मलमास

मलमास के हो र कसरी पर्छ ?
मलमास एक महिनासम्म चल्नेछ । ज्योतिषशास्त्र अनुसार ३ वर्षको अन्तरालमा एक चान्द्र महिना बढी हुने हुनाले यसलाई अधिकमास भनिन्छ । अर्को यो महिनालाई पुरुषोत्तम नारायणले जिम्मा लिएकाले यसलाई पुरुषोत्तम मास पनि भनिन्छ ।

हाम्रो ज्योतिषीय मान्यता अनुसार सौर्यमास र चान्द्रमास गरेर दुई प्रकारका महिना चलिरहेका हुन्छन् । सौर्यमास गतेका आधारमा चल्छ भने यो ३० दिनको हुन्छ । चान्द्रमास पनि १५–१५ दिनका तिथि मिलेर ३० दिनको नै हुन्छ ।

मलमास पर्ने अवस्था

यिनै तिथिहरू चन्द्रमाको कलाको क्षय–वृद्धिका

आधारमा सिर्जना हुन्छ । एक चान्द्र महिनामा शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया १२ चान्द्र महिना र चौबीस पक्षहरू हुन्छन् । अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्र महिनाको संख्या १३ हुन्छ भने पक्षको संख्या पनि २६ हुन्छ ।
दिनका हिसाबले एक चान्द्र महिनामा लगभग साढे २९ दिन र एक चान्द्र वर्षमा ३५४ दिन हुन्छन् भने सौर्य वर्ष लगभग ३६५ दिनको हुन्छ । यो गणना अनुसार एक वर्षमा सौर्य र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्छ, दुई वर्षमा यो अन्तर २२ दिन पुग्छ भने तीन वर्षको अन्तरालमा ३३ दिनको अन्तर हुन्छ। यस्तो अवस्थामा तस्रो वर्षमा सौर्य मासको संख्या बाह्रै भए पनि चान्द्र मासको संख्या तेह्र हुने भयो । यही तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास परेको हो ।

यसका नाम
सधैभन्दा एक महिना बढी हुने भएकाले यसलाई अधिकमास भनिएको हो । अन्य महिनाका ३० तिथिमा संक्रान्ति पर्छ तर मलमासमा पर्दैन तसर्थ यो महिना अशुद्ध मानेर मलमास भनियो । अर्को, यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पौराणिक कथा अनुसार यो महिनालाई मलमास भनेर कसैले पनि मांगलिक कार्य गर्न नमान्ने र यो महिनालाई अशुद्ध रूपमा लिइयो । यस्तो अवस्थामा यो महिना दुखी भएर भगवान् नारायणकोमा पुग्यो र आफ्नो अपमान र पीडा बतायो । यस्तो अवस्थामा भगवान् नारायणले तिम्रो म जिम्मा लिन्छु भनेकाले यसको नाम पुरुषोत्तम मास पर्न गएको इतिहास पुराणमा वर्णन छ ।
पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नाे दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा के गर्न हुँदैन, के गर्न हुन्छ ?
यो महिनामा विवाह, व्रतबन्धजस्ता कर्मकाण्ड गर्नु वर्जित मानिएको छ भने विविध खालका यज्ञ पनि गर्नु राम्रो मानिन्न ।
यो महिनामा दैनिक गरिने नित्यकार्य गर्न हुन्छ । स्नान, दान, जप, ध्यान गर्न हुन्छ । त्यस्तै दैनिक गरिने शालिग्राम पूजा गर्न पनि निषेध छैन । योमहिनामा भागवत् पुराण श्रवण गर्नु उत्तम मानिन्छ भने पुरुषोत्तम महात्म्य श्रवण गर्नु शुभ मानिन्छ । यो महिनामा पुरुषोत्तमको व्रत पनि गरिन्छ । यो महिनाको अन्त्यमा काँसको कचौरामा राखेर मालपुवा दान गर्नु उत्तम र पुण्न्यप्रद कार्यका रूपमा लिइन्छ ।

मलमासमा गर्न नहुने

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ?

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *