योगिनी दशा परिचय

7

योगिनी भन्नाले सूर्यादि नवग्रहको मातृस्वरूप हो । यिनको सङ्ख्या आठवटा हुन्छ । तिनीहरू यस प्रकार छन् :– मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र सङ्कटा । नेपाली ज्योतिषीय परम्परामा योगिनीलाई ग्रहका पत्नीका रुपमा समेत व्याख्याविश्लेषण गरिएको पाइन्छ । उक्त विश्लेषणका आधारमा सूर्यकी पत्नी पिङ्गला, चन्द्रमाकी पत्नी मङ्गला, मङ्गलकी पत्नी भ्रामरी, बुधकी पत्नी भद्रिका, बृहस्पतिकी पत्नी धान्या, शुक्रकी पत्नी सिद्धा, शनिकी पत्नी उल्का तथा राहु र केतुकी संयुक्त पत्नी सङ्कटालाई लिने गरिएको पाइन्छ । योगिनीको महादशाको एउटा चक्र ३६ वर्षको हुन्छ । त्यसैले प्रत्येक ३६ वर्षको समयावधिपछि पुनः त्यही योगिनीको महादशा दोहोरिने गर्दछ । सामान्य उमेरसम्म बाँच्ने एउटा मनुष्यले लगभग ३ पटकसम्म एउटै योगिनीको महादशा भोग्नु पर्ने परिस्थिति पनि अाउन सक्दछ ।

योगिनीको गणना नक्षत्रका आधारमा हुने गर्दछ । व्यक्तिको जन्मकालको नक्षत्रका अाधारमा उसको सुरुको योगिनी के हो भनी निर्क्याैल गरिन्छ । सुरुको योगिनीको समय भुक्तान भएपछि क्रमशः अन्य योगिनीको समय सुरु हुने गर्दछ । जस्तै अश्विनी नक्षत्रमा जन्म लिने जातकले सुरुमा भ्रामरी योगिनीको समय भोग्नु पर्ने हुन्छ । अनि क्रमशः भद्रिका, उल्का, सिद्धा आदिको पालो आउँछ । सुरुमा कुन योगिनीको पालो छ भनेर पत्ता लगाउन जन्मनक्षत्रको सङ्ख्यामा ३ जोडेर ८ ले भाग गर्दा जुन अङ्क शेष आउँछ, त्यसै क्रमको योगिनीको पालो सबैभन्दा पहिले आउँछ । जस्तै ०१ शेष भए मङ्गला, ०२ शेष भए पिङ्गला आदि । प्रत्येक आठवटा नक्षत्रको अन्तरमा उही योगिनीको पालो दोहोरिन्छ । तलको तालिकामा योगिनीहरुको नामावली, अवधि र सम्बद्ध नक्षत्रको नामावली प्रस्तुत गरिएको छ :-

योगिनीको महादशाको नाम, महादशा अवधि र फलादेश तथा शान्ति उपाय

१) मङ्गला –

सद्धर्मे द्विजदेवगोपुरजनोत्कर्षप्रदात्री नृणां नानाभोगयशोऽर्थसन्नृपपराश्वेभाङ्गजाप्तिप्रदाः ।

सन्माङ्गल्यविभूषणाम्बरचयस्त्रीभोगसन्दायिनी ज्ञानानन्दकरी दशा भवति सा ज्ञेया सदा मङ्गला ॥

मङ्गल, माङ्गल्य र मङ्गलाको अर्थ शुभ हो । यस योगिनीको स्वामी ग्रह चन्द्रमा हो । सामान्यतया चन्द्रमाले प्रदान गर्ने फल यस योगिनीको पालोमा प्राप्त हुने गर्दछ । यस योगिनीको समयावधि जम्मा एक वर्षको हुन्छ । मङ्गलाको समयावधिमा मन पवित्र भर्इ धार्मिक र सांस्कृतिक क्रियाकलापमा रुचि बढ्छ । देवपूजन, सत्सङ्ग, धर्मचर्चा, कथापुराणको अध्ययन वा श्रवण आदि कर्ममा सहभागी भइन्छ । दैनिकीमा सुख, वैभव र सम्पन्नतामा बृद्धि हुन्छ । यस अवधिमा भोगविलास, सुखसुविधा, मानसम्मान र नवीन वस्त्राभूषणको प्राप्ति हुने गर्दछ । सामान्यतया घरपरिवारमा माङ्गलिक कार्य हुने समय पनि यही समय हो । विद्या, विनय र वैभवका साथै मित्रवर्ग एवं नातागोताको साथसहयोग प्राप्त हुन्छ । मन सदैव प्रसन्न रहने गर्दछ । सारांशमा यस योगिनीको महादशा कालमा निष्ठावान् पति वा पत्नी, सुशील, आज्ञाकारी र भाग्यशाली सन्तति, धनवैभव, शुभता, पूजाअर्चना वा प्रार्थनाद्वारा अरिष्ट निवारण, सुस्वास्थ्य, श्रेष्ठता, कल्याणकारी कर्मको आयोजना, पदप्रतिष्ठा, प्रताप, पराक्रम एवं विशेष सफलताको प्राप्ति हुन्छ । यसरी अामरूपमा मङ्गला योगिनी शुभकारक भए पनि चन्द्रमा, शनि र राहुकोे महादशा कालमा मङ्गला योगिनीको समय परेमा विपरीत फलप्राप्ति हुन्छ । उक्त परिस्थितिमा मनोव्यथा, धननाश, मुद्दामामिला आदि विकार भोग्नुपर्ने हुन्छ ।

२) पिङ्गला –

स्यात्पुंसां यदि पिङ्गला प्रसवतो हृद्रोगशोकप्रदा नानारोगकुसङ्गदेहमनसो व्याध्यर्दितार्तिप्रदा ।

तृष्णासृग्ज्वरपित्तशूलमलिनस्त्रीपुत्रभृत्याप्तसन्मानध्वंशकरी धनव्ययकरी सत्प्रेमहन्त्री खला ॥

पिङ्गला योगिनीको सम्बन्ध सूर्यसँग छ । जन्मकुण्डलीमा सूर्य ग्रहको भूमिका र फल जेजस्तो हुन्छ त्यही फल पिङ्गला योगिनीले पनि प्रदान गर्ने हो । यस योगिनीको समयावधि जम्मा दुई वर्षको हुन्छ । सूर्य ज्योतिषीय अवधारणामा एउटा क्रूर ग्रह हो । त्यसैले पिङ्गला योगिनीको महादशा कालमा पनि क्रूर र कष्टप्रद परिणाम प्राप्त हुने गर्दछ भन्ने मान्यता छ । तर ज्योतिषीहरूको अाम बुझाइमा पिङ्गला योगिनीले मिश्रित फल प्रदान गर्ने गरेको पाइन्छ । अग्निजन्य–दुर्घटना वा उष्णता, ठूलाबडा, हाकिम र मातापिताको सहानुभूति, सद्भाव र सहयोग प्राप्त हुनाले कार्यसिद्धि, लाटोकोसेरोको जस्तै सजगता, कुबेरसरहको धनप्राप्ति, भ्रमण र मनोरञ्जनात्मक क्रियाकलापमा रुचि, बन्दव्यापारबाट लाभ, पहेंलो पदार्थको कारोबारबाट लाभ र मानसिक सन्तुष्टि र प्रसन्नता, झगडा, विवाद र रोगव्याधिबाट उन्मुक्ति, प्रभावशाली महिलाको सहयोग वा समर्थनबाट कार्यसिद्धि, उदार भावना, परोपकारप्रति झुकाव, सत्ता वा अधिकारको प्राप्ति अादि राम्रानराम्रा फल यस समयमा प्राप्त हुने गर्दछ । सामान्यतया अन्य ग्रहकोे महादशा कालमा पिङ्गला योगिनीले शुभअशुभ मिश्रित परिणाम प्राप्त गरे पनि सूर्य, मङ्गल, शनि, राहु र केतुको महादशा कालमा भने पिङ्गला योगिनीसित डराउनु नै जायज हुन्छ ।

३) धान्या –

धान्या धन्यतमा धनागमसुखव्यापारभोगप्रदा पुंसां मानविवृद्धिदा रिपुगणप्रध्वंसिनी साैख्यदा ।

विद्याराजजनप्रबोधसुरतज्ञानाङ्कुरान्वर्द्धिनी सत्तीर्थामरसिद्धसेवनरतिर्लभ्या दशा भाग्यतः ॥

धान्या योगिनी बृहस्पति ग्रहसँग सम्बद्ध मानिन्छ । जन्मकुण्डलीमा बृहस्पति ग्रहले प्रदान गर्ने शुभअशुभ परिणाम नै धान्या योगिनीले पनि अाफ्नो समयावधिमा प्रदान गर्ने गर्दछ । यस योगिनीको समयावधि जम्मा तीन वर्षको हुन्छ । बृहस्पति ग्रहलाई सामान्यतया सौम्य ग्रहका रुपमा गणना गर्ने गरिन्छ । त्यसैले यस योगिनीको दशाकालमा पनि शुभफल पाइन्छ भन्ने मान्यता छ । धान्याको समयमा उन्नति, प्रगति, विकास, धनधान्य तथा सुखसम्मृद्धिमा बृद्धि, नाम, दाम र प्रतिष्ठाको प्राप्ति हुन्छ । बौद्धिक स्तरमा बृद्धि हुन्छ । नयाँ ज्ञान सिक्ने वा तालिम वा सेमिनारमा सहभागी हुने अवसर जुट्दछ । शत्रु र प्रतिस्पर्द्धीको पराजय हुन्छ । मनुष्य धार्मिक, आध्यात्मिक र पारम्परिक क्रियाकलापमा सहभागी हुने गर्दछ । इष्टदेवको उपासना र आराधनाबाट सिद्धि प्राप्त हुन्छ, तीर्थयात्रा, राज्यपक्षबाट मानसम्मान पाइन्छ, बन्दव्यापार वा रोजगारीको क्षेत्रमा बढोत्तरी हुन्छ । धान्या शब्दको अर्थ धनधान्य हुन्छ । त्यसैले यस समयमा भौतिक सम्पत्तिको जोरजम्मा पनि गर्न सकिन्छ । धान्याको पालोमा सुस्वास्थ्य, सम्मान, सद्गुण, स्नेह र परस्पर सहयोगमा बृद्धि अादि शुभफल प्राप्त भएको देखिन्छ । शुभकारक भए पनि बृहस्पति, शनि वा केतुको समयावधिमा धान्या योगिनीको समय अायो भने पित्त, कलेजो, फोक्सो, आन्द्रालगायत समग्र पाचनप्रणाली र मलद्वारको विकारलाई प्रदान गरी यस योगिनीले दुःख दिनसक्ने सम्भावना पनि हुन्छ ।

४) भ्रामरी –

दुर्गारण्यमहीधरोपगहनारामातपव्याकुला दूराद्दूरतरं भ्रमन्ति मृगवत्तृष्णाकुलाः सर्वतः ।

भूपालान्वयजा दशामधिगता ये वै नृपा भ्रामरीं स्वं राज्यं प्रविहाय ते स्फुटतरं क्ष्माधो लुठन्ते मुहुः ॥

मङ्गल ग्रहलार्इ भ्रामरी योगिनीको पति मानिन्छ । लग्नकुण्डलीमा मङ्गल ग्रहको भूमिका जेजस्तो हुन्छ, त्यस्तै फल यस योगिनीको पालोमा प्राप्त हुन्छ । यस योगिनीको समयावधि जम्मा चार वर्षको हुन्छ । ज्योतिषशास्त्रले मङ्गल ग्रहलाई पनि क्रूर र दुष्ट ग्रहका रुपमा मानेको छ, त्यसैले यस योगिनीको महादशा कालमा पनि अशुभ फलको वर्चस्व हुन्छ । निरर्थक भ्रमण र घुमघाम यस अवधिको विशेषता हो । मस्तिष्कमा अनावश्यक बोझ बढ्ने, मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुनाले कामकर्तव्य, बन्दव्यापार र व्यवसायमा मन्दी छाउने, अनावश्यक चिन्ता, शङ्का, छटपटी, तनाव र लफडामा सहभागी हुनुपर्ने, पदच्युत हुने, गरिआएको कामलाई परिवर्तन गर्न मन लाग्ने, नचाहेको ठाउँ र जिम्मेबारीलाई बाध्य भई ग्रहण गर्नु पर्ने फल भ्रामरीको पालोमा भोग्नुपर्छ । घरपरिवारको सुखमा कमी देखिए पनि साहस, हिम्मत र धैर्यतालाई ग्रहण गरी जुट्न सक्दा यस अवधिमा देशदेशान्तरको यात्रा गरी उल्लेख्य लाभ प्राप्त गर्न सकिन्छ । यद्यपि सूर्य, मङ्गल, शनि, राहु वा केतुको समयावधिमा भ्रामरीको दशाकाल जोडिएमा व्यक्तिले अत्यधिक नकारात्मक फल प्राप्त गर्ने सम्भावना हुन्छ, तर पनि यस योगिनीलार्इ पनि पूर्ण नकारात्मक मान्न सकिन्न, बरु यस अवधिमा मानसिक सन्तुलन र धैर्यलाई नगुमार्इ अघि बढेमा सफलता र सिद्धि प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ – जसरी भगवतीले भँवराहरुको सहयोग लिई दैत्य समुदायको नाश गरेकी थिईन्, त्यसरी नै भ्रामरीको समयमा जातकले शत्रुनाश गरी पद र प्रतिष्ठा बृद्धि गर्नसक्दछ । मङ्गल, शनि, राहु र केतुको महादशा वा शनि ग्रहको साढेसातीको अवधिसित भ्रामरीको महादशा जुधेको खण्डमा भने जातकले अत्यधिक नकारात्मक फल प्राप्त गरेको दृष्टान्त छ ।

५) भद्रिका –

साैहार्दं निजवर्गभूसुरसुरेशानां सुहृन्मान्यता माङ्गल्यं गृहमण्डलेऽखिलसुखव्यापारसक्तं मनः ।

राज्यं चित्रकपोलपालितिलकालिप्ताङ्गनाभिः समं क्रीडामोदभरो दशा भवति चेत् पुंसां हि भद्राभिधा ॥

भद्रिका वा भद्र शब्दको अर्थ कल्याण हो । भद्रिका योगिनीको स्वामी बुध ग्रह हो । जन्मकुण्डलीमा बुध ग्रहको भूमिका र फलबमोजिमको फल यस योगिनीको समयावधिमा पनि प्राप्त हुन्छ । यस योगिनीको समयावधि जम्मा पाँच वर्षको हुन्छ । ज्योतिषशास्त्रमा बुध ग्रहलाई सौम्य र शुभकारक ग्रह मान्ने गरिन्छ । त्यसैले यस योगिनीको महादशा कालमा पनि मनुष्यमा शुभताको बृद्धि हुन्छ । यस अवधिमा परिवारमा स्नेह, सौहार्द र सहयोगको भावना बढ्दछ । नयाँ जीवनशैली सुरु हुन्छ । नवीनतम मैत्रीसम्बन्ध कायम हुन्छ । सन्तमहन्त, महात्मा, धनीमानी, विद्वान्, सज्जन आदिसँग मित्रता वा सुमधुर सम्बन्ध कायम हुन्छ । उच्च पदमा रहेका व्यक्तिहरु, राजनेता वा ठूलाबडाबाट लाभ लिन सकिन्छ । घरमा धार्मिक र माङ्गलिक कर्महरु सम्पन्न हुन्छन् । व्यापारिक दक्षता र बौद्धिक क्षमतामा बृद्धि हुन्छ । आमोदप्रमोदमा समययापन हुन्छ । कुल, पितृ, सिद्ध, महात्मा र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद प्राप्त हुनाले समस्त मनोकाङ्क्षाहरु पूर्ण हुन्छन् । व्यक्ति स्वयं पनि यस अवधिमा स्वस्थ, गुणवान्, उदार, परोपकारी एवं अरुको सहायता गर्न तत्पर रहने गर्दछ । यी तमाम सद्गुण प्राप्त हुनाले उसको धन, मान र प्रतिष्ठाबृद्धिमा सघाउ पुग्छ । यसरी भद्रिकाको महादशा काल शुभ समय हो, तर पनि भद्रिका योगिनीको समयमा बुध वा केतुको महादशासमेत चलिरहेको अवसरमा भने भद्रिकाको प्रकृति क्रूर बन्न पुग्दछ । उक्त अवसरमा पति/पत्नीका बीचमा दूरी बढ्ने, परिवारमा विखण्डन हुने, पुराना मुद्दामामिला वा कुकर्मको परिणाम भोग्नुपर्ने, अंश, साँधसीमाना र साझेदारीमा विवाद भई अचल सम्पत्तिको बेचबिखन गर्नुपर्ने, पति वा पत्नीको स्वास्थ्यमा आकस्मिक रुपमा ठूलो क्षति पुग्ने र आमा वा मातृतुल्य नातेदारको देहावसान हुने जस्ता अत्यन्त नकारात्मक फलहरु प्राप्त भएको देखिन्छ ।

६) उल्का –

उल्का चेद्यदि योगिनी गुरुदशा मानार्थगोवाहनव्यापाराम्बरहारिणी नृपजनक्लेशप्रदा नित्यशः ।

भृत्यापत्यकलत्रवैरजननी रम्यापहन्त्री नृणां हृन्नेत्रोदरकर्णदन्तपदजो रोगः स्वदेहे भृशम् ॥

उल्का योगिनीको स्वामी ग्रह शनिश्चर हो । सामान्यतया कुण्डलीमा शनि ग्रहको भूमिका जेजस्तो हुन्छ र त्यसले प्रदान गर्ने फल जुन किसिमको रहन्छ, उल्का योगिनीको पालोमा पनि त्यस्तै फल पाउने आशा गर्न सकिन्छ । यस योगिनीको समयावधि जम्मा छ वर्षको हुन्छ । ज्योतिषशास्त्रमा शनि ग्रहलाई राम्रो ग्रहका रूपमा गणना गरिंदैन । उल्का शब्दको अर्थ आकाशबाट झर्ने अग्निपिण्ड भन्ने हुन्छ, जसको तुलना आधुनिक युगमा छिट्टो लक्ष्यमा प्रहार गर्न प्रयोग गरिने क्षेप्यास्त्रसँग गर्न सकिन्छ । उल्का योगिनीको दशाकालमा मनुष्यले धन, यश एवं वाहन सुखमा बाधा ब्यहोर्नु पर्छ । जातकका सन्तान र नोकरचाकरको स्वास्थ्यस्थितिमा विकार आउँछ वा तिनीहरूका कारणले अनेकानेक क्लेश र हन्डरठक्कर खानुपर्छ । कहिले प्रशासन वा अड्डाअदालतको झमेलामा फँस्नु पर्दछ भने कहिले घरपरिवारमा गम्भीर मतभेद र विरोध बढ्न भई तनावको सिर्जना हुन्छ । घरायसी सुखमा पूर्णतया कमी ल्याउने काम उल्का योगिनीले गर्दछ, त्यस्तै शारीरिक सुखमा पनि यसले निकै बाधा पुर्याउँदछ । छाती, मुटु (हृदय), पेट, दाँत, कान, तिघ्रा वा खुट्टामा पीडा हुन्छ, हड्डीमा असर पुग्ने गरी चोटपटक लाग्ने सम्भावना पनि हुन्छ । त्यसबाहेक उल्काको समयावधिमा प्राकृतिक विपदा र उपद्रव चोरीडकैती, दङ्गाफसाद, बाढीपैह्रो, अग्निदाह, भुइँचालो आदिको प्रकोप सहनु पर्ने हुन्छ । सामान्यतया उल्का योगिनीले जुनसुकै ग्रहसँग सँगै रहेको अवधिमा पनि शुभ फल प्रदान गर्दैन, जस्तै सूर्य र उल्काको समयमा प्रशासनिक र राज्यपक्षका झमेला, चन्द्र र उल्काको समयमा मानसिक सङ्कट, मङ्गल र उल्कामा निकटतम मित्र वा दाजुभाइमा कलह, शनि र उल्कामा मृत्यु वा मृत्युतुल्य कष्ट, राहु र उल्कामा मतिभ्रष्टता र अपयश अनि केतु र उल्कामा प्राकृतिक विपत्ति र चौतर्फी निराशा प्राप्त हुने गर्दछ । यसरी उल्का योगिनीको समयावधिमा अशुभ फलको बाढी नै अाउने भए पनि यो समग्रमा खराब नै हुँदैन, परिश्रमी, मिहिनेती र अनुसन्धानरत व्यक्तिले यस योगिनीको समयमा राम्रो उपलब्धी हासिल गरेको देखिन्छ ।

७) सिद्धा –

सिद्धा सिद्धिकरी सुभोगजननी मानार्थ सन्दायिनी विद्याराजजनप्रतापधनसद्धर्माप्तसज्ज्ञानदा ।

व्यापाराम्बरभूषणादिकसुतोद्वाहादिमाङ्गल्यदा सत्सङ्गान्नृपदत्तराज्यविभवो लभ्या दशा पुण्यतः ॥

सिद्धा शब्दको अर्थ उत्तम परिणाम, प्रतिष्ठाको प्राप्ति वा उपलब्धी हो । यस योगिनीको स्वामी ग्रह दैत्यगुरु शुक्राचार्यलाई मान्ने गरिन्छ । जन्मकुण्डलीमा शुक्र ग्रहको भूमिका जेजस्तो हुन्छ, त्यस्तै फल यस योगिनीको समयमा पनि प्राप्त हुन्छ । सिद्धा योगिनीको समयावधि जम्मा सात वर्षको हुन्छ । ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई ज्ञानी, कलाकार, ज्ञानविज्ञानको ज्ञाता, प्रविधिको जानकार र सौम्य एवं शुभताकारक ग्रहका रुपमा मान्ने गरिन्छ । त्यसैले सिद्धा योगिनीको महादशाको समयावधिमा मनुष्यले अत्यधिक शुभ परिणामहरू पाउने आशा गर्न सकिन्छ, अतः यस दशालाई धन, विद्या, सफलता र सम्पन्नता प्रदान गर्ने समयका रुपमा व्याख्या गरिएको पाइन्छ । यस अवधिमा जातकले सुख, सौभाग्य, सम्मान, पदप्रतिष्ठा र यश आर्जन गर्दछ । उसलाई धन, वस्त्र, रत्नाभूषण र वाहनसुखको प्राप्ति हुन्छ । विवाह योग्य उमेर भएका जातकको विवाह सम्पन्न हुन्छ, दाम्पत्य सुख आनन्दका साथमा भोग गर्न पाउँछ र सुशील तथा सुन्दर पुत्रपुत्री लाभ हुन्छ । जीवनको उत्तरार्द्धमा यस योगिनीको समय अाएमा छोराछोरीको वैवाहिक जीवन सुरु गर्ने वातावरण प्राप्त हुन्छ, दान, धर्म, परोपकार, तीर्थाटन र देशदेशान्तरको यात्राको अनुकूलता मिल्दछ । सिद्धा योगिनीको समयमा जातकका समस्त मनोकाङ्क्षाहरु पूर्ण हुन्छन् र मनोवाञ्छित पदप्रतिष्ठा र सिद्धि प्राप्त हुन्छ । उच्च पद, अधिकार, सत्तासुख, ठूलाबडाको साथसहयोग, निर्णय क्षमता, सिद्धमहात्माहरुको आशीर्वाद, दैवीय र चामत्कारिक सफलता सिद्धा योगिनीको दशाकालमा प्राप्त हुन्छ । यो भोगविलास र मनोरञ्जन जुटाउन मद्दत गर्ने अवधि पनि हो । यद्यपि सिद्धा योगिनी जहिल्यै पनि शुभकारक हुन्छ तर शुक्रको महादशा कालमा यसले दाम्पत्यसुखमा बाधा, यौनाङ्ग वा मूत्रप्रणालीका रोगव्याधि, पशुचौपायाको हानी, यौन व्यभिचारको आक्षेप अादि प्रदान गर्ने सम्भावना हुन्छ भने बृहस्पतिका समयमा बढी कल्पनाशील हुनाले भावुक बन्ने, बहकिने, वैराग्य जाग्ने, सांसारिक लालसा र चाहको अन्त्य हुने अादि विनाशी र आत्मघाती फल प्राप्त हुने डर पनि हुन्छ ।

८) सङ्कटा –

राज्यभ्रंशाग्निदाहो गृहपुरनगरग्रामगोष्ठेषु पुंसां तृष्णारोगाङ्गधातुक्षयविकृतिरथो पुत्रकान्तावियोगः ।

चेत्स्यान्मोहोऽरिभीतिः कृशतनुलतिकासङ्कटायाः विरोधो नोमृत्युर्जन्मकालाद्यमपि हि विना सङ्कटां योगिनीजम् ॥

सङ्कटा शब्दले आपत्, विपत् र अप्ठ्यारो परिस्थितिको बोध गर्दछ । राहु ग्रह र केतु ग्रहसँग सम्बन्ध हुने भएकाले सङ्कटा योगिनीको प्रकृति दुर्इ किसिमको हुन्छ – सङ्कटा र विकटा । यस योगिनीको समयावधि ८ वर्षको हुन्छ जसमध्ये सुरुको चार वर्ष सङ्कटाका रूपमा र अन्तिम चार वर्ष विकटाका रूपमा यस योगिनीले जातकलार्इ फल प्रदान गर्दछ । नेपालमा प्रचलित ज्योतिषीय परम्पराबमोजिम सङ्कटाको नामले राहुकी पत्नी र विकटाको नामले केतुकी पत्नीको भूमिका सङ्कटा योगिनीमा प्राप्त हुन्छ भन्ने मान्यता छ । अतः सङ्कटाको सुरुको चार वर्षमा जातकले राहु ग्रहको फल पाउने तथा अन्तिम चार वर्षमा केतु ग्रहको फल प्राप्त गर्ने गर्दछ । मूलतः सङ्कटाको अवधिमा जातकले आफ्नो कुण्डलीमा राहु र केतुले निर्वाह गरेको भूमिकाअनुरूप फल भोग्नु पर्दछ, यद्यपि फलका दृष्टिले सङ्कटालार्इ अशुभ नै मान्ने गरिन्छ । सङ्कटाको महादशा चलेको वेला धन, मान, यश र पदप्रतिष्ठामा आघात पुग्दछ । कहिले चोरीडकैती, अग्निभय अथवा कुनै उपद्रवमा परी धनसम्पदाको नाश हुन्छ भने कहिले शारीरिक दुर्बलता, परिवारजनसँगको विछोड, सुनचाँदी आदि धातुको नोक्सानी आदिका कारण तनाव र पीडा ब्यहोर्नु पर्दछ । तृतीय वा अष्टमभावमा बसेको राहुले जातकको जीवनलाई नै समाप्त पार्ने सम्भावना पनि हुन्छ । यस अवधिमा जातकमा मनोमानी, जिद्दीप्रवृत्ति, कुसङ्गत, स्वार्थीपन र व्यभिचारको बृद्धि हुन्छ । उच्चाकाङ्क्षा, अनैतिक कर्म र गैरकानुनी काममा झुकाव बढ्नाले अाफ्नै कारणले मनुष्यले अनेकाैं हन्डर र ठक्कर ब्यहोर्ने स्थिति पनि अाउँछ । सङ्कीर्ण र सङ्कुचित भावनाको उदय हुन्छ । लोभ र स्वार्थका कारण अपयशको भागी बन्नु पर्दछ । सामान्यतया सङ्कटा योगिनीको सुरुदेखि अन्त्यसम्म कुनै पनि समयमा राम्रो फल प्राप्त गर्ने अाशा गर्न सकिंदैन । अझ यस योगिनीको समयमा सूर्य ग्रहको समय आएमा सामाजिक अपयश, पदच्युत, वाहन दुर्घटना, टाउकोको व्यथा आदि प्राप्त हुन्छ । चन्द्रमाको समयमा मानसिक खिन्नता, मङ्गलको समयमा घाउचोट, चिरफार, अप्रेसन आदि, बुध र सङ्कटामा बाझोजुझो, झैझगडा, बृहस्पति र सङ्कटामा बकबक गर्न मन लाग्ने, धेर बोल्ने, जिद्दीपन बढ्ने, पित्तको रोग, कब्जीयत वा पाचनप्रणालीका विकार, शुक्र र सङ्कटामा यौनग्रन्थीमा समस्या, यौन व्यभिचारको सम्भावना, प्रेमीप्रेमिकाको विछोड तथा शनि र सङ्कटाको समयमा परिवारजनसँग विछोड, मानसिक कमजोरी र डिप्रेसन हुने सम्भावना बढी हुन्छ । राहु वा केतुसँग सङ्कटा योगिनीको संयोग छ भने आर्थिक र मानसिक तनाव त बढ्छ नै, शारीरिक कष्टका कारण व्यक्तिको मृत्यु नै हुने खतरा पनि हुन्छ । महादशामात्र होइन, यस योगिनीको अन्तर्दशा पनि घातक हुन्छ भनी मानसागरी नामक ज्योतिषीय ग्रन्थमा उल्लेख गरिएको छ :-

भ्रामर्यां च तथोल्कायां सङ्कटान्तर्दशा यदि । तदा तु यमराजस्य सदनं प्राप्यते नृभिः ॥

भ्रामरी वा उल्काको महादशामा सङ्कटाको अन्तर्दशा प्राप्त भएमा मृत्यु हुने लक्षण हुन्छ । त्यसैले सङ्कटा योगिनीको दशामा मात्र होइन, अन्तर्दशा कालमा समेत व्यक्तिले सचेत हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *