भगवान तथा महाकवि वेदव्यासको जन्मभूमि ओझेलमा

Maharsi-bedbyas

तनहुँको दमौलीे पूर्वीय साहित्यका महाकवि वेदव्यासको जन्मभूमि हो । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भुमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरे । जुन विषय आज पनि पश्चिमा मुलकहरुका लागि समेत खोज र अनुसन्धानको विषय बनिरहेको छ । तर, यो महत्वपूर्ण भूमिको उचित प्रचार–प्रसार हुन नसक्दा ओझेल परिरहेको छ ।

तनहुँको दमौली भौगोलिक दुरीका हिसाबले राजधानीबाट १ सय किलोमिटर पश्चिम र पर्यटकीय नगरी पोखराबाट ५० किलोमिटर पूर्वमा छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौं आन्तरिक तथा वाह्य पर्यटकहरु यहि ठाउँबाट ओहोर–दोहोर गर्ने गर्दछन् । तर, यहाँ आउने पर्यटकहरुको संख्या भने अत्यन्त न्यून रहेको छ ।

महाकवि बेदब्यास जन्मभूमिमा दमौलीमा यतिबेला भने स्वदेश तथा छिमेकी देशका पर्यटकहरु आउने गरेका छन् । युरोप र अमेरिकाबाट समेत औंलाले गन्न सकिने संख्यामा पर्यटकहरु आउने गरेको पाइन्छ । तर, अवलोकन तथा अध्ययनका लागि नभएपनि, दर्शनका लागि भने सर्वसाधारणको ठूलो भीड लाग्ने गर्दछ । धार्मिक दृट्रिकोणले निकै महत्वपूर्ण रहेको यो क्षेत्रमा सरोकारवालाले ध्यान नपु¥याएकोमा भने स्थानीयवासीको गुनासो छ ।

सेती र मादीको संगम स्थलमा पराशर ऋषिले सत्यवतीलाई रितुदान दान दिदाँ भगवान वेदव्यासको जन्म भएको धर्मग्रन्थमा छ । किम्वदन्ती अनुसार सत्यवतीलाई रितुदान दिने बेलामा कसैले नदेखुन भनेर पराशर ऋषिले संसारमा पहिलो पटक कुहिरो उत्पति गरेको मानिन्छ । सोही मान्यता अनुसार पराशर ऋषिले सत्यवतीलाई रितुदान दिएको आसपासको क्षेत्रमा हिजो आज पनि प्रायजसो कुहिरो लाग्ने बिश्वास गरिन्छ । भगवान वेदव्यास जन्मने बित्तिकै नजिकैको गुफामा ध्यान बसेको जनविश्वास रहि आएको छ ।

जुन गुफालाई कालान्तरमा व्यास गुफा नामाकरण गरिएको थियो । त्यहि गुफामा बसेर भगवान वेदव्यासले महाभारत , चारवेद र अठार पुराणको रचना गरेका थिए ।धार्मिक तथा पर्यटकिय दृष्ट्रिकोणले पनि निकै चर्चित रहेको व्यास जन्मभूमिमा राज्यको ध्यान नपुगेको स्थानीयको भनाई छ । तर, पछिल्लो चरणमा राज्यको ध्यान नपुगेपनि स्थानीय धार्मिक संघ तथा नागरिक समाज विकासका लागि सक्रिय हुन थालेका छन् ।

पर्यटकको आकर्षक केन्द्रविन्दु बनाउन व्यास जन्मभूमि दमौलीमा वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति निर्माण गर्ने गुरुयोजना स्थानीयले अगाडि सारेका छन् । धार्मिक महत्वबारे जानकारी ६ महिनादेखि दिन १८ महिने अखण्ड किर्तन समेत जारी छ भने भगवान वेदव्यासको विषयबस्तुलाई समेटरे चलचित्र निर्माण गर्ने सोचमा समेत स्थानीय छन् । तर, सरकारले भगवान वेदव्यासको जन्मभूमिको प्रचार–प्रसार र विकास गरिदिए आफूहरुको कामलाई थप मद्धत पुग्ने आशा दमौलीबासीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *