्ना गरिने महिलाहरूको प्रतिशत गणना गरी १– २ वर्षभित्रमा तयार गरी गराई समाजमा प्रयोग परीक्षण गर्ने ।

फलित ज्योतिर्विद्बाट ज्योतिषसम्बद्ध उक्त क्यालेण्डर बनाउने ।

पूर्वोक्त सबै विद्या जानेको अनुसन्धाता र एक जना आयुर्वेद औषधिविद्बाट पूर्वोक्त औषधिमात्रा र सूची तयार पार्ने ।

चाइनिज क्यालेण्डरजस्तो क्यालेण्डर चाहिं प्रसूतिगृहबाट उक्त प्रतिशत लिएर तयार पार्नु उचित देखिन्छ ।

यी माथि उल्लेख गरिएका कार्यहरू गराउँदा जनसङ्ख्यालाई सन्तुलनमा राख्न र अनाहकमा छोरीको गर्भपात गराउने अपराधबाट राष्ट्रमुक्त हुनसमेत सहयोग पुग्छ भन्ने मेरो अवधारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *