बैबाहिक संस्कार

हिन्दु धर्ममा विवाह :-
हिन्दु धर्ममा विवाहलाई सोह्र संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार मानिन्छ । वि–वाह अर्थात् यसको शाब्दिक अर्थ विषेश रुपले उत्तरदायित्वको बहन गर्नु हुन आउँछ । पाणिग्रहण संस्कारलाई सामान्य रुपमा हिन्दु विवाह भनिन्छ । अन्य धर्ममा विवाह भनेको पति र पत्निका वीचमा एक किसिमको करार हुने गर्छ जसलाई विषेश परिस्थितिमा तोड्न पनि सकिन्छ तर हिन्दु विवाह पति र पत्नि वीच जन्म–जन्मान्तरको सम्बन्ध हुन्छ जसलाई कुनैपनि अवस्थामा तोड्न सकिन्न । अग्निको सातफेरा लिएर ध्रुवतारालाई साक्षी राखी दुई तन–मन तथा आत्मा एक पवित्र बन्धनमा बाँधिन्छन् । हिन्दु धर्ममा पति पत्निका वीच शारिरीक सम्बन्धभन्दा आत्मिक सम्बन्धलाई मान्यता दिईन्छ र यो सम्बन्धलाई अत्यन्तै पवित्र सम्बन्ध मानिएको छ ।
nepli bihe
हिन्दु मान्यताका अनुसार मानव जीवनका चार आश्रम बम्हचर्य आश्रम, गृहस्थ आश्रम, सन्यास आश्रम तथा वानप्रस्थ आश्रममा विभाजन गरिएको छ र गृहस्थ आश्रमको लागि पाणिग्रहण संस्कार अर्थात् विवाह नितान्त आवश्यक छ । हिन्दु विवाहमा शारिरिक सम्बन्ध केवल बंशवृद्धिको उद्देश्यकालागि मात्र हुन्छ । हिन्दु धर्ममा निम्नप्रकारका विवाहहरुको उल्लेख गरिएको छ ।
bi87
विवाहको प्रकार :-

१. ब्रह्म विवाह
दुवै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरका साथ कन्याको विवाह निश्चित गर्नुलाई ब्रम्ह विवाह भनिन्छ । सामान्यतः यो विवाहपछि कन्यालाई आभुषणयुक्त गरेर विदा गर्ने गरिन्छ । आजकलको एरेन्ज म्यारिज ब्रम्ह विवाहकै रुप हो ।

२. दैव विवाह
कुनै सेवा कार्य (विषेशतः धार्मिक अनुष्ठान) को मुल्यको रुपमा आफ्नो कन्यालाई दानको रुपमा दिनुलाई दैव विवाह भनिन्छ । अहिले यस्तो विवाहको चलन हटिसकेको छ ।

३. आर्श विवाह
कन्या पक्षलाई कन्याको मुल्य (सामान्यतः गौदान) दिएर कन्यासँग विवाह गर्ने चलनलाई आर्श विवाह भनिन्छ ।

४. प्रजापत्य विवाह
कन्याको सहमति विना उनको विवाह अभिजात्य वर्गको वरसँग गरिदिने विवाहलाई प्रजापत्य विवाह भनिन्छ ।
sidur
५. गंधर्व विवाह
परिवारको सहमति बिना वर र कन्या कुनै रितिरिवाजले आपसमा विवाह गर्ने पद्धतिलाई गन्धर्व विवाह भनिन्छ । प्राचिन समयमा दुष्यन्तले शकुन्तलाका साथ गन्धर्व विवाह गरेका थिए । उनकै पुत्र भरतको नामबाट नै हालको भारतवर्षको नाम भारत रहेको धार्मिक इतिहास छ । यसलाई आजकल प्रेम विवाह भनिन्छ ।

६. असुर विवाह
कन्यालाई आर्थिक रुपले खरिद गरी विवाह गर्नुलाई असुर विवाह भनिन्छ ।

७. राक्षस विवाह
कन्याको सहमति विना उनलाई अपहरण गरी जबरजस्ती विवाह गर्नुलाई राक्षस विवाह भनिन्छ । यस्ता विवाहहरु कहिलेकाँही हाम्रो समाजमा हुने गर्दछ ।

८. पैशाच विवाह
कन्याको मदहोशी (गहन निन्द्रा, नशा सेवन गराई, लठठ् बनाई, मानसिक दुर्बलता आदि) को लाभ उठाइ शारिरीक सम्बन्ध बनाउने र उसलाई विवाह गर्नुलाई पैशाच विवाह भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *