धर्म र श्रध्दा

bed

(धर्म एक आस्था र विश्वास हो | धर्म र आस्था कुनैपनि समय फेरिन सक्छ | तर कुनैपनि धर्मले मानवजातिको अवहेलना र अवमूल्यन गर्दैन | अपितु, सबै धर्मले अनुशासन, मानवियता र नैतिकता नै सिकाई रहेको हुन्छ | यसै परिप्रेक्ष्यमा हिन्दु धर्मले गरेका केहि व्याख्याहरुको बारेमा प्रकाश पारिएको हरि पौडेलको लेख प्रस्तुत छ | त्यसो भनेर खसखस डट कम कुनैपनि धर्मको पक्ष पोषणको पक्षमा छ भन्नु गलत हुनेछ भन्ने स्पष्टोक्तिकस साथ यो लेख पेश गरेका छौं |)

नीति राम्रो हुँदैमा उन्नति हुने होइन| उन्नतिको लागि ईमान्दारी पूर्वक नीतिको पालन हुनु पर्छ| नीति बनाउन योग्यता चाहिने हो| नीतिको पालन गर्न ईमान्दारी चाहिने हो| “म श्रेष्ठ हूँ” अथवा “म मा योग्यता छ” सम्झनु आत्मविश्वास हो| तर “म नै श्रेष्ठ हूँ” अथवा “म मात्र योग्य छु” भन्नु त अहंकार हो| प्रत्त्येक धर्मले आफ्नो मात्र श्रेष्ठता बखान गर्छ “म श्रेष्ठ हूँ” भन्ने कुनै धर्म ग्रंथले भनेको देखिएन “म नै श्रेष्ठ हूँ” भन्ने मात्र देखिन्छ| पुरखौ देखि बाबु बाजेले मान्दै आएका धर्म कै पछि लाग्ने हो की आफ्नो गिदी पनि प्रयोग गर्ने ? धर्मको पालना गर्नु धर्म हो भन्ने बुझ्नु भन्दा धर्म के हो बुझ्दा सजिलो होला| धर्म नै कर्तब्य हो की, धर्मको पालना गर्नु कर्तब्य हो ? बिभिन्न प्रश्नहरु मस्तिष्कमा गुञ्जीरहन्छन् अनुत्तरित|

धर्मको ब्याख्या गर्दा मेरो हजूरामाले भन्नु भएको एउटा कथा याद आउँछ|

कुनै जमानामा केहि तीर्थयात्रीहरु गंगाबाट गंगाजल लियी महादेवलाई चडाऊन भनी गइरहेका थिए| महादेवको मंदिर मास्तिर पहाड़को चुचुरोमा थियो| मास्तिर बाटोमा जाँदा बाटैको छेउमा एउटा गधा प्यासले छटपटाएर मरणासन्न थियो| सबै तीर्थयात्रीहरु एक नजर त्यस जानवर तीर लगाउँदै “बिचारा कसैले यसलाई पानि खान देऊन, कठै मर्न पो लाग्यो” भन्दै बाटो लाग्थे| सबैले दया मात्र देखाए तर दया कसैले गरेनन| फेरि अर्को यात्रीले उही कुरा दोहरायो कि ” कोही पानी खान देऊ न हरे कठै मर्न लाग्यो ” भन्दा त्यसैबेला अर्को तीर्थयात्रीले जवाब दियो ” तपाईको लोटामा जल त छँदैछ त्यै दिनुस न त” भन्दा ” हुन्न यो त गंगाजल महादेवको लागि हो” भन्दै बिस्तार मास्तिर लागे कसैले त्यो मरणासन्न तिर्खाएको जनावरलाई पानी खान दिएनन्| तीर्थयात्रीहरुकै बीचमा एउटा डाँकू (हत्यारा) पनि गंगाजल लियी महादेवलाई चडाऊन भनी जाँदै थियो| जब उसले तिर्खाले मरणासन्न जनावरलाई देख्यो तब उ हात जोडेर मास्तिर मंदिर तर्फ फर्की “क्षमा गर्नु महादेव यो गंगाजल हजुरलाई भन्दा यस जनावरलाई बढ़ी आवस्यक पर्यो प्रभु” भन्दै उसले त्यस जनावरलाई गंगाजल पिउन दियी ज्यान बचायो| यहाँ बिचारणीय छ की धर्मात्मा को भयो त, ती तीर्थयात्री जो महादेवलाई गंगाजल चडाऊन ज्यादा महत्वपूर्ण सम्झे की गधाको ज्यान बचाउने डाँकू?

यस कथामा बिचार गर्दा धर्म भनेको वास्तबमा मानवीय कर्तब्य हो| समय र परिस्थिति अनुशार मानवले ब्यवहारिक हुनु पर्छ| दया देखाउनु भन्दा दया गर्नु महत्वपूर्ण हुन्छ| “कठै बिचरा मर्न लाग्यो” भनी दया देखाउनु भन्दा चाहिएको मद्दत तुरुन्त गर्नु महत्वपूर्ण हुन्छ|

अथर्व वेदमा “धर्म” को ब्याख्या यसरी गरेको पाइन्छ|

“सत्यं बृहद ॠतं उग्रं दीक्षा तपो ब्रह्म यज्ञः पृथिवीं धारयन्ति”

सत्य, ऋत, उग्र, दीक्षा, तप, ब्रह्म र यज्ञ धर्मका यही सातवटा स्तंभहरु छन| जसले सम्पूर्ण विश्वको सभ्य समाजलाई नियंत्रित र सुब्यवस्थित गर्दछ|

“धर्म” को उपरोक्त सात स्तंभहरुको वैज्ञानिक एवं प्रामाणिक व्याख्या यस प्रकार गरिएको छ|

1| “सत्य” – “देश” (स्थान), “काल” (समय,) र “पात्र” (व्यक्ति) लाई ध्यानमा राख्दै उचित कुरो बोल्नु, उचित कार्य गर्नु|

2| “ऋत” – अनुशासित भएर नियमित रूपले व्यक्तिगत, सामाजिक, व्यावसायिक कार्यहरुको उचित समयमा सही तरीकाले कार्यांवयन गर्नु|

3| “उग्र” – अर्थात समाजमा सुव्यवस्था राख्ने उद्देश्यले दुष्ट, अपराधी, आतंकवादीहरुलाई समुचित दण्ड दिन को लागि उग्र रूप धारण गर्नु|

4| “दीक्षा” – जीवनोपयोगी शस्त्र, शास्त्र, व्यवहार विज्ञान, प्राविधिक ज्ञान तथा व्यावसायिक शिक्षा एवं प्रशिक्षण द्वारा तथा “बारह प्रकारको मानवीय सद्गुण”, (धैर्य, दृढ निश्चय, स्व-अनुशासन, दया, क्षमा, प्रेम, परोपकार, विनम्रता, निर्भीकता, साहस, अध्यवसाय र विश्व बन्धुत्वको भावना) को विकास द्वारा सफल एवं सार्थक जीवन योग्य दक्ष व्यक्ति तैयार गर्नु|

5| “तप” – समस्त विध्न – बाधाहरुको सामना गर्दै पूरै मनोयोगले एकाग्रचित्त भएर निरंतर व्यावसायिक कार्य गर्दै रहनु|

6| “ब्रह्म” – प्रकृति विज्ञान एवं समाज विज्ञानको सम्यक ज्ञान प्राप्त गरि प्रकृतिको नियमानुसार आफ्नो आचरणलाई नियमित राख्दै “दस प्रकारको मानवीय दुर्गुण”, (ईर्ष्या, द्वेष, क्रोध, लोभ, मोह, पूर्वाग्रह, पक्षपात, भय, घृणा र अहंकार) देखि मुक्त भइ “पर्यावरण रक्षा“ तथा सबैलाई सामान्य “न्याय” एवं समाजको “सर्वतोमुखी पोषणीय सम्यक विकास” हेतु मानवताको सेवामा जीवनलाई समर्पण गर्नु|

7| “यज्ञ” – अर्थात यज्ञको चार अंगहरु, (मंत्रउच्चारण, हवन, बलि, र दान) को पालन गर्दै ईश्वरको आराधना, पूजा, स्तुति द्वारा स्वच्छ एवं चोखो ह्रदयबाट स्वयं आफै तथा आफ्नो परिवार, समाज, देश र समस्त विश्व कल्याणको प्रार्थना गर्नु|

यहाँ “मंत्रउच्चारण” को अर्थ हो – “परब्रह्म परमात्मा” ईश्वरको स्तुतिमा (प्रशंसामा) बनाइएको वैज्ञानिक रूपले छंदबद्ध शक्तिपूर्ण शब्दहरुको स्वच्छ ह्रदयबाट लयबद्ध उच्चारण द्वारा वातावरणमा “कल्याणकारी तरंग” उत्पन्न गर्नु|

यहाँ “हवन” को अर्थ हो – पवित्र दाउरा, तिल, घिउ, जड़ीबूटी आदि आगोमा अर्पण गरि स्थानीय रूपले पर्यावरण शुद्धीकरण गर्नु|

यहाँ “बलि” को अर्थ हो – ईश्वरको नाम लिएर पवित्र भावले मानवोपयोगी पशु –पक्षी तथा किरा फटेङ्रा इत्यादिहरुलाई स्नेहपूर्वक आफ्नो प्रिय भोजनको अंश समर्पित गर्नु, उदाहरणार्थ – “गोबलि, श्वानबलि, काकबलि, अश्वबलि एवं पिपीलिकादिबलि” (अर्थात आफ्नो प्रिय भोजनको अंश क्रमशः गाई, कुक्कुर, काग आदि पक्षीगण, घोड़ा तथा किरा फटेङ्राहरुलाई भोजनार्थ समर्पित गर्नु|

यहाँ “दान” को अर्थ हो – “सुपात्र ब्राह्मण” एवं “ऋषि” लाई आह्वान गरेर “ऋषि आश्रम” अर्थात निःशुल्क शिक्षाकेन्द्र, वैज्ञानिक शोध केन्द्र, चिकित्सा केन्द्र, कल्याणकारी संगठन आदिका संचालन हेतु उनीहरुलाई अधिकतम धनराशि तथा चल एवं अचल संपत्ति सादर समर्पित गर्नु|

यहाँ “ब्राह्मण” को अर्थ हो – शस्त्र एवं शास्त्रहरुको ज्ञाता, मानवीय दुर्गुणहरुबाट मुक्त भएर मानवताको सेवामा समर्पित ब्रह्मज्ञानी बुद्धिजीवी अर्थात शिक्षक, प्राध्यापक, न्यायविद, कानूनी सलाहकार, न्यायाधीश, डॉक्टर, वैज्ञानिक, दार्शनिक, कवि, लेखक, पुरोहित, सामाजिक कार्यकर्ता आदि|

यहाँ “ऋषि” को अर्थ हो – शिक्षाकेन्द्र, चिकित्सा केन्द्र, वैज्ञानिक शोध केन्द्रको अध्यक्ष “श्रेष्ठ वरिष्ठ ब्राह्मण|

वास्तवमा भन्ने हो भने धर्म के हो भन्ने प्रश्नमा धेरै बिरोधावास भएको देखिन्छ| कोही भन्छन जाति अनुशार छुट्याएको कर्म नै धर्म हो| कोही भन्छन प्रत्येक व्यक्तिको धर्म गुणवाचक हुनुपर्छ| अर्थात गुण नै धर्म हो भने कोही भन्छन संस्कार नै धर्म हो| अनि केहि विद्वानहरुको तर्क छ कि नीति-नियम सम्मत् आचरण नै धर्म हो, नैतिकता नै धर्म हो| धर्मको लागि हजारौं मानिसको हत्या हुन गएमा नीति अनुशार त्यसलाई धर्मयुद्ध भनिन्छ| तब यसलाई कसरी स्वीकार गर्ने की नीति वा नैतिकता नै धर्म हो भनी ?

धर्म एक रहस्य हो, संवेदना हो, संवाद हो र आत्माको खोज हो| म स्वयं को हो भनी खोज गर्नु नै धर्म हो| जब हामी धर्म भनी भन्छौ तब यो ध्वनीत हुन्छ कि केहि रहस्य छ वा कुनै शक्ति छ जसलाई जान्नु जरूरी छ| धर्म अनंत छ जसलाई अँध्यारोमा डुबकी लगाई खोजी गर्नु पर्ने रैछ| जन्म, मृत्यु र जीवनलाई जान्नु नै धर्म हो|

धर्मको मर्म

धर्मको रहस्यको बारेमा सबै आध्‍यात्मिक विद्वानहरुले आ-आफ्नो तरिकाले आत्मज्ञान प्राप्त गर्ने र नैतिक रूपले जीवन यापन गर्ने मार्ग बताएका थिए| वास्तवमा धर्मको अर्थ सत्य, अहिंसा, न्याय, प्रेम, व्यक्तिगत स्वतंत्रता र मुक्तिको मार्ग मानिन्छ| तर पाखण्डी गुरु भनाउँदाहरु, पादरी र र मुल्ला-मौलविहरुको भिडले धर्मको अर्थलाई अधर्मको अर्थ बनाएर राखिदिए|

आ-आफ्नो धर्म,संस्कृति र संप्रदायमा मानिसहरु यदि अन्धो भएका छन तपाई जति पनि सम्झाउने बुझाउने कोशिश गर्नु कि सबै धर्म,संस्कृति र संप्रदायले एउटै किसिमको शिक्षा दिने गर्छ कोही मान्ने होइनन् र एक अर्काको धर्म प्रति समझदारी गरिएको देखिदैन|

हिन्दू धर्ममा धर्मलाई एउटा जीवन धारण गर्ने, बुझ्ने र परिष्कृत गर्ने विधि भनिएको छ| धर्मलाई परिभाषित गर्नु उतिकै गाह्रो छ जत्ती ईश्वरलाई परिभाषित गर्नु| संसारको धेरै विचारकहरुले धर्मको बिषयमा अलग-अलग परिभाषाहरु दिई आफ्नो विचार प्रस्तुत गरेकाछन| यी सबै बिचारकहरुको बिचार हेर्दा वैदिक ऋषिहरुको विचार सबै भन्दा बढ़ी उपयुक्त देखिन्छ| वैदिक ऋषिहरुको विचार अनुशार सृष्टि र स्वयंको हित एवं विकासको लागि गरिने सबै कर्म धर्म हो|

धर्म के हो ? जब युधिष्ठिरले भीष्म पितामहसंग सोधे तब वहाले उत्तर दिनु भएको थियो कि जसले गर्दा अभ्युदय (लौकिक उन्नति) र नि:श्रेयस (पार लौकिक उन्नति अर्थात मोक्ष) सिद्ध हुन्छ त्यही धर्म हो| धर्म अधोगतिमा जान रोकदछ र जीवनको रक्षा गर्दछ| धर्मले नै समस्त प्रजालाई धारण गरेको छ| त्यसकारण जसबाट धारण र पोषण सिद्ध हुन्छ, त्यही धर्म हो|

जुन अहिंसा युक्त छ त्यही धर्म हो| भीष्म द्वारा धर्मको यस विश्लेषणको मंतव्य हो कि जसले गर्दा संतुलन हुन्छ त्यही धर्म हो| जब धर्म अशक्त हुन जान्छ तब अन्याय, अनीति, दुष्कर्म बढ्न थाल्छ र सज्जनहरुलाई कष्ट सहनु पर्दछ|

अलग-अलग विद्वानहरुले धर्मको अलग-अलग परिभाषा दिएकाछन| तर धेरै जसो परिभाषा अझै बिवादास्पद र विरोधाभाषले भरिपूर्ण छ|

विभिन्न विद्वानहरुको बिचारलाई केलाएर हेर्दा शारांसमा भन्ने हो भने मानवको मानवता नै धर्म हो भन्ने बुझिन्छ| यहाँ भीष्म पितामहले दिनु भएको उदाहरण राख्न चाहन्छु| ” जसले गर्दा अभ्युदय (लौकिक उन्नति) सिद्ध हुन्छ त्यही धर्म हो| धर्म अधोगतिमा जान रोकदछ र जीवनको रक्षा गर्दछ| धर्मले नै समस्त प्रजालाई धारण गरेको छ| त्यसकारण जसबाट धारण र पोषण सिद्ध हुन्छ, त्यही धर्म हो ”

यहाँ वैदिक ऋषिहरुको बिचार फेरि राख्न चाहन्छु|

“वैदिक ऋषिहरुको विचार अनुशार सृष्टि र स्वयंको हित एवं विकासको लागि गरिने सबै कर्म धर्म हो”

यी सबै विद्वान, ऋषि र ज्ञानीहरुको बिचारलाई केलाएर हेर्दा मानवमा हुनु पर्ने मानवीय गुणको चर्चा भएको भान हुन्छ त्यसकारण मानवता नै धर्म हो भन्दा अनुचित न होला|

तर जे होस धर्मको ब्याख्यालाई पछाडि सारी हेर्दा ती अन्तर्यामी जसले यो जीवन दियो जसले सोच बिचार गर्न सक्ने क्षमता दियो जस द्वारा यस प्राणी जगतको यस ब्रम्हाण्डको रचना भयो उस प्रति श्रध्दाले यो शिर निहुरिन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *