षड्यन्त्रपूर्वक धर्मनिरपेक्ष बनाएको खुलासा

पुनस्र्थापित प्रतिनिधिसभाले ०६३ जेठ ४ मा नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा षड्यन्त्र गरिएको खुलासा भएको छ । घोषणापत्रको ड्राफ्ट तयार गर्दा धर्मनिरपेक्ष बनाउने कुरा उल्लेख नभए पनि सभामुखले प्रतिनिधिसभामा वाचन गर्नुअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत जानकारी नगराई थपिएको खुलेको हो ।म्याग्नाकार्टा नाम दिइएको घोषणापत्रमा सुरुमा ६ वटा शीर्षक थिए । त्यसमा कतै पनि धर्मका सम्बन्धमा भन्ने बुँदा थिएन । पहिलो शीर्षक व्यवस्थापिकाका सम्बन्धमा, दोस्रो कार्यकारिणीका सम्बन्धमा, तेस्रो सेनाका सम्बन्धमा, चौथो राजपरिषद्का सम्बन्धमा र पाँचौँ राजदरबारका सम्बन्धमा थियो । छैटौँ शीर्षक विविध भनेर राखिएको थियो । यो शीर्षक कुनै विशेष व्यवस्था वा कानुनका लागि नभई घोषणापत्रमा उल्लेख भएअनुसार बाझिएका कानुन अमान्य हुने सम्बन्धमा मात्र थियो।

विद्रोही शक्तिका रूपमा आएको तत्कालीन माओवादी र सात दलले तयार पारेको घोषणापत्रको विविध शीर्षकमा (घ) नम्बरसम्म मात्र थियो । तर, सो घोषणापत्र सभामुख कक्षमा पुगेपछि (ङ) नम्बर थपियो । त्यहाँ नेपाल धर्मनिरपेक्ष हुने चार शब्दको वाक्य छ । सो बुँदामा भनिएको छ, ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ ।’अन्त्यमा षड्यन्त्रपूर्वक चार शब्द थपेर हिन्दूराष्ट्र हटाउन सभामुख सुवास नेम्वाङले भूमिका खेलेको स्रोतको भनाइ छ । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कांग्रेसका अन्य नेतालाई पनि थाहा नदिई माओवादीसँगको सल्लाहमा यसो गरेका थिए । धर्मनिरपेक्षको बुँदा आएपछि माओवादीसँगको वार्तामा खटिएका र मस्यौदालेखनमा समेत भूमिका खेलेका कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला पनि आश्चर्यमा परेका थिए । उनले गिरिजाप्रसाद कोइरालालाई स्पष्टीकरण नै दिनुपरेको स्रोतले बताएको छ ।

षड्यन्त्रपूर्वक धर्मनिरपेक्ष बनाइएको भन्दै प्रधानमन्त्री सुशील कोइराला अझै असन्तुष्ट छन् । उनले नै षड्यन्त्रपूर्वक हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाएको खुलासा गरेका हुन् । राप्रपा नेपालको प्रतिनिधिमण्डलसँग उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूलाई घोषणापछि मात्र सो कुरा थाहा भएको बताएका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै गत २८ मंसिरमा ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले यस्तो जानकारी दिएका हुन् ।सुशील कोइराला त्यतिवेला कांग्रेस उपसभापति थिए । उनी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विशेष विश्वासपात्र पनि थिए । क्याबिनेटले पास गरेभन्दा बढी अन्त्यमा एउटा बुँदा राखेर धर्मनिरपेक्ष घोषणा गरेपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले उपसभापति सुशील, केन्द्रीय सदस्य शेखर कोइराला, कृष्णप्रसाद सिटौलालगायतका आफ्ना निकटसँग असन्तुष्टि पोखेका थिए । तर, टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेर सबै दलको सहमतिमा घोषणपत्र तयार गरिएको डंका पिटिएपछि गिरिजाप्रसाद कोइराला चुपचाप बस्न बाध्य भएका थिए ।

त्यतिवेला गिरिजाप्रसाद धर्मनिरपेक्ष नभई धार्मिक स्वतन्त्रताको पक्षमा थिए । राप्रपा नेपालको प्रतिनिधिमण्डलसँग सुशील कोइरालाले आफूहरू धर्म स्वतन्त्रताको पक्षमा रहेको बताएको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार प्रधानमन्त्रीको भनाइ यस्तो थियो, ‘हामी धर्म स्वतन्त्रताका पक्षमा थियौँ, गिरिजाबाबुको कुरा पनि त्यही थियो, त्यसैले धर्मलाई उल्लेख नगरी ड्राफ्ट तयार गरिएको थियो, तर घोषणा गर्दा धर्मनिरपेक्षले कसरी प्रवेश पायो बुझ्न सकेनौँ ।’उता माओवादीसँगको अनौपचारिक वार्तादेखि ड्राफ्ट तयार गर्नसमेत भूमिका खेलेका शेखर कोइरालाले पनि धर्मनिरपेक्ष हठात षड्यन्त्रपूर्वक थपिएको बताएका छन् । घोषणापत्रमा आन्दोलनको माग मात्र समेट्ने सहमति बनेको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्रीको पनि यस्तै निर्देशन भएको उनले बताए । तर, कहाँबाट र कसले धर्मनिरपेक्षको बुँदा थप्यो आफूलाई थाहा नभएको उनले बताए ।

बक्स यसरी भयो षड्यन्त्र
०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको नेतृत्वमा सात दल र तत्कालीन विद्रोही माओवादी पनि सरकारमा गए । यिनै आठ दलले ‘म्याग्नाकार्टा’ भनिएको घोषणापत्र तयार गर्न समिति बनाए । समितिले तयार गरेको घोषणापत्रलाई ०६३ जेठ ४ मा बसेको क्याबिनेटले पारित गरेको थियो ।क्याबिनेटले पारित गर्दाको अवस्थामा घोषणापत्रमा धर्मसम्बन्धी कुनै पनि कुरा उल्लेख गरिएको थिएन । घोषणापत्रको विविध शीर्षकमा (घ) सम्मका बुँदा मात्र राखिएको थियो । मन्त्रिपरिषद्बाट पारित भएपछि त्यसलाई व्यवस्थापिका–संसद्मा पठाइएको थियो । सो घोषणापत्र सभामुख सुवास नेम्वाङको कार्यकक्षमा पुग्यो । स्रोतका अनुसार सभामुखकै कार्यकक्षमा विविध शीर्षकमा (ङ) बुँदा थपेर धर्मनिरपेक्ष हुने भनेर थपियो । त्यसको जानकारी प्रधानमन्त्रीलगायत कांग्रेसका मस्यौदा समितिका सदस्यलाई पनि जानकारी दिइएन । यो बुँदा सभामुख नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर थपेका थिए ।

व्यवस्थापिका–संसद्को बैठक सुरु भएपछि बैठकमा प्रस्तुत गर्न घोषणापत्र व्यवस्थापिका–संसद्का कर्मचारीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई थमाए । घोषणापत्र बोकेर प्रधानमन्त्री रोस्टममा उभिए । तर, उनको स्वास्थ्य खराब भएकाले उनले प्रस्ताव पढ्न चाहेनन् । उनले भने, ‘मेरो स्वास्थ्य राम्रो नभएकाले यो मस्यौदा पढेर सुनाउन सभामुखलाई अनुरोध गर्दछु ।’प्रधानमन्त्रीको आग्रहमा सभामुख नेम्वाङले घोषणापत्र वाचन गरे । उनले थपिएको बुँदा पनि पढेर सुनाए । सो बुँदा थपिएको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थाहा पाए । तर, अन्य कांग्रेसीलगायतका अरू दलका सांसदले धर्मनिरपेक्षको बुँदा षड्यन्त्रपूर्वक थपिएको थाहा नै पाएनन् । किनभने कांग्रेसबाट मस्यौदा समितिमा भएका अधिकांश सांसद थिएनन् ।
थाहा पाएर पनि प्रत्यक्ष प्रसारण भइरहेको संसद् बैठकमा प्रस्तुत मस्यौदाको गिरिजाप्रसाद कोइरालाले विरोध गर्न सकेनन् । किनभने सो मस्यौदा सबै दलको सहमतिमा ल्याइएको बताइएको थियो । सभामुखले वाचन गरेपछि सबैले ताली ठोकेर पास गरे । यसरी सर्वसम्मतले घोषणापत्र पारित गर्‍यो र नेपाललाई षड्यन्त्रपूर्वक धर्मनिरपेक्ष बनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *