सातै दिनका व्रतको महात्म्य र व्रतकथा

डा.कृष्ण प्रसाद आचार्य
जय हिन्दु राष्ट्र नेपाल
हिमाल पहाड तराई कोहि छैन पराई जय नेपाल

आइतबार व्रतविधि
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । व्रत लिँदा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार चाँहि अवश्य नै व्रत लिनुपर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नान गरी शुद्ध रातो कपडा लगाएर ‘ ॐ सूर्य नमः’ यस बीज मन्त्रको जाप थोरैमा ५ माला सके व्रतको अवधिभरि गरिरहनु पर्दछ।
त्यसपछि आइतबारको व्रतकथा पढ्ने, अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ-
नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने । गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।
surya6
फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।एउटी बुढी आमै थिइन् । तिनको नियम थियो प्रति आइतवारका दिन बिहानै स्नान आदि गरी गोबरले घर लिपेर पुनः भोजन तैयार गरी भगवानलाई अर्पण गरी आँफू भोजन गर्दथिन् । यसरी नियमित व्रत गर्नाले उनको घर अनेक किसिमका धनधान्यले भरिपूर्ण थियो । श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । सबै प्रकारले घरमा आनन्दैआनन्द थियो । यसरी केही दिन बितेपछि उनकी एउटी छिमेकी स्त्री, जसको गोठबाट ती आमै गाईको गोबर ल्याउने गर्थिन्, विचार गर्न थालिन् – यी वृद्घा सधैं मेरो गाईको गोबर लग्छिन्, त्यसैले म मेरो आफ्नो गाई लाई घरभित्र बाँध्न थाल्छु । उक्त गाईलाई गोठभित्र बाँधेर थुनेपछि आमैले गोबर लान पाइनन् र एउटा आइतवारका दिन घर लिप्न पाइनन् । त्यसकारणले उनले न त भोजन बनाइन् न भगवानलाई भोग अर्पण गर्न नै पाइन् अनि आँफूले पनि खान पाइनन् । यसरी उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।

रातको समयमा सपनाले भगवानले उसलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । वृद्घाले गोबर प्राप्त नभएका कारण कुनै पनि कर्म सम्पादन हुन नसकेको विवरण बिन्ती बिसाइन् अनि भगवानले आज्ञा गर्नुभयो – हे माता! म तपाईंलाई एउटा यस्तो गाई प्रदान गर्नेछु जसले तपाईंका समस्त इच्छाहरू पूर्ण हुनेछन । किनकि तपाईं सधैं आइतबरका दिन गाईको गोबरले लिपेर घरलाई शुद्ध बनाई भोजन तैयार गरी मलाई अर्पण गरी स्वयं भोजन गर्नुहुन्छ । यस व्रतको प्रभावले खुसी भई तपाईंलाई वरदान प्रदान गर्दछु । निर्धनलाई धन र बांझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु तथा अन्त्य समयमा मोक्ष प्रदान गर्दछु । स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो र वृद्घाका आँखा खुल्दा उनले आँगनमा एउटा अति सुन्दर गाई र बाछो बाँधिएको देखिन । त्यो गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँस हालिन । जब उनकी छिमेकी वृद्धाले घरबाहिर एउटा अति सुन्दर गाई र बाछोलाई देखिन अनि उनलाई डाहा त भयो नै अझ त्यस गाईले सुनको गोबर गोब्र्याएको दृश्य देख्दा त उनको मनमा खपिनसक्नु भयो उनले तुरुन्त त्यस गाईको गोबर आफ्नो गाईको गोबर संग साटिन । ती छि मेकी संधै त्यसै गर्थिन, उता सोझी आमैलाई यस्तो चलाखीको अत्तोपत्तो थिएन । यस घटनापछि सर्वव्यापी ईश्वरले बिचार गर्नुभयो कि चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा वृद्धा ठगीएकीछन अनि ईश्वरले संध्याको समयमा आफ्नो मायाद्वारा अति ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीको भयले आफ्ना वस्तु भित्र लगेर बाँधिन । प्रातःकालमा वृद्धाले गाईले सुनको गोबर गोब्र्याएको देखिन, उनको आश्चर्यको सीमा रहेन र त्यसपछि मात्र ती आमैले प्रतिदिन गाईलाई घरभित्र नै बाँध्न थालिन । उता छिमेकी वृद्धा सुनको गोबर प्राप्त गर्न नसकेर ईर्ष्या र डाहले पिरोलिना थालिन अनि केही उपाय नदेखेर तिनले त्यस देशको राजाका सभामा गएर पोल लगाइन् – महाराज !

मेरो छिमेकमा एउटी वृद्घासंग यस्तो गाई छ जुन हजुरहरू जस्ता राजाहरूसंग मात्र हुनुपर्ने हो, किनभने सरकार ! त्यस गाईले नित्य एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्दछ । हजुरले नै त्यो गाई प्राप्त गर्नु पर्दछ र त्यसबाट प्राप्त सुनद्वारा प्रजाको पालन गर्नु पर्दछ, आखिरी त्यस वृद्घाले त्यत्तिका सुनले के गर्छे र ? राजाले यस्ता कुरा सुनेर आफ्ना दूतलाई वृद्घाका घरबाट गाई लिई आउन आज्ञा दिए । वृद्घा प्रातःकालमा ईश्वरलाई अर्पण गरेको भोजन ग्रहण गर्न लागेकी थिईन् त्यत्तिकैमा राजाका कर्मचारीले गाई खोलेर लगे । आमैले अनेक तरहले विलाप गरिन् रोइन कराइन् तर कर्मचारी-समक्ष उनको जोड चलेन । त्यस दिन वृद्घाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन र रातभरि रोई-रोई ईश्वरसंग गाई पुनः प्राप्त होस भन्ने कामनाले प्रार्थना गरिरहिन । उता राजा गाई देखेर असाध्यै प्रसन्न भए, तर बिहान उनी उठ्दा, सारा महल गोबरैगोबरले भरिएको देखियो । राजा यस्तो दृश्य देखेर अत्तालिए । दिनभर राजा चिन्तित रहे, तर भगवानले अर्को रात सपनामा राजालाई भन्नुभयो – हे राजा ! गाई जहांबाट ल्याएको हो त्यहीं फर्काउनुमा तिम्रो कल्याण हुनेछ । मिले वृद्धाको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर मैले उनलाई गाई प्रदान गरेको थिए । उज्यालो हुना साथ राजाले वृद्घालाई बोलाएर प्रशस्त धनका साथै सम्मान सहित गाईबाछा फिर्ता गरे । अनि छिमेकी कुटिल स्त्रीलाई बोलाएर उचित दण्ड दिए । यी कृत्य समापन हुनासाथ राजाको महलबाट फोहोर स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे – समग्र राज्यको तथा आआफ्नो समस्त मनोकामनापूर्तिका निम्ति आइतबार (रविवार)का दिन व्रत लिनु पर्छ, राजाको आदेशपछि व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो । सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले ।

सोमबार व्रतविधि
यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत पाँच वर्ष, चौध वर्ष अथवा सोह्र वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नु पर्दछ। चैत्र शुक्ल अष्टमी तिथि, आर्द्रा नक्षत्र, सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत सुरु गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ। व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनु पर्दछ, त्यसपछि ‘ॐ नमः शिवाय’ लगायत शिवकू मन्त्र वा प्रार्थनाद्वारा शिव-पार्वतीको पूजा गर्नु पर्दछ, सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नु पर्दछ, पूजा गरिसकेपछि ब्राह्मणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ। सोमबारको व्रत भरिसक्य निर्जल, निराहार अथवा एक छाक अलिनो खान्की ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ। व्रतको समापन पनि माथि उल्लेखित महिनामा परे उत्तम मानिन्छ। सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ।एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुंदैनथ्यो । तर ऊ संततिसुखको अभावको पीडा भोग्दै थियो । यही नै साहूको चिन्ताको विषय थियो । ऊ पुत्रको कामना गर्दै प्रति सोमवारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो । उसको यस भक्तिभावलाई विचार गरेर एकपटक श्री पार्वतीमाताले शिवजीसंग भन्नुभयो – हे स्वामी ! यो वैश्य हजुरको अनन्य भक्त हो अनि सदैव हजुरको व्रत र पूजन असाध्यै श्रद्घापूर्वक गर्दछ ।

यसको मनोकामना त पूर्ण गर्नुपर्दछ । पार्वतीका कुरा सुनेर शिवजीले भन्नुभयो – हे पार्वती । यो संसार कर्मक्षेत्र हो । जसरी किसान खेतमा जस्तो बीउ छर्दछ त्यस्तै फल प्राप्त गर्दछ । त्यसरी नै यस संसारमा प्राणीले जस्तो कर्म गरेको हुन्छ त्यस्तै फल भोग्न पाउंछ । पार्वतीले अत्यंत आग्रहपूर्वक भन्नुभयो – महाराज ! जब ऊ हजुरको अनन्य भक्त छ र यसलाई कुनै किसिमको दुःख छ भने त्यस कष्टलाई अवश्य निवारण गर्नु पर्छ किनकि हजुर सदैव आफ्ना भक्तप्रति दयालु हुने गर्नुहुन्छ र तिनका समस्त दुःखकष्ट निवारण गर्नुहुन्छ । यदि हजुरले भक्तलाई राहत प्रदान गर्नु भएन भने मनुष्यले हजुरको सेवा तथा व्रत किन पो लिनु र ? पार्वतीको यस्तो आग्रह सुनेर भगवान भोलेनाथ पुनः भन्न थाल्नुभयो – हे पार्वती ! यसको कुनै संतति छैनन त्यसैले यो चिन्ताग्रस्त भई दुःखी जीवन व्यतीत गर्दछ । यसको भाग्यमा सन्तान छैनन तथापि म तिम्रो आग्रहका कारण यसलाई पुत्रप्राप्तिको वरदान प्रदान गर्दछु । तर उक्त पुत्र बाह्रवर्षसम्म मात्र जीवित रहने छ ।यसबाहेक यस भक्तका लागि म अरु केही पनि गर्न सक्दिन । यी सबै कुरा वैश्यले समेत सुनिरहेको थियो, यसबाट उसलाई न प्रसन्नता नै भयो न केही दुःख नै । ऊ पहिले जसरी नै शिवजीको व्रत र पूजन गर्दै रह्यो । केही समय व्यतीत भएपछि साहूकी स्त्री गर्भवती भई र दस महिनापछि उसको गर्भबाट एउटा अति सुन्दर पुत्रको जन्म भयो । साहूका घरमा ठूलो उत्सव मनाइयो तर साहूले नवजात शिशुको बाह्र]वर्षको मात्र आयु छ भन्ने थाहा पाएर धेरै प्रसन्नता व्यक्त गरेन र न कसैलाई यस रहस्यको भेद नै बतायो । जब त्यो बालक ११ वर्षको भयो, बालककी आमा त्यसको व्रतबन्ध, विवाह आदि संस्कार संपन्न गर्ने कुरा गर्न थालिन तर साहू यस कुरामा सहमत भएन । बरु उसले पुत्रलाई अध्ययन गर्न काशी पठाउने निधो गर्यो । व्यापारीले आफ्नो सालो अर्थात् बालकको मामालाई प्रशस्त धन उपलब्ध गराई बाटोमा जुन स्थानमा पुगे पनि यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै बालकलाई काशी लिएर जान आदेश गर्यो । ती दुबै मामा-भाञ्जा यज्ञ संपन्न गर्दै र ब्राहमण-भोजन गराउँदै जाँदै थिए । बाटोमा तिनले एउटा सहर भेटे । त्यस सहरमा राजाकी छोरीको विवाह हुँदै थियो र अन्य देशको राजाको छोरो जो विवाह गर्न जन्ती लिएर आएको थियो त्यो विचरा कानो थियो । दुलाहाका पितालाई कतै कन्यापक्षले दुलाहालाई देखेर विवाहमा अवरोध सिर्जना गर्ने त होइनन भन्ने चिन्ता थियो । बाटोमा बेउलाको बावुले अति सुन्दर साहूपुत्रलाई देखेर मनैमन विचार गर्यो, स्वागतद्वारमा यासि बच्चोलाई बेउलो बनाएर राख्नु पर्ला ! यस्तो सोचेर वरका पिताले त्यस केटो र उसका मामासंग कुरा गर्दा ती पनि यस कुरामा सहमत भए । sib

अनि त्यस वैश्यपुत्रलाई बेउलाका पहिरन लगाएर घोडामा चढ़ाएर स्वागतद्वारमा लिएर गए र सबै कार्य प्रसन्नतापूर्वक पूर्ण भयो । त्यसपछि वरका पिता पुनः विचार गर्न थाल्यो, यदि विवाहका अन्यान्य कार्य पनि यसै केटाको सहयोग लिई गर्दा के बेफाइदा होला र ? बेउलाको पिताले वैश्यपुत्र र उसका मामासंग भन्यो – यदि तपाईंले यज्ञमण्डपमा बेउलाको सट्टामा यिनै बालकको सहयोगमा यज्ञ, गोडधुवा, कन्यादान आदि विवाहका शेषकृत्य सम्पन्न गराउनु भए ठूलो कृपा हुनेथियो । म यसको प्रत्युपकारमा हजुरलाई प्रशस्त धन प्रदान गर्नेछु । ती दुबै मामाभान्जाले राजाको प्रस्ताव स्वीकार गरे र विवाहको शेष कार्य पनि साह्रै राम्ररी सम्पन्न भयो । तर विदा हुने बेलामा त्यस व्यापारीपुत्रले राजुकुमारीको खास्टोको छेउमा लेख्यो – तेरो विवाह त छलपूर्वक म वैश्यपुत्रसंग भएको छ र जुन राजकुमारसित तँलाई विदाई गरी पठाउने छन त्यो केटो त कानो छ । म अध्ययन गर्ने उद्देश्यले काशी पढ़न जाँदैछु । केटो गएपछि राजकुमारीले आफ्नो खास्टोमा लेखेको देखी र उसले राजकुमारसंगै जान अस्वीकार गरी । बेउलीले भनी – यो राजकुमार मेरो पति होइन, मेरो विवाह यससङ्ग भएको होइन । मेरा पति त अध्ययन गर्न काशी गएकाछन । राजकुमारीका माता-पिताले यथार्थ कुरो पत्ता लगाए र आफ्नी छोरीको विदाइ गरेनन अनि जन्ती बेउलीबिना नै फिर्ता गयो । उता सेठको छोरो र उसको मामा काशी पुगे । त्यहाँ पनि तिनले यज्ञ गर्ने सिलसिला जारी राखे साथै केटोले अध्ययन प्रारम्भ गर्यो । जब केटाको आयु बाह्र वर्षको भयो त्यस दिन पनि यज्ञको योजना हुँदैथियो कि केटो अचानक बिरामी भयो र उसले मामासंग भन्यो – मामा आज मेरो स्वास्थ्य ठीक छैन । मामाले भित्र गई आराम गर्न भने । केटो भित्र पसेर सुत्यो र केही समयपछि उसका प्राणपखेरु उडे । मृत भान्जो देखेर मामालाई असाध्यै पीडा भयो अनि सोच्न थाल्यो यदि मैले शोकका कारण रुनकराउन थालें भने यज्ञको संपादनमा विघ्न आउने छ, अतः उसले शीघ्रताका साथ यज्ञ सम्पन्न गरी ब्राहमण विदा गरेपछि रुनकराउन र छट्पटाउन थाल्यो । संयोगवश त्यसै समयमा शिव-पार्वती पनि त्यही बाटो पारी कतै जाँदै हुनुहुन्थ्यो । माता पार्वतीका साथमा भगवानले ठूलोठूलो स्वरमा रोएको आवाज सुन्नुभयो अनि पार्वतीमातले भगवानलाई भन्नुभयो – हे ख्वामित् ! कुनै दुखिया रोइरहेको छ यसको कष्ट निवारण गर्नुहवस् ।

शिव-पार्वती नजिकै गएर हेर्दा मृत अवस्थामा पुगेको त्यही वैश्यपुत्रलाई देख्नुभयो । माता पार्वतीले पुनः भन्नुभयो – स्वामी ! यो त त्यसै सेठको छोरो हो, जो हजुरको वरदानस्वरूप जन्मिएको थियो । शिवजीले आज्ञा गर्नुभयो – पार्वती ! यसको आयु यत्ति नै थियो जुन यसले भोग गरिसक्यो । अनि पुनः पार्वतीले भन्नुभयो – हे मालिक ! यस बच्चालाई अझ आयु प्रदान गर्नुहवस नत्र यसका माता-पिता तड़पी-तड़पी मृत्युपरवश हुनेछन । पार्वतीले बारम्बार आग्रह गर्दा शिवजीले त्यसलाई जीवन प्रदान गर्नुभयो र शिवजीको कृपाले केटो जीवित हुन पुग्यो ।शिवजी-पार्वती आफ्नो धाम कैलाश जानुभयो । त्यसपछि त्यो केटो र मामा पहिले जसरी नै यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै आफ्नो घरतिर लागे । बाटोमा त्यही सहर आयो जहां केटाको विवाह भएको थियो । त्यहां आएर तिनले यज्ञ आरंभ गरे, राजाले त्यस वैश्यपुत्रलाई चिन्यो र महलमा लगेर ती दुबैको स्वागतसम्मान गर्यो । साथै धेरै दास-दासीसहित विधिपूर्वक छोरीज्वाइँलाई विदा गर्यो । आफ्नो सहरका नजिकमा पुगेपछि मामा घरमा खबर गर्न बेउलाबेउलीभन्दा पहिले नै घरतर्फ गयो । उता बाह्रवर्ष बितेपछि त्यस केटाका माता-पिता घरको छानामा बसेर यदि हाम्रो पुत्र सकुशल फर्कियो भने राजी-खुशीसाथ छानाबाट तल झर्ने नत्र छतबाट फाल हालेर प्राण त्याग्ने भनी प्रतिज्ञाबद्ध भई छोराको बाटो कुरेर बसेका थिए । त्यत्तिकैमा त्यहां आई पुगेको केटाको मामाले व्यापारीदम्पतिको पुत्र पुत्रवधुका साथमा प्रशस्त धनसंपत्तिसमेत समाचार भन्यो । सेठदम्पति आनन्दपूर्वक तल झरे र छोराबुहारीको विधिवत स्वागत गरे । त्यसपछि उनीहरू बडो प्रसन्नताका साथमा जीवन यापन गर्न थाले ।जसले सोमवारको व्रत विधिपूर्वक लिने गर्दछ, त्यसका सम्पूर्ण मनोकांक्षा पूर्ण हुनेछन अथवा सोमबारका दिन यस कथालाई पढ़नाले वा सुन्नाले मात्र पनि उसका समस्त मनोकामना पूर्ण हुन्छन ।

मङ्गलबार व्रतविधि
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ। यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ।
ganesh78
परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे। ईश्वरसित आर्तपुकारा गर्थे- हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र-रत्न प्रदान गर । यही उनीहरूको प्रार्थना थियो । पुत्र-प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे । उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन् । प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन् । दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन्, त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन् । उता उनले आँफूले पनि केही खान-पान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन्। श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो । यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो। अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्च्छा परेर ढलिन् । अनि श्री हनुमानजीले त्यही मूर्च्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो- ‘तिम्रो पूजा सफल भयो । म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु ।

यसले तिम्रो यस्तो सेवा-चाकरी गर्नेछ, जुन कसैले पनि आफ्ना माता-पिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दिए- ‘ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःख-कष्ट हुन नपाओस् ।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन् । केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे- ‘यो बालक कसको हो?’ ब्राह्मणीले भनिन्- ‘श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’ पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले- मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो । अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए थिक हुने थियो। एक दिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन्। ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए। ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए। त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन्, मंगल तुरुन्त हाँस्दै आइपुग्यो । यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो। त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो- ‘हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख। तिमीले जुन मेरो सेवा र भक्ति गर्‍यौ, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ।’ यसपछि धेरै दिनसम्म ती पति-पत्नि सुखपूर्वक रहे । यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ ।

बुधबार व्रतविधि
बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ।Vishnu-and-Garuda

एक पटकको कुरा हो एउटा मानिस आफ्नी पत्नी लिई आउन ससुराल गयो । त्यहाँ केही दिन बिताएपछि उसले सासु-ससुरासित विदा माग्यो । तर सबैले आज बुधवार हो, आज यात्रा गर्नु हुदैन भने । ऊ केही गरी मानेन र हठधर्मी भएर बुधवारकै दिन पत्नीलाई साथमा लिई आफ्नो घर तर्फ प्रस्थान गर्यो । बाटामा उसकी पत्नीलाई तिर्खा लाग्यो र आफू तिर्खाएको कुर उसले आफ्ना पतिलाई बताइन । अनि पत्निको प्यास मेटाउने उद्देश्यले ऊ अमखोरा लिई रथबाट उत्रिएर पानिको खोजिमा गयो । तर पानी लिएर फर्कदा उसले के देख्यो भने उसकी पत्निका साथमा ऊजस्तै अर्को व्यक्ति बसेको छ, त्यो मान्छे उस्तै रूपरङ्ग र वेषभूषामा छ । यस्तो दृश्य देखेर ऊ आश्चर्यचकित भयो । त्यस बहुरूपी व्यक्तिसित उसले क्रोधपूर्वक भन्यो – तँ को होस अनि मेरी पत्नीका निकटमा किन बसेको ? अर्को मान्छेले भन्यो यी त मेरी पत्नी पो हुन त । bisnuम अहिले भर्खरै ससुरालबाट विदा मागेर आउदैछु । ती दुबि एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लीन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोधे – यी दुईजना मध्ये तिम्रो असली पति चाहि कुन हो ? त्यस पछि त्यस स्त्रीले जवाब दिन सकिन किनभने दुबि व्यक्तिको संपूर्ण स्वरूप एकै किसिमको थियो । विचरी त्यस आईमाईले कसलाई आफ्नो पति भन्नु, अलमल्ल परी अनि ईश्वरसित प्रार्थना गर्दै भन्न थाली – हे परमेश्वर ! यो के विचित्रको लीला हो । त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरपुकारा गर्दै रुनकराउन थाल्यो, उसको धेरैबेरसम्मको आलापविलापपछि आकाशवाणी हुन गयो – मूर्ख ! आज बुधवारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो । त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्यो र आफ्नो भूलप्रति क्षमा माग्यो । अनि भगवान अन्तर्धान हुनुभयो । ऊ आफ्नी स्त्रीलाई लिएर घर गयो तथा त्यस पछि दाम्पत्य सुखका लागि एवं कहिल्यै वियोग नहोस भन्ने उद्देश्यले प्रत्येक बुधवारका दिन ती दुबै पति-पत्नी नियमपूर्वक गर्न थाले । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधवारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुबिधा हुने छैन एवं उसलाई सबै किसिमले सुखप्राप्ति हुन्छ ।

बिहीबार व्रतविधि
वैवाहिक सुख प्रप्तिका लागि,गुरु बृहस्पतिको अनिष्ट फ़ल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ । अझ त्यसदिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म लिनुपर्दछ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरेर शुद्ध भई पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा ५ माला जाप गर्नुपर्दछ । बिहिबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्दछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।guru brihaspati

धेरैधेरै पाहिलेको कुरो हो – एकजना असाध्यै प्रतापी र दानी राजा थियो । ऊ प्रत्येक बिहीवारका दिन व्रत लिन्थ्यो र पुण्यकर्म गर्दथ्यो । यस्तो क्रियाकलाप उसकी रानीलाई मन पर्दैनथ्यो । उसकी रानी न त व्रत नै लिने गर्दथी, न त कसैलाई एक पैसा दान नै गर्दथी । उसका इच्छाले राजाले पनि यी क्रियाकलाप नगरे हुन्थ्यो भन्ने ठान्दथी । एक पटकको कुरा हो राजा शिकार खेल्न वनतर्फ़ गए । घरमा रानी र दासीहरू थिए । त्यस समयमा गुरु वृहस्पति साधुको रूप धारण गरेर राजको ढोकामा देखा पर्नुभयो । साधुले रानीसित भिक्षा मांग्दा ऊ भन्न थाली – हे साधु महाराज । म यस दान र पुण्य भन्ने शब्दसितै घृणा गर्दछु । हजुरले कुनै यस्तो उपाय बताउनु हवस्, जसबाट यी सम्पूर्ण धनसम्पत्ति नाश हवोस्, म यो वैभव समाप्त भएपछि मात्र आनन्दले बस्न पाउछु । साधुरुपी वृहस्पति देवताले भन्नुभयो, हे देवी । तिमी साह्रै विचित्रकी स्त्री रहिछ्यौ । संतान र धनसित तृप्त हुने मान्छे मैले देखेको थिइन, यदि तिमिसंग प्रशस्त धन छ भने त्यस धनलाई शुभ कार्यमा खर्च गर, जसबाट तिम्रा इहलोक र परलोक दुबै सुध्रनेछन । तर साधुका यी उपदेश सुनेर रानी खुसी भइन । उसले भनी, मलाई यस्तो धनको खांचो छैन, जुन धन मैले दानादिमा खर्च गर्नुपरोस तथा जुन धन स्याहार्दा स्याहादै मेरो यावत समय नष्ट हुन्छ । साधुले फेरि भन्नुभयो, लौ त तिम्रो अब यस्तै इच्छा छ भने म जसोजसो भन्छु, त्यसै गरन त ! बिहीबारका दिन तिमिइले आफ्नो घर गोबरले लिप्नु, आफ्नो कपाल पहेलो माटोले धुनू, कपाल धुने समयमा स्नान समेत गर्नु, राजासित कपाल खौरिणा भन्नु, भोजन गर्दा मासुमदिरायुक्त भोजन गर्नु, आफ्ना लुगाफाटा धोबीलाई धुन दिनु । यसरी सातवता बिहीबार गर्यौ भने तिम्रा सम्पूर्ण धनधान्य र वैभव नष्ट हुन जानेछ ।

यति भनेर साधुका भेषमा आउनु भएका गुरु वृहस्पति अंतर्धान हुनुभयो । साधुले बताएबमोजिमका कृत्य गरेको अहिले तीन हप्तामात्र भेको थियो, त्यस राज्यकोषको समस्त धन-संपत्ति नष्ट हुनपुग्यो । भोजन गर्नका निम्ति पनि परिवारले लालायित हुनु पर्ने स्थिति आयो । एक दिन राजाले रानीलाई भन्यो, हे रानी । तिमी यहीं बस, म अर्को देश जान्छु, यस देशमा मलाई सबैले चिनेका छन त्यसैले यहां सानातिना काम गर्न लाज हुन्छ । यति भनेर राजा परदेश गयो । त्यहां ऊ जंगलबाट दाउरा बटुलेर शहरमा ल्याई बेच्दथ्यो । यसरी नै बिचरा राजा आफ्नो जीविका चलाउन थाल्यो । यता, राजाबिना रानी र दासीहरू दुखी त छदैथिए, एकपटक तिनीहरूले सात दिनसम्म भोकै बस्नु पर्यो । रानीले भोक खप्न नसकेर दासीलाई नजिकैको सहरमा बसोबास गर्ने आफ्नी धनवान् बहिनीका घरमा गएर केही अन्नपात मागेर ल्याउन अह्राई । दासी रानीकी बहिनीका घर्मा पुगी । त्यस दिन बिहीबार थियो । रानीकी बहिनी त्यस समय बिहीबारको व्रतकथा सुन्दै थिई । दासीले रानीकी बहिनीलाई आफ्नी रानीको संदेश दिई, तर रानीकी बहिनीले कुनै उत्तर दिइन । यसरी रानीकी बहिनीले कुनै उत्तर नदिंदा दासी अतीव दुखी भई । उसलाई रिस पनि उठ्यो । दासीले आफ्नो घरमा फिर्ता आएर रानीलाई यावत वृत्तान्त सुनाई । सुनेर, रानीले आफ्नै भाग्यलाई सरापी । उता, रानीकी बहिनीले संझी मेरी दिदीकी दासी आएकी थिई, तर म उससित ओल्न पनि भ्याइन, यसबाट ऊ दुखी भई होली । कथा सुनिसकेर र पूजनादि समाप्त गरी ऊ स्वयम् दिदीका घर गई र दिदीलाई भनी, म बिहीबारको व्रतकथा सुन्दैथिएं । हजुरकी दासी आएकी थिई, कथावाचन हुन्जेलसम्म उठन, हिड्डुल गर्न र बोल्न समेत मनाही छ, त्यसैले म ऊसित बोल्न पाइन । दासी किन गएकी हो भनी म जानकारी लिन आएकी ! बहिनीका यस्ता कुरा सुनेर दिदीले भनी, बहिनी मेरा घरमा एक गेडो पनि अन्न थिएन, रानीले आफ्ना कुरा टुङ्ग्याउन पनि सकिन उसका आंखा आंसुले भरिए । उसले दासीहरूसमेत भोकै बस्नु परेको स्थिति पनि येनकेन बहिनीलाई बताई । रानीकी बहिनीले दिदिइक कुरा सुनेर भनी, सुन्नोस् दिदीहजुर ! गुरु वृहस्पतिले सबैका मनोकामना पूर्ण गर्नुहुन्छ । हुनसक्छ, हजुरका घरमा कति अन्न छ ।
garh
यो सुनेर दासी घरभित्र जांदा त्यहाँ उसले एउटा अन्नले भरिएको घड़ा भेट्टाई । दासीलाई बडो आश्चर्य भयो किनकी उसले यस अघि नै एउटा एउटा भांडाकुंडा चहारेकी थिई । उसले बाहिर आई रानीलाई भनी, हे रानी आखिर हामीले भोजन नभेट्दा व्रत बसे सरह नै त हुन्छ, किन यिनैसित व्रत र कथाको विधि सोधेर बिहीबारको व्रत लिन थालौं । दासीले बताएपछि रानीले आफ्नी बहिनीसित बिहीबारको व्रतका विषयमा सोधी । उसकी बहिनीले बताईया, बिहीबारको व्रत बस्दा चनाको दाल र गुडले विष्णु भगवानको स्मरण गर्दै केराको बोटको जरामा पूजा गरेर धूपबाती गर्नुपर्छ । पहेंला खाद्यपदार्थ उपभोग गर्नुपर्छ र कथा श्रवण गर्नुपर्छ । यसो गर्नाले गुरु बृहस्पति प्रसन्न हुनुहुन्छ, सम्पूर्ण मनोकामना पूर्ण हुन्छन । व्रत र पूजनविधि बताएर रानीकी बहिनी आफ्नो घर फर्किई ।रानी र दासी दुबैले निश्चयतापूर्वक सात दिनपछि बिहीबारको व्रत लिने प्रण गरे । घोडाको तबेलामा गई चना र गुड़ खोजमेल गरी ल्याए र ती सरजामले केराको बोटको जरामा विष्णु भगवानको स्मरण गर्दै पूजन गरे । अब खानका निम्ति पहेंलो खाद्यपदार्थ कहांबाट पाउनू, दुबै असाध्यै दुखी भए । तर उनीहरूले श्रद्धाभक्तिपूर्वक व्रत गरेका थिए, त्यसैले वृहस्पतिदेव प्रसन्न हुनुहुन्थ्यो । एकजना साधारण व्यक्तिका रुपमा उहां दुईवटा थालमा स्वादिलो पहेंलो परिकार लिएर आउनुभयो र दासीलाई प्रदान गर्दै भन्नुभयो, हे दासी ! यो भोजन तिम्रा निम्ति र तिम्री रानीका निमित्त हो, यसलाई तिमीहरू दुबैले ग्रहण गर्नू । दासी भोजन प्राप्त गर्नाले अतीव प्रसन्न भई । उसले रानीलाई सम्पूर्ण वृत्तान्त बताई । त्यसपछिदेखि तिनले प्रत्येक बिहीबारका दिन गुरु भगवानको व्रत र पूजा गर्न थाले । वृहस्पति भगवानको कृपाले तिनीहरूसित धनागम भयो ।

तर रानी पुनः पहिले जसरी नै आलस्य गर्नथाली । अनि दासीले रानीलाई सम्झाई र भनी, हेर्नोस् महारानी ! हजुरले पहिले पनि यसरी नै आलस्य गर्नुहुन्थ्यो, हजुरलाई धन संग्रह गर्न र स्याहार्न कष्ट हुन्थ्यो, त्यसैले सबै धन नष्ट भयो । अब गुरुदेव बृहस्पति भगवानको कृपाले धन प्राप्त भएको छ, त्यसैले पुनः आलस्य गर्नुहुन्न । ठूलाठूला कष्ट र पीडापछि मात्र हामीले यो धन प्राप्त गरेका हौं, त्यसैले दान-पुण्य गर्नु उपयुक्त हुनेछ । अब हजुरले भोका मनुष्यहरूलाई भोजन गराउनुहोस, पंधेरो बनाउनुहोस, ब्राहमणहरूलाई दान दिनुहोस, इनार, पोखरी, आहाल आदिको निर्माण गराउनुहोस, मन्दिर-पाठशाला आदि बनाएर ज्ञानप्रदान गर्नुहोस, कुमारी कन्याको विवाह गरिदिनुहोस अर्थात् धनलाई शुभ कार्यमा लगानी गर्नुहोस, जसबाट हजुरको कुलको यश वृद्धि हुन्छ र मृत्युपछि स्वर्ग प्राप्ति हुन्छ, अनि पितृ पनि प्रसन्न हुन पुग्छन । दासीका सल्लाह मानेर रानी शुभ कर्म गर्नथाली । उसका सुयश फैलियो । एक दिन रानी र दासीका बिचमा राजाको अवस्था र खोजखबरको चर्चा भयो, अनि दुबैले श्रद्घापूर्वक गुरु (वृहस्पति) भगवानसित प्रार्थना गरे – राजा जहाँजस्तो अवस्थामा भएपनि तुरुन्त फिर्ता आएहुन्थ्यो । उता, राजा परदेशमा असाध्यै दुखी अवस्थामा थियो । ऊ नित्यप्रति जंगलबाट दाउरा खोजेर ल्यौंउथ्यो र त्यसलाई सहरमा बेचेर आफ्नो दुखी जीवनलाई बडो कठिनतापूर्वक धकेल्दै थियो । एक दिन दुखी भई, आफ्ना अतीतका वैभव र ऐश्वर्यलाई संझना गर्दै ऊ रुनथाल्यो र उदास भयो । त्यसै समयमा राजा भएको स्थानमा वृहस्पतिदेव साधुका भेषमा प्रकट भई उसलाई सम्बोधन गर्दै भन्न थाल्नुभयो, ए दाउरे ! तिमी यस सुनसान जंगलमा के चिंताले बसेका छौ, मलाई त्यसको कारण बताऊ । यी वचन सुन्नासाथ राजाका नेत्र आंसुले भरिए । साधुको वंदना गरी राजाले आफ्ना संपूर्ण कथाव्यथा सुनायो, महात्मा त दयालु हुने गर्दछन ।

गुरु बृहस्पतिले राजालाई भन्नुभयो, हे राजा ! तिम्री पत्नीले वृहस्पतिदेवका प्रति अपराध गरेकी थिईन, परिणामतः तिम्रो यो दशा भएको हो । अब तिमी चिन्ता नगर भगवानले तिमीलाई पाहिलेभन्दा पनि धेरै धन प्रदान गर्नुहुनेछ । सुन, तिम्री पत्नीले बिहीबारको व्रत प्रारम्भ गरिसकेकी छन । अब तिमीले पनि बिहीबारको व्रत लिएर चनाको दाल र गुड़ पनिइको अमखोरामा हालेर केराको बोटमा फेदमा पूजा गर । त्यसपछि कथा भन वा सुन । भगवानले तिम्रा सबै मनकामनाको पूर्णता प्रदान गर्नुहुनेछ । साधुका कुरा सुनेर राजाले सोध्यो, हे प्रभो ! दाउरा बेचेर त खान पनि मुस्किलले मात्र पुग्छ, मैले व्रत पूरा गर्ने सामग्री के पैसाले किन्नु र ? उता रात्रिकालमा सपनामा रानीलाई व्याकुल अवस्थामा देख्छु । मसित उनको समाचार थाहा पाउने कुनै साधन पनि छैन । पुनः मैले कुन कथा भन्ने होला, यो पनि त थाह छैन । राजाका जिज्ञासा शान्त पार्दै साधुले भन्नुभयो, हे राजन ! मनमा वृहस्पति भगवानको पूजन-व्रतको निधो गर । प्रभुले स्वयं तिम्रा निम्ति कुनै उपाय सुझाउनु हुनेछ । बिहीबारका दिन तिमीले संधै जसरी नै दाउरा लिएर सहर जानु, तिमीले संधैभन्दा दुईगुना बढी धन प्राप्त गर्नेछौ जसबाट तिमीले आफ्ना आवश्यकता पूरा गरी पूजासामाग्री पनि किन्न सक्नेछौ । तिमीले सुन्नुपर्ने वा भन्नुपर्ने बिहीबारको व्रतकथा यस प्रकार छ – प्राचीनकालमा एउटा अति नै निर्धन ब्राहमण थियो । उसका सन्तान थिएनन । ऊ नित्यप्रति पूजा-पाठ गर्दथ्यो, तर उसकी स्त्री न स्नान गर्थी, न कुनै देवताको पूजाआजा नै गर्थी । यस कारणले ती ब्राहमण देवता असाध्यै दुखी रहन्थे । भगवानका कृपाले ब्राहमणब्राह्मणीका कोखमा एउटी कन्या उत्पन्न भईन । कन्या शुक्ल पक्षको चान्द्रम जसरी नै हुर्किनथालिन । प्रातःस्नानपछि ती कन्या भगवान विष्णुको द्वादशाक्षर मन्त्रको जप गर्थिन । केही दिनपछि बिहीबारका दिनको व्रत पनि लिन थालिन । पूजा पाठ समाप्त गरेर पाठशाला जान्थिन र आफ्ना मुट्ठीमा जौ बोकेर लान्थिन अनि बाटोमा छर्दै जान्थिन । फर्कदा ती जौका दाना सुनका बनेका हुन्थे र त्यसलाई टिपेर घर ल्याउथिन । एक दिन ती बालिका नाङ्लोमा ती सुनका जौका दाना केलाउंदैथिन आमाले त्यो दृश्य देखिन र छोरीलाई भनिन ए छोरी, सुनका दाना केलाउन त सुनकै नाङ्लो चाहिन्छ त ? भोलीपल्ट बिहीबार थियो, कन्याले व्रत लिइन र वृहस्पतिदेवसित सुनको नाङ्लो प्रदान गर्न प्रार्थना गरिन् । वृहस्पतिदेवले ती बच्चीको प्रार्थना स्वीकार गर्नुभयो । सधैं झै ती कन्या जौ छर्दै पाठशाला गईन् । पाठशालाबाट फर्कदा जब उनी जौका दाना टिप्दै गर्दा उनले वृहस्पतिदेवको कृपाले उनले सुनको नाङ्लो प्राप्त गरिन् । उनी त्यो नाङ्लो लिएर घर आइन र त्यसमा सुनको जौ राखी केलाउन थालिन । उनकी आमामा यस घटनाले कुनै प्रभाव पारेन । एक दिनको कुरो हो । ती बालिका सुनको नाङ्लोमा जौ केलाउन बसेकी थिईन्, त्यत्तिकैमा त्यस सहरको राजकुमार त्यही बाटोबाट कतै जाने उद्देश्यले आइपुग्यो । कन्याको रुपलावण्य र क्रियाकलाप देखेर ऊ ती कन्यामा मोहित भयो । राजमहल आएर उसले अन्नपानादि त्याग्यो र उदास भएर झोक्रियो ।

राजालाई जब राजकुमारद्वारा अन्न-जल त्यागेको समाचार प्राप्त भयो, उसले पुत्रको आन्तरिक चेष्टा बुझ्ने प्रयास गर्यो । पिताले सोधे पछि राजकुमारले ती बालिकाका बारेमा बताउदै उनको घरको ठेगाना पनि बताइदियो । मंत्री कन्य्यको घर गयो । मंत्रीले ब्राहमणसमक्ष राजाका तर्फ़बाट निवेदन गर्यो । केही दिनको अन्तराल पछि ब्राहमणकी छोरीको विवाह राजकुमारसित भव्यताका साथ सम्पन्न भयो । कन्यालाई विदाई गरेर पठाउना साथ ब्राहमणका घरमा पहिले जस्तै दीनता प्रारम्भ भयो । एक दिन दुखी भएर ब्राहमण आफ्नी छोरी भेट्न दरबार गए । ती कन्याले पिताको अवस्था देखिन र आमाको खबरखाबर सोधिन, ब्राहमणले सबै समाचार भने । कन्याले पनि प्रशस्त धनधान्यका साथ आफ्ना पितालाई विदा गरिन् । तर केही समयपछि हालत जस्ताको तस्तै भयो । ब्राहमण पुनः छोरी भएठाउंमा गए, पिताजीको उस्तै बिचल्ली देखेर यस पटक ब्राह्मणपुत्रीले अब आमालाई समेत लिएर आउन भनिन । अर्को पटक ब्राहमणदेवता आफ्नी स्त्रीका साथ पुत्रीसमक्ष राजमहल पुगे, छोरीले आफ्नी आमालाई समझाउन थालिन, ए आमा, हजुरले प्रातःकालमा स्नानादिबाट निवृत्त भई विष्णु भगवनको पूजा गर्नु भयो भने सबै दरिद्रता हटेर जानेछन । तर उसकी आमा छोरीका सल्लाहमा विश्वास गदैनथिन । ती बिहान उठ्नासाथ बासी र जुठो जे छ खानमात्र खोज्थिन । आमाका कृत्य देखेर ती बालिकालाई असाध्यै रिस उठ्यो, अनि उनले आफ्नी आमालाई एउटा बन्द कोठामा थुनिन । भोलीपल्ट बिहान आमालाई स्नानादि गराई पूजा-पाठ गर्ण लगाएपछि बल्ल आमाको आंखा खुल्यो अनि मात्र बुद्धि ठेगानमा आयो । यस घटना पछि कन्याकी आमा नियमपूर्वक पूजा पाठ गर्नथालिन र प्रत्येक बिहिइबारका दिन व्रत गर्न थालिन । यस व्रतको प्रभावले मृत्युउपरान्त ती ब्राह्मणी स्वर्ग गईन । ती ब्राहमण पनि सुखपूर्वक यस लोकको सुख भोगेरा स्वर्ग गए । यसरी राजालाई कथा सुनाएर साधु बनेका बृहस्पति देवता त्यहाँबाट लोप भए । बिस्तारै समय व्यतीत हुंदैगयो र बिहिबारको दिन आइपुग्यो । राजा जंगलबाट दाउरा काटेर सहरमा बेच्न गयो । उसले त्यस दिन सधैंभन्दा डबल आम्दानी गर्यो । राजाले चना, गुड़ आदि ल्याएर बिहीबारको व्रत लियो । त्यस दिनदेखि उसका सबै क्लेश नष्ट भए । तर अर्को हप्तामा बिहीबारको व्रत लिन बिर्सियो, भगवान बृहस्पति पुनः क्रोधित हुनुभयो । त्यस दिन त्यस नगरका राजाले विशाल यज्ञको आयोजन गरेको थियो तथा आफ्ना समस्त प्रजालाई उक्त यज्ञको पातिप्रसाद लिन र भोजन गर्न आमन्त्रण गर्यो ।राजाको आज्ञानुसार राज्यका संपूर्ण जनता राजाको भोजमा सम्मिलित भए तर दाउरे राजा केही ढिलो पुग्यो, भतेरका सामग्री सकिएका थिए, त्यसैले राजाले उसलाई आफूसंगै महलमा लिएर गयो ।

दाउरे राजा भोजन गर्न बसेका बेला रानीले केही बेर अघि निदालमा सिउरिएको हार नदेखेर त्यही दाउरेलाई चोरी गरेको आरोप लगाइन । तुरुन्त सिपाही बोलाएर त्यस दाउरेलाई जेल पठाइयो । विचरा दाउरे कारागारमा चिन्ताग्रस्त भयो र सोच्न थाल्यो – मैले पूर्वजन्ममा जानीनजानी कुन अपराध गरेंछु जसका कारणले यी किसिमकिसिमका दुख र कष्ट मैले नै भोग्नुपर्छ, अनि ऊ जंगलमा भेटिएका साधुलाई स्मरण गर्न थाल्यो । तत्काल वृहस्पतिदेव साधुका रुपमा प्रकट हुनुभयो र भन्नुभयो, अरे मूर्ख ! तैंले वृहस्पति देवताको व्रत, पूजा र कथाश्रवण गरिनस, त्यसैले तैंले यो दुख झेल्नुपरेको हो । अब चिन्ता नगर । बिहीबारका दिन कारागारको ढोकामा चार पैसा भेट्नेछस, त्यसै पैसाले तैंले बिहीबारको व्रत सविधि गर्नु, तेरा सबै कष्ट नष्ट हुनेछन । फेरि अर्को बिहीबार आयो, जेलको ढोकामा चार पैसा पनि भेटियो । राजाले पूजासामाग्री झिकाएर व्रत लियो र कथा पाठ गर्यो अनि अन्त्यमा प्रसाद वितरण गर्यो । त्यसै रातमा वृहस्पतिदेवले त्यस नगरका राजालाई स्वप्नमा आज्ञा गर्नुभयो – हे राजन ! तैंले बन्दी बनाएको दाउरेलाई छोडिदिनु, ऊ निर्दोष छ । राजा भोलिपल्ट प्रातःकालमा ब्युंझदा हराएको हार जहांको त्यहीं देखेर त्यस दाउरे राजालाई थुनामुक्त गरी क्षमा माग्यो तथा नृपोचित सुन्दर वस्त्र-आभूषण प्रदान गरेर विदा गर्यो । त्यस पछि गुरुदेव बृहस्पतिको आज्ञानुसार राजा आफ्नो नगरतर्फ़ जांदोभयो । राजा नगरका छेउ पुग्दा नगरमा पहिलेभन्दा बढी उपवन, सरोवर, कुवा र अधिकाधिक धर्मशाला, मंदिर आदि बनेको देख्दा आश्चर्यचकित भयो । राजाले ती उपवन, धर्मशाला आदि कसका हुन भनी सोधीखोजी गर्यो । नगरबासीले यी सबै रानी र दासीद्वारा निर्मित भएको जानकारी दिए । राजा आश्चर्यचकित त भयो नै, आफ्नो अनुपस्थितिमा रानीले कहांबाट धन ल्याई भन्ने विषयमा रिस पनि उठ्यो । उता रानीले राजाको सवारी हुन लागेको थाहा पाएर दासीलाई स्वागत सत्कार गर्न द्वारमा उभ्याई । राजाले प्रतिकूल अवस्थामा परदेश जानु परेको थियो, हालको ऐश्वर्ययुक्त र वैभवपूर्ण अवस्था देख्दा कतै राजा त फर्कदैनन भने चिन्ता रानीलाई थियो । रानीको आज्ञानुसार दासी ढोकामा उभी र राजालाई यथोचित स्वागतादि गरी दरबारमा लिएर आई ।

राजाले क्रोधपूर्वक सोद्धा रानीले विनम्रतापूर्वक सारा वृत्तान्त बताई । रानीको स्वभावमा आएको परिवर्तन देखेर राजाले ईश्वरलाई साधुवाद दिए । अब राजाले निश्चय गरे म दिनहुं तीन पटक भगवान गुरुदेव बृहस्पतिको कथा भन्नेछु र प्रतिदिन व्रत लिन्छु । त्यसपछि हरेक समय राजाको दोसल्लामा चनाको दाल बांधेर राखेको देखिन्थ्यो भने एक दिनमा तीन पटक कथा भनी गर्थ्यो । एक दिन राजाले बहिनीको घरतिर जाने विचार गर्यो र घोडामा सवार भई आफ्नी बहिनी कहां जाने उद्देश्यले हिड्यो । बाटोमा उसले केही मानिसहरू लाश लिएर जांदै गरेको दृश्य देख्यो, ठिक्क त्यति बेला राजाले कथा भन्ने वेला भएको थियो, ती मलामीलाई रोकेर राजाले कथा सुन्न आग्रह गर्यो । धेरै मलामी कथा सुन्न सहमत भएनन, केहीले कथा सुनने विचार गरे । राजाले दोसल्लाको दाल खोलेर कथा भन्न थाले । जब कथा आधा भयो, मुर्दा चटपटाउन थाल्यो र कथा सकिंदा त त्यो लाश राम-राम भन्दै उभियो । राजा पुनः आफ्नो बाटो लाग्यो । सांझ ऊ हलो जोत्दै गरेको किसान भएको स्थानमा पुग्यो, त्यति बेला पनि राजाले कथा भन्ने वेला भएको थियो, राजाले उससित कथा सुन्न आग्रह गरे, तर किसानले मान्दै मानेन । राजाले यात्रा जारी राख्यो । राजा जानासाथ किसानका गोरु पछारिए र हलीको पेटमा पनि अचानक पीडा हुन थाल्यो । त्यसै समयमा किसानकी आमा खाजा लिएर आई । उसले छोराको अवस्था देखेर सबै वृत्तान्त सोधी, छोराले राजाले कथा सुन्न आग्रह गर्दा नासुनेको कुरा सुनायो । आमै दौड़दै राजासमक्ष गएर म तिम्रो कथा सुन्छु, तर मेरा खेतमा गएर भन्नुपर्छ भनी । राजाले फिर्ता गएर आमैको खेतमा कथा भन्यो, कथा सुन्नासाथ लडेको गोरु उभियो र किसानको पेटको दुखाइ पनि शान्त भयो ।राजा बहिनीको घरमा पुग्यो । बहिनीले दाजुको राम्रो स्वागतसत्कार गरी । भोलिपल्ट एकाबिहानै त्यस घरका सबै व्यक्ति खाना खांदै गर्दा राजा ब्युंझियो । राजाले बहिनीसित कुनै भोको मानिस भए आफूले बिहीबारको कथा सुनाउने भन्यो, दाजुका कुरा सुनेर बहिनीले भनी – दाजु ! यस देशमा त पहिले खाना खाने चलन छ, त्यसपछिमात्र अन्य कर्म संपादन गर्छन । राजा भोको मान्छेको खोजी गर्दै एउटा कुमालेको घरमा पुग्यो, जसको छोरो बिरामी थियो । त्यस घरका सदस्यहरूले विगत तीन दिनदेखि खाना नखाएको प्रसंग राजाले थाहा पायो, उता रानीले पनि आफ्ना दाजुले वाचन गर्ने कथा सुन्न कुमालेसित अनुरोध गरी । कुमालेले हुन्छ भनेपछि राजाले वृहस्पतिवारको कथा भन्यो । कथा सुन्नासाथ त्यस कुमालेको छोरो ठिक भयो । अब त राजाको प्रशंसा हुन थाल्यो । एक दिन राजाले आफू अब घर फर्कने कुरा बहिनीलाई बतायो, अनि बहिनीलाई पनि आफूसंगै लाने कुरा गर्यो ।

राजाकी बहिनीले आफ्नी सासुआमासंग आफ्ना दाजुसंग माइत जाने आज्ञा मांगी । उता सासुले राजाका संतान नभएकाले बुहारीलाई त विदा गरी तर नातिनातिना पठाउन मानिन । भान्जाभान्जीबिना बहिनी मात्र नलाने निर्णय गरी राजा एक्लै दुखी हुंदै घर फर्कियो । राजाले संतति अभाव बाट आफूमा पर्न गएको पीडाको विवरण रानीलाई बतायो र भोजनपानीबिना नै शय्यामा पल्टियो । रानीले राजालाई संझाई, हे प्रभो ! वृहस्पतिदेवले हामीलाई सबै थोक प्रदान गर्नु भएको छ, त्यसैले वहांले नै संतानसुख पनि दिलाउनु हुनेछ । त्यसै रात वृहस्पतिदेवले राजालाई सपनामा भन्नुभयो, हे राजन ! उठ, सबै चिन्तना त्याग । तेरी रानी गर्भवती छ । राजाले यो सुनेपछि उसमा खुसीको बाढी नै आयो । नौ महिनापछि रानीको गर्भबाट एउटा सुंदर पुत्र जन्मियो । अनि राजाले भन्यो, हे रानी ! स्त्री भोजनबिना बाच्न सक्छे, तर नबोली बाच्न सक्दिन । मेरी बहिनी माइत आएको वेला उसका घरमा मलाई भएको पीडा नबताउनू है । रानीले हुन्छ त भनी । तर जब राजाकी बहिनी दाजुको पुत्रप्राप्तिको शुभ समाचार सुनेर धेरै खुसी भई र बधाई दिन माइत आई । रानीको मन अडिएन, नन्दलाई घोचपेच गरिहाली । तर राजाकी बहिनीले हांसीहांसी जवाफ़ दिई, भाउजु ! मेरा घरमा त्यस्तो नभाको भए हजुरको कोखमा संतान पनि त नहुने रैछन नि ! वृहस्पतिदेवले सबैका कामना पूर्ण गर्नुहुन्छ । जसले सदभावनापूर्वक बिहीबारको व्रत लिने गर्दछन र कथा पाठ वा श्रवण गर्दछ अथवा अन्य श्रद्धालुहरूलाई सुनाउंछ, वृहस्पतिदेवले उसका सबै मनोकामना पूर्ण गर्नुहुन्छ, ती भक्तजनको सदैव रक्षा गर्नुहुन्छ । जसले संसारमा सदभावनाले गुरुदेव बृहस्पतिको पूजन एवं व्रत सच्चा हृदयले लिने गर्छ, त्यसका संपूर्ण मनोकामना त्यसरी नै पूर्ण हुन्छन, जसरी सत्य भावनाले रानी र राजाले वृहस्पतिदेवको कथाको गुणगान गरे, अनि तिनका सबै इच्छा वृहस्पतिदेवले पूर्ण गर्नुभयो । जानीनजानी पनि वृहस्पतिदेवको उपेक्षा गर्नुहुंदैन, झुक्किएर उपेक्षा भयो भने पनि सुख-शांति नष्ट हुनपुग्छ । त्यसैले सबैले यो कथा सुनेपछि प्रसाद ग्रहण गर्नु अनिवार्य छ । कथालाई हृदयले मनन गर्दै जयजयकार गर्नु पर्दछ ।

शुक्रबार व्रतविधि
शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। व्रतको दिन स्नान गरी शुद्ध भई श्वेत वस्त्रादि धारण गरी लक्ष्मीदेवीलाई धूप, दियो, चामल, चिनी, सुपारी आदिले पूजा गरी सेतो मिठाई, खिर जस्ता सेतो रङ्गका खाद्यपदार्थ अर्पण गरी त्यो प्रसाद बच्चाहरूलाई बाँडिदिनु पर्दछ । ‘ॐ शुक्राय नमः’ यो मन्त्र ३ माला हरेक पटक जप्ने गर्नु पर्दछ, व्रतको दिन भोजन गर्दा एक छाक नुन खान निषेध गरिएको छ र खाद्य पदार्थमा सेतो चीज बढी प्रयोग गर्ने चलन छ । व्रत सकिएपछि बालबालिका र ब्राह्मणलाई यथाशक्य दान, दक्षिणा दिएर खुशी बनाउनु पर्छ । यो व्रत कमसेकम २१ वटा शुक्रबारसम्म लिनु अनिवार्य छ ।sukra

माणिकपुर नामको कुनै एउटा नगरमा कायस्थ, ब्राह्मण र वैश्यका पुत्रहरू बीचमा गहिरो मित्रता थियो । तिनीहरू प्रायशः सँगसँगै बस्ने, उठ्ने, सुत्ने, खाने र हिँड्ने गर्दथे । तीनै जनाको विवाह भैसकेको थियो । ब्राह्मण र कायस्थका छोराहरूको त मैतालु समेत ल्याइसकेको थियो तर वैश्यपुत्रको द्विरागमन हुन भने बाँकी थियो । एक दिन वैश्यपुत्रसित उसका साथीहरूले भने- अरे यार! तिम्रा घरमा नोकरचाकर छन्, धनको भण्डार छ तापनि तिम्री पत्नीका अभावमा घर बिरानो र शून्य भएको अनुभूति हुन्छ, त्यसैले हे मित्र! जाऊ ससुराल गएर आफ्नी पत्नीलाई लिएर आऊ । दुबै साथीका कुरा सुनेपछि वैश्यपुत्र धनराजले आफ्नी पत्नी कुसुमलाई घर ल्याउने निश्चय गर्यो । अर्को दिन धनराजले आफ्ना मातापितासित आफू कुसुमलाई घर लिई आउन ससुराली जाने कुरा बतायो । नवविवाहिता पुत्रबधूको द्विरागमन ( माइतबाट पहिलोचोटि घर फ़र्कने कृत्य) भएको थिएन । १६ दिनपछि मैतालु लाँदा साइत हेराउनु पर्ने ज्योतिषीय मत छ, छोराका यस्ता कुरा सुनेर उसका बाबुआमा छक्क परे । अनि छोरालाई भने- बाबु ! हिजोआज शुक्रास्तको समय छ, त्यसैले अहिले बुहारीको आगमन राम्रो, उचित र फलदायी हुँदैन । केही समय प्रतिक्षा गर, राम्रो साइत निस्केपछि ज्योतिषीको सल्लाहबमोजिम लिन जाँउला । तर धनराज जिद्दी मान्छे थियो, उसलाई आमाबाबुका कुरा मन परेनन् र स्वीकृतिबिना नै ससुराल पुग्यो ।

ससुराली पुग्दा उसलाई सासुससुराले असाध्यै जोड्तोडले स्वागत गरे । बेलुकाको खानपिनपछि धनराजले आफू आउने उद्देश्य बतायो र भन्यो – म कुसुमलाई लिन आएको हुँ । ज्वाईँका कुरा सुनेर सासुससुरा पनि छक्क परे, अनि उसका बाबुआमाले भनेकै कुरा दोहर्याउँदै भन्न थाले- ज्वाईँ नारायण! हिजोआज शुक्र अस्त छन्, यस्तो वेलामा छोरीलाई माइतबाट विदाइ गर्ने चलन छैन, अतः हजुर केही दिन यहीँ राज गर्नुहवस्, समुचित शकुन हेरेर हामी विदाइ गर्न तैयार छौं । जिद्दी धनराजले त्यसै दिन विदा गर्ने हठ गर्न थाल्यो । सबैले सम्झाइबुझाइ गर्द पनि ऊ लिएरै जाने अडानमा यथावत् रह्यो । आखिरमा ज्वाईँको जिदमा घुँडा टेक्नै पर्यो, सासुससुराले कुसुमलाई विदावारी गरे । आफ्नी पत्नी कुसुमलाई लिएर धनराज गृहनगर प्रस्थान गर्यो । फर्कँदै गर्दा बाटोमा गोरुगाडामा जोतिएका दुबै गोरु अनायासै बेस्सरी कुद्न थाले । यसरी बैलगाडाका गोरु अचानक दौंडँदा बाटोमा रहेको एउटा ठूलो ढुङ्गामा ठोक्किएर गाडाको एउटा पाङ्ग्रो भाँचियो । परिणामतः गाडामा आएको असन्तुलनले कुसुम गाडाबाट तल लडी र उसलाई चोट पनि लाग्यो । दुबैले अब बाँकी यात्रा पैदल तय गर्नु पर्ने भयो । सुनसान र एकान्त मार्गको लामो यात्रामा हिँड्ने क्रममा तिनीहरू डाकाबाट पनि लुटिए । तिनीहरूको सारा सम्पत्ति, गरगहना र लुगाफाटा समेत डाकाले खोसेर लगे ।
sukra.5
बिचराहरू जसैतसै भोकैप्यासै घर पुगे । उता घर पुगेपछि पनि आराम गर्ने क्रममा धनराजसुतेकै स्थानमा आएर एउटा सर्पले उसलाई ठुङ्यो । सेठजीले ठूल्ठूला डाक्टर-वैद्य बोलाएर सर्पविष शमन गर्ने उपाय गर्न लगाए तर कोही पनि सफल भएन । त्यसपछि टाढाटाढाबाट सँपेराहरू बोलाइए, तिनले पनि धनराजलाई बचाउन सकेनन् । धनराजको मृत्यु भयो । शोकग्रस्त सेठजीले छोराको असमयमा मृत्यु किन भयो भनी विद्वान् पण्डितहरू बोलाएर छलफल गर्दा ती विद्वानले भने- सेठजी! हजुरको पुत्रले शुक्र अस्त भएका अवसरमा बुहारीलाई मैतालु लिएर आउनाले यो अवस्था सिर्जना भएको हो । यदि हजुरले तथा विशेषतः बुहारीले शुक्रवारका दिन विधिवत् व्रत लिएर, पूजा, आराधना र कथाश्रवण गरी प्रसाद वितरण, ब्राह्मणभोजन आदि समेत गरी प्रसादग्रहण गर्दा शुक्रदेवताको अनुकम्पाले धनराज पुनः जीवित हुनसक्छ । सेठजीले पण्डितहरूका मतलाई स्वीकार गरी मृतपुत्रको संस्कारादि कृत्य नगरी बुहारीका साथमा उसकै माइत पठाइदिए । सेठकी बुहारी कुसुमले माइत पुगेर शुक्रवारका दिनको व्रत र पूजा-पाठ सम्पादन गरी । उसले आफ्ना पतिबाट भएको भूलप्रति शुक्र देवतासित माफी मागी । त्यसैवेला धनराज निदाएर उठे झैं जुरुक्क उठ्यो । धनराज जीवित हुँदा सर्वत्र हर्षोत्सव मनाइयो । बुहारीले लिएको व्रतको प्रभावले छोरो धनराज जीवित भएको थाहा पाएपछि सेठसेठानीले पनि विधिविधानले शुक्रवारको व्रत लिए र बालबालिका, ब्राह्मण, दीनदुःखी र गरीबगुरुबाहरूलाई अन्न, वस्त्र र धन दान गरे । शुक्र-उदय भए पछि धनराज आफ्नी पत्नी कुसुमका साथ पुनः घर फर्कियो । दुबै पति-पत्नीले त्यसपछिका प्रत्येक शुक्रवारका दिन विधिवत् व्रत लिँदै शुक्रपूजा गर्न थाले । तिनीहरूको घरमा धन-धान्य वर्षियो, समस्त कष्ट नाश भए र परिवारमा सबैजना आनन्दपूर्वक बस्न थाले ।

शनिबार व्रतविधि
शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ । यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ । अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ । फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई धूप, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ। एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल(पानी) चढाउनु पर्दछ। त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ। यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ। अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ। ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ।shani
एक पटक सूर्य, चंद्रमा, मंगल,बुध, गुरु, शुक्र, शनि, राहू र केतु यी समस्त ग्रहहरूका माझमा एकाआपसमा हामीमध्ये सबैभन्दा को ठूलो भन्ने विषयमा झगडा भयो | सबै आआफूलाई ठूलो मान्दथे | आपसमा विवाद नसुल्झिएपछि ती ग्रहहरू आआफ्ना तर्क र अडान लिएर देवराज इंद्र भए ठाउँमा गए । त्यसपछि इन्द्रलाई सबैले एक स्वरमा भन्दा भए – हजुर सम्पूर्ण देवताहरूका राजा हुनुहुन्छ, अतः हजुरले हामीबीचमा भएको विवादलाई राम्ररी अनुसन्धान गरी न्यायसम्मत ढङ्गले हामी नवै जनामध्ये को ठूलो हो निर्णय गर्नुहवस् | देवराज इंद्र ग्रहदेवताहरूका कुरा सुनेर सुरुमा त अत्तालिए र तुरुन्त ममा यस्तो निर्णय गर्ने सामर्थ्य कहाँ छ र भन्दै पन्सिन खोजे । बास्तवमा सबै ग्रहहरू एकसेएक पराक्रमी छन्, अब कसलाई सानोठूलो भनेर छुट्याउनु देवराज इन्द्रका निम्ति यो एउटा कठिन घडि नै थियो । केही बेरपछि इन्द्रले भने- म आफ्नो औकातले त यो निर्णय गर्न सक्दिन, तर एउटा उपाय सुझाँउछु । त्यो उपाय हो यस समय पृथ्वीमा राजा विक्रमादित्य राज गर्दछन्, उनी अर्काको दुःख निवारण गर्ने सामर्थ्य पनि राख्दछन् । त्यसैले हजुरहरू नवै जना उनैकहाँ जानुहोस्, त्यहीं यस विवादको समाधान हुनेछ | समस्त ग्रहदेवता देवराजका त्यस्ता कुरा सुनेपछि देवलोकबाट भूलोकमा आए र राजा विक्रमादित्यको सभाकक्षमा उपस्थित भए, अनि आफ्नो प्रश्न राजासमक्ष तेर्स्याए | राजा विक्रमादित्य ग्रहहरूका कुरा सुनेर गहन चिन्ताग्रस्त भए र सोच्न थाले म के उपायका आधारमा को ठूलो को सानो भनेर भन्नु? फेरि जो सानो बनिएला, त्यसलाई रिस पनि उठ्ला । त्यसपछि विक्रमादित्य ग्रहहरूको विवादबाट पन्सिने उपाय सोच्न थाले र सुन, चाँदी, कांसो, पीतल, सीसा, लाहा, जस्ता, अभ्रक र फलाम गरी नौ किसिमका धातुका नौवटा आसन निर्माण गरी ती नवनिर्मित आसनलाई क्रमैसित अर्थात् सबैभन्दा पहिले सुनको र पुछारमा फलामको आसन ओछ्याउन लगाए | त्यसपछि राजाले सबै ग्रहहरूसँग प्रार्थना गरे – यहाँहरूले आआफ्नो आसन ग्रहण गर्नुहवस्, यहाँहरूमध्ये जसको आसन सबैभन्दा अगाडि छ, ऊ ठूलो हुने र जसको आसन सबैभन्दा पछि छ त्यो सानो हुने भन्ने यहाँहरूले आफैं बुझ्नुहोला । ती आसनमध्ये फलामलाई सबैभन्दा पछि ओछ्याइएको थियो, अनि फलाम शनिदेवको धातु हो, त्यसैले शनिदेवले राजाले मलाई सबैभन्दा सनो बनाए भन्ने कुरा बुझे |
sh8

यस निर्णयप्रति शनिदेवलाई असाध्यै रिस उठ्यो | तुरुन्त राजा विक्रमादित्यलाई झम्टँदै क्रोधित शनिदेवले राजा तपाईंले मलाई चिन्नुभएको रहेनछ, हेर्नुहोस् सूर्य एउटा राशीमा एक महिना, चन्द्रमा सवा दुई दिन, मङ्गल डेढ़ महिना, बृहस्पति तेह्र महिना, बुध र शुक्र एक-एक महिना विचरण गर्दछन् तर म एउटा राशीमा साढे दुई वर्ष विचरण गर्दछु । त्यतिमात्र कहाँ हो र म जुन राशीमा भ्रमणशील हुने गर्दछु त्यस रशीसँगै छेउछाउका राशीमा समेत मेरो प्रत्यक्ष असर हुने गर्दछ, जसलाई साढेसाती भनिन्छ । ठूलठूला देवताहरूलाई पनि मैले भीषण दुःख दिएको छु | हे राजन! सुन्नुहोस्, श्रीरामचन्द्रले साढ़ेसाती भएका बेला वनवास जानुपर्यो | रावणलाई साढेसाती प्राप्त हुँदा भगवान् रामचन्द्रले बाँदरको सेना साथमा लिई लङ्कामा आक्रमण गर्नुभयो र रावणको वंशविनाश हुनपुग्यो | हे राजन ! अब हजुर पनि मेरो प्रकोप सहन तैयार रहनुहोला | राजा विक्रमादित्यले शनिदेवको रोषलाई सामान्य रूपमा लिए र भने – जे भाग्यमा लेखिएको छ, त्यस्तै त होला नि | यसपछि अन्य ग्रहहरू त प्रसन्नतापूर्वक नै त्यहाँबाट आआफ्ना स्थानतर्फ गए तर शनिदेव रिसाउँदै फर्किए । केही समय व्यतीत भएपछि राजा विक्रमादित्यको राशीअनुसार उनलाई पनि साढ़े सातीको दशा आयो । शनिदेव घोड़ाका ब्यापारी बनेर अनेकानेक घोडा लिई राजाको राजधानीमा प्रवेश गरे | अनि राजालाई सिपाहीले घोड़ाको ठूलो ब्यापारी आएको कुरा सुनाए । सिपाहीका कुरा सुनेर राजाले दरबारको आवश्यकता हेरी राम्राराम्रा घोड़ा किन्ने आज्ञा प्रदान गरे | अश्वपालले राजाज्ञा स्वीकार गरी उत्तम नश्लका केही घोडा खरिद गर्यो । केही दिनपछि किनिएका घोडाको जाँचपरख गर्न राजा स्वयं तबेलामा गए र सवार गर्न एउटा असल घोडा छानेर चढ़े | राजा चढ्नासाथ घोडा तेजीका साथ बेस्सरी कुद्न थाल्यो | त्यो घोडा त विक्रमादित्यको राज्यभन्दा धेरै टाढा एउटा घना जङ्गलमा गएर उनलाई त्यहीँ छाडेर अन्तर्ध्यान भयो | त्यसपछि राजा त्यस निर्जन वनमा धेरै दिन भौंतारिए | भोकप्यासबाट पीडित भएका दुखी राजाले भौतारिदा भौतारिंदै एउटा गोठालोलाई भेटे जसले उनलाई पानी खान दियो | राजाको औंलामा औंठी थियो, उनले त्यो औंठी त्यसै ग्वालालाई उपहारस्वरूप प्रदान गरे र त्यसै गोठालासित देशकालको जानकारी लिई बाटो पहिल्याएर उनी नजिकैको सहरतर्फ लागे | राजा नगर पुगेर एउटा सेठको दोकानमा पसे । आफू उज्जैन नगरको विका नामको नागरिक भएको भनी त्यस साहुलाई परिचय दिए | सेठले पनि उनलाई एक जना कुलीन मनुष्य भन्ने ठानी स्वागत सत्कार गर्यो | भाग्यवश त्यस दिन सेठको दोकानमा अलि बढी बिक्री भयो | अनि सेठले राजालाई एउटा भाग्यमानी पुरुष ठानेर आफ्ना घरमा लिएर गयो | भोजनादि प्रदान गरी राजाको सेठले ऱाम्रै आवाभगत गर्यो । तर भोजन गर्दा राजाले बडो आश्चर्यजनक घटना देखे, त्यो के भने जुन ठाउँमा एउटा हार सिउरिएको देखिन्थ्यो, त्यो काँटीले नै त्यस हारलाई निल्दै थियो | भोजनोपरान्त जब सेठ त्यस कक्षमा आए ठिक्क त्यतिबेला राखेको स्थानमा हार देखिएन |

उनले विकाबाहेक त्यस कक्षमा कसैले प्रवेश गरेको छैन, अतः उसैले यो हार चोरेको हुनुपर्छ भन्ने निश्चय गरे | तर विकारूपी राजाले हार चोरेकै थिएनन्, तर परिबन्दले चोरीको दोषी हुनपुगे | चोरीको अभियोगमा उनलाई समातियो र त्यहाँका राजाले उनको मुद्दाको सुनुवाइ गर्दै हातखुट्टा काट्ने आदेश दिए | राजाको फैसला कार्यान्वयन भयो अनि विका बनेका राजा विक्रमादित्य हातखुट्टाबिनाको शरीरका साथमा यत्रतत्र भौतारिंन थाले | केही समय व्यतीत भएपछि एक जना तेलीले त्यस अपाङ्ग राजालाई आफ्नो घरमा लिएर गयो र कोलमा राखेर बसीबसी गोरु धपाउने काममा लगायो | राजा कोलमा बसेर बोलीका भरमा गोरु धपाएर दिन गुजार्न थाले | यी समस्त घटना भएपछि मात्र बल्ल शनिको साढेसातीको दशा समाप्त भयो | वर्षा ऋतुको श्रावणभाद्रको हरियालीको मौसममा शारीरिक रूपले अशक्त राजा मल्हार नामको राग अलाप्न थाले | उनको रागमा साङ्गीतिक मिठास अनुभव गरी त्यस सहरकी मनभावनी नामकी राजाकुमारी मोहित हुन पुगी | राजकन्याले त्यो राग गाउने व्यक्ति को होला भनी खोजीनीति गरी र त्यसको यथार्थ विवरण लिइआउन एउटी दासीलाई अह्राई । दासी त्यस रागको स्वर सुन्दै त्यसको स्रोत कता हो भन्दै सारा सहर घुमी, अन्त्यमा ऊ तेलीको घरमा पुगी । त्यहाँ उसले हातखुट्टाविहीन अपाङ्ग व्यक्ति तेलको कोलमा बसी राग अलाप्दै गोरु धपाउँदै गरेको दृश्य देखी | दासीले फर्किएर राजकुमारीलाई सम्पूर्ण वृतान्त सुनाई | दासीका कुरा सुन्नासाथ उसलाई त्यस राजाप्रति दया र अनुराग जागेर आयो, तुरुन्त उसले प्रण गरिहाली – जे जस्तो अवस्था आए पनि त्यसै अपाङ्गसँग विवाह गर्नेछु | अब सितिमिति राजाले छोरीका कुरा स्वीकार गर्दैनन् भन्ने ठानेर राजकुमारीले अनशन गर्ने विचार गरी | दासीले रानीलाई राजकुमारीका यावत् समाचार भनी । रानीले राजकुमारीलाई अनशन गर्नुपर्ने कारण सोधिन् | राजकुमारीले आमालाई मलाई उसको स्वर असाध्यै मन परेको हुनाले तेलीका घरमा बस्ने हातखुट्टाबिनाको अपाङ्गसँग म विवाह गर्छु भनेर बताई | छोरीका कुरा सुनेर विचरी रानी छक्क परिन् अनि छोरीलाई सम्झाउन थालिन्, नानी तेरो बिहे त त्यस्ता कुँजालङ्गडासँग होइन कुनै देशको राजा वा राजकुमारसँग हुनुपर्दछ | कन्याले आफूले गरेको प्रण नत्याग्ने बताईन् | रानीले चिन्ताग्रस्त भई यो प्रसङ्ग राजालाई सुनाइन् | महाराजले पनि छोरीलाई सम्झाउने बुझाउने प्रयत्न गरे र भने म देश-देशांतरमा दूत पठाएर सुयोग्य,रूपवान् एवं अतिगुणी राजकुमार खोजी गर्छु र त्यसैसँग तिम्रो विवाह गरिदिन्छु |

तिमीले त्यस्ता अपाङ्गसँग विवाह गर्ने कल्पनासमेत गर्नुहुँदैन | तथापि राजकुमारीले मानिन र पितालाई म प्राण नै त्यगिदिन्छु तर अन्य व्यक्तिसित विवाहबन्धनमा बाँधिन्न, मैले त्यसै अशक्तलाई मन अर्पण गरी पतिका रूपम वरण गरिसकें भनी | छोरीका यस्ता कुरा सुनेर राजाले क्रोधपूर्वक भने – ल ठिकै छ, यदि तेरा भाग्यमा यही लेखेको भए तँलाई जसोजसो मन लाग्छ त्यसै गर् | राजाले तेलीलाई बोलाएर तेरा घरमा जुन अपाङ्ग गोठालो छ, त्यसलाई म कन्यादान गर्न चाहन्छु भने । तेलीले पनि यस्तो त हुनै सक्दैन भन्यो । राजाले भाग्यमा जे लेखिएको हुन्छ त्यो मेटिदैन भन्दै आफ्ना घर गएर विवाहको तैयारी गर्ने आदेश दिए | राजाले पनि सम्पूर्ण तैयारी गरी पूर्ण साजसज्जाका साथ चौकाचँदुवा गरी राजकुमारीको विवाह विधिविधानपूर्वक त्यसै अपाङ्गसँग गरिदिए | विवाहको रात विक्रमादित्य र राजकुमारी महलमा सुतेका बेला मध्यरात्रीमा शनिदेवले राजाको स्वप्नमा आई दर्शन दिई हे राजन्! मलाई सानो तुल्याएर हजुरले कति दुःख र कष्ट ब्यहोर्नु पर्यो भनेर सोधे | राजाले भूल स्वीकार गरी शनिदेवसित क्षमायाचना गरे | शनिदेवले पनि राजालाई क्षमा गरिदिए र प्रसन्न भएर विक्रमादित्यका हातखुट्टा जस्ताको त्यस्तै बनाइदिए | त्यसपछि राजा विक्रमादित्यले शनिदेवसित हजुरले मेरो प्रार्थना स्वीकार गरी मलाई दिए जत्ति दुःख अन्य कसैलाई पनि प्रदान नगर्नुहोला भनेर प्रार्थना गरे । शनिदेवले राजाको अनुरोधलाई स्वीकार गरे | अनि राजालाई भने जुन मनुष्यले यो तिम्रो र मेरो कथा भन्नेछ वा श्रवण गर्नेछ, त्यसले मेरो विशेष दशा अर्थात् त्रिभागी, विंशोत्तरी, योगिनी, अढैया वा साढेसाती दशामा समेत म त्यसलाई कहिल्यै पनि दुःख दिन्न | जसले नित्य मेरो ध्यान गर्दछ वा कमिलालाई पिठोको चारा प्रदान गर्दछ, त्यसका समस्त मनोरथ पूर्ण हुनेछन् | यत्ति भनेर शनिदेव आफ्ना लोकमा गए |

यता राजकुमारी मनभावनीको निद्रा खुल्दा आफ्नो अशक्त र कुँजो पतिलाई सबलाङ्ग अवस्थामा देख्दा ऊ छक्क परी । ऊ छक्क परेको देखेर राजा विक्रमादित्यले आफ्नो सम्पूर्ण जीवनवृत्तान्त सुनाए साथै राति सपनामा शनिदेवले दर्शन दिई सबै कष्टहरण गरेको प्रसङ्गसमेत बताए । यी घटना सुनेर राजकुमारी अतीव प्रसन्न भई | प्रातःकालमा सखीहरूले राजकुमारीसित बितेको रातको हालचाल सोद्धा उसले आफ्ना पतिका बारेमा भर्खरै थाहा पएका समस्त वृत्तान्त भनी | सबै प्रसन्न भए र ईश्वरलाई साधुवाद प्रकट गरे | एककान दुईकान हुँदै उता चोरीको आरोप लगाउने सेठले पनि यो घटना सुन्यो र ऊ राजा विक्रमादित्य नजिकै आई उसको खुट्टा समाती क्षमायाचना गर्न थाल्यो | राजाले ममाथि शनिदेवको प्रकोप थियो, त्यसैले मैले यत्तिका कष्ट र दुःख खेप्नु परेको हो, यसमा तपाईंको कुनै दोष छैन भन्दै साहुलाई क्षमा गरे । त्यसपछि सेठले महाराज! सरकारले मेरा घरमा गई प्रीतिपूर्वक भोजन गर्नुभए मात्र म सन्तुष्ट हुनेछु भनी पुनः राजालाई बिन्ती गर्यो । राजाले साहुको अनुरोधलाई स्वीकार गरे । सेठले राजालाई घर लगेर अनेक प्रकारका सुन्दर व्यञ्जनका साथमा राजा विक्रमादित्यको प्रीतिभोजको आयोजन गर्यो | राजाले भोजन गरेका बेला पुनः त्यो पहिलेकै आश्चर्यजनक घटना दोहोरियो | हार झुण्ड्याएको त्यो पहिलेको काँटीले आफूले निलेको हार ओकल्दै गरेको दृश्य त्यहाँ उपस्थित सबैले देखे । भोजनादिको कर्म समाप्त भएपछि सेठले हात जोड्दै राजालाई शाकम्बरी नामक आफ्नी छोरी कन्यादान गर्यो | केही समयसम्म त्यसै सहरमा निवास गरेर राजकुमारी मनोभावनी र सेठकन्या शाकम्बरीका साथै दाइजोमा प्राप्त धनधान्यादि तथा दास, दासी, रथ, घोडा, हत्ती, पालकी, तामदान आदिका साथमा राजा विक्रमादित्य आफ्ना ससुराहरू राजा र ब्यापारी दुबैसँग विदावारी भई उज्जैनतर्फ लागे | आफ्ना सहर उज्जैनका छेउमा पुग्दा राजालाई पुरवासीहरूले भव्य स्वागतसत्कार गरे | प्रसन्नतापूर्वक राजा आफ्ना महलमा प्रवेश गरे | सम्पूर्ण देशमा भव्य उत्सव मनाइयो र ग्रहदेवता शनिको प्रसन्नताका निम्ति दीपमाला गरियो | भोलिपल्ट राजाले आफ्नो सम्पूर्ण राज्यमा शनिदेव समस्त ग्रहहरूमध्ये सर्वोपरि हुनुहुन्छ, मैले शनिश्चरलाई सानो भनेकाले यत्तिका धेरै दुःख र कष्ट भोग्नु पर्यो र पुनः उनैका कृपा र आशीर्वादले मेरा सुदिन प्राप्त भए भनी उर्दी जारी गरे | यसरी त्यस राज्यमा शनिदेवको पूजा, आराधना, व्रतोपवास र कथाश्रवण हुन थाल्यो | राजा र प्रजा दुबै थरिले अनेक प्रकारका सुखभोग गर्नथाले | जो कसैले शनिदेवको यो कथालाई पढ्छ वा सुन्छ, शनिदेवको कृपाले त्यसका समस्त दुःख नष्ट हुन्छन् | शनिबारको व्रत लिनेले व्रतका दिन शनिदेवको यो कथाप्रसङ्ग अवश्य पाठ अथवा श्रवण गर्नु पर्दछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *