पुरुषोत्तम महिनामा पर्ने पद्मिनी एकादशीको व्रतकथा र महात्म्य

प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ। मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ। यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता छ। तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पनि भनिन्छ। यो एकादशी (Padmini Ekadashi) भगवानले अतीव प्रिय मान्नुहुन्छ। त्यसैले यस एकादशीको व्रत विधिपूर्वक सम्पादन गर्दा प्रत्येक जीव सीधै विष्णुलोक पुग्दछ भन्ने धार्मिक विश्वास छ। यस व्रतको विधिवत् पालनाबाट व्यक्तिले सबै प्रकारका यज्ञ, व्रत एवं तपश्चर्याको फल प्राप्त गर्दछ। यस व्रतको महात्म्यमा उल्लिखित कथा अनुसार भगवान् श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी र बलशाली राजा थिए। तिनका धेरैवटी रानीहरू थिए तर कुनै रानीबाट पनि यिनले सन्तान उत्पादन गर्न सकेका थिएनन्। सन्तानहीन भएकाले राजा र तिनका रानीहरू यावत् सुखसुविधाहरूका माझमा पनि दु:खी र सन्तप्त थिए। सन्तानप्राप्तिको मनोरथ पूर्ण गर्न ती राजा आफ्ना रानीलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे। हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन। बरु राजा दुब्लापातला र ख्याउटे बन्न पुगे। उनी यतिसम्म निर्बल भए कि रानीहरूको कामना पूर्ति गर्न समेत उनी असमर्थ झैं हुनपुगे। त्यसै जङ्गलमा नजिकै ऋषि अत्रिको आश्रम थियो। उनकी पत्नी अनुसूया सतीत्व, पवित्रता र आचरणमा तीनै लोकमा प्रसिद्ध थिइन्। राजा कृतवीर्यका रानीहरूले ऋषिपत्नी अनुसूयासँग आफ्ना आकाङ्क्षालाई बताउँदै सन्तानप्राप्तिको उपाय सुझाउन अनुरोध गरे। ठिक्क त्यतिबेला अधिकमास परेको थियो, गुरुआमा अनुसूयाले तिनलाई त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा सुझाईन् र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि बताईन्।

रानीहरूले पनि गुरुपत्नीले निर्देशन गरेबमोजिम पद्मिनी एकादशीको व्रत लिए। व्रतको सम्पादन पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो। रानीहरूले भगवानसित भने- प्रभु ! हजुर हामीसँग प्रसन्न हुनुहुन्छ भने हाम्रो सट्टामा हाम्रा पतिलाई वरदान र आशिक दिनुहवस्। भगवानले रानीहरूको अनुरोधलाई स्वीकार गर्दै राजासँग वरदान माग भन्नुभयो, राजा कृतवीर्यले पनि भगवानसँग बिन्ती गरे- हे प्रभो ! मेरी जेठी पत्नी (पट्टरानी)को कोखमा हजुरले मलाई यस्तो एउटा पुत्र प्रदान गर्नुहवस्, जो सर्वगुण सम्पन्न होस् र तीनै लोकमा आदरणीय तथा सम्मानित पनि होस्, अनि ऊ कसैसित पनि पराजित नहोस्। भगवानले पनि तथास्तु भन्नुभयो र त्यहाँबाट अन्तर्धान हुनुभयो। केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण गरिन् र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो, धेरै ओटी आमाहरूले निस्वार्थ भगवद्भक्ति गरी जन्मिएको हुँदा ऊ जन्मँदै सहस्रबाहु अर्थात् हज्जारवटा हातसहित जन्मिएको थियो। उसको व्यक्तित्व, ऐश्वर्य र पराक्रम तीनै लोकमा प्रसिद्ध भयो। उसको अन्त्यका निमित्त स्वयं भगवानले पर्शुराम अवतार लिनु परेको प्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ। कुनै समयमा कार्तवीर्यले रावणलाई पनि बन्दी बनाएको थियो भन्ने कथा छ।

पद्मिनी एकादशी व्रत विधान:

यस एकादशीको व्रतसम्पादन गर्ने नियम र विधान यस प्रकार छ :-
१) एकादशीका दिन स्नानादिबाट निवृत्त भएर भगवान् विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ।
२) निर्जला(सकेसम्म पानीसमेत नखाई) व्रतसम्पादन गर्नुपर्छ।
३) दिनभरि पुराणको अध्ययन, श्रवण र मनन गर्नुपर्दछ।
४) रात्रीकालमा पनि निर्जला व्रत लिनुपर्छ र भजनकीर्तनका साथमा जागरण गर्नुपर्दछ।
५) रात्रिकालमा प्रत्येक प्रहरमा क्रमशः दम्पतीसहित भगवान् नारायण र शङ्करको पूजा गर्नुपर्दछ।
६) प्रत्येक प्रहरमा भगवान् भिन्नभिन्न नैवेद्य र भेटी चढाउनु पर्दछ, जस्तै पहिलो प्रथम प्रहरमा श्रीफल(नरिवल), दोस्रो प्रहरमा बेल, तेस्रो प्रहरमा फर्सी र चौथो प्रहरमा मौसमी, जुनार वा सुन्तला र सुपाडी अर्पण गर्नुपर्दछ।
७) द्वादशीका दिन बिहानै भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराई सीधा, दक्षिणासहित विदा गर्नुपर्छ र त्यसपछि आफूस्वयंले भोजन ग्रहण गर्नुपर्दछ।
यसरी यस एकादशीको व्रतसम्पादन गर्नाले मनुष्यको जीवन सफल हुन्छ, उसले आजीवन सुख भोगेर अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *