हरिशयनी एकादशी व्रतको व्रतकथा

आषाढ़ मासको शुक्ल पक्षको एकादशीलाई नै ‘देवशयनी’ वा हरिशयनी एकादशी भन्ने गरिन्छ । यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने चलन छ । यसै दिनदेखि चौमासा व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ ।यी चार महीनामा भगवान विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन।

यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन, सबै पाप नष्ट हुन्छन तथा भगवान हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान विष्णुको पूजा-आराधना गरिन्छ, परंतु आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पाहेलै दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप,दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ :-

सुप्ते त्वयि जगन्नाथ जमत्सुप्तं भवेदिदम्। विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम्।।
अर्थात हे जगन्नाथ ! तपाई निद्रित भएपछि संपूर्ण विश्व निद्रित हुन पुग्छ र तपाई जागा हुदा संपूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।

यसरी प्रार्थना गरेर भगवान विष्णुको पूजा गर्नु पर्छ। तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मंदिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ । यस दिन अनेक परिवारमा महिलाहरु पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन । यी चार महिनाका लागि आफ्नो रूचि अथवा अभीष्ट-अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ। मधुर स्वरका लागि गुड़, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति कडुवा तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ । देह शुद्धि वा सुंदरताका निम्ति परिमित प्रमाणको पंचगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । साथै चातुर्मासीय व्रतमा केही वर्जना पनि छन। जस्तै -पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही-भात आदिको भोजनादि । मूला, परवल एवं बैंगुन आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि-विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन ।

हरिशयनी एकादशी व्रतको कथा
एक पटक देवर्षि नारदले ब्रह्मासित यस हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो……………
‘सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे । एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयंकर अनिकाल परो । प्रजा व्याकुल भए । यस दुर्भिक्षले चारैतिर त्राहि-त्राहि मच्चियो। धर्म पक्षका यज्ञ, हवन पिण्डदान, कथा, व्रत आदि सबै कुरामा कमी आयो । प्रजाले राजाको दरबारमा गएर आफ्नो वेदना सुनाए । राजाले भने – ‘तपाईहरूको कष्ट धेरै ठूलो छ । म प्रजाको भलाईका निम्ति पूरा प्रयत्न गर्नेछु।’ राजा यस परिस्थितिबाट पहिलादेखि नै दुखी थिए । ती ध्यानमग्न भएर सोच्न थाले आख़िरी मैले यस्तो कुन पाप-कर्म गरेछु, जसको मलाई यस रूपमा प्राप्त हुदैछ?’

अनि प्रजाको वेदना तथा कष्टलाई सहन नसकेकाले, यस कष्टबाट मुक्ति पाउने कुनै साधन गर्ने उद्देश्यले राजा सेना लिएर जंगलतर्फ़ गए। जंगलमा विचरण गर्दागर्दै एक दिन ती ब्रह्माका तेजस्वो पुत्र अंगिरा ऋषिको आश्रममा पुगे र तिनलाई साष्टांग प्रणाम गरे । मुनिले तिनलाई आशीर्वाद दिएर कुशलक्षेम सोधे. अनि त्यसपछि जंगलमा भौतारिनु पर्ने र आफ्नो आश्रममा आउनु पर्ने अभिप्राय जान्ने इच्छा गरे । अनि राजाले हात जोडेर भने -‘महात्मन! सबै प्रकारले धर्मको पालन गर्दागर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य हेर्न विवश छु । म यसको कारण जान्दिन। आख़िरी किन यस्तो हुदैछ, कृपया हजुरले यस विघ्नको समाधान गरेर मेरो संशय नाश गर्नुहोस ।’

राजाका कुरा सुनेर अंगिरा ऋषिले भने- ‘हे राजन! यो सत्ययुग सबै युगहरुमा श्रेष्ठ र उत्तम मानिन्छ । यसमा सानो पापको पनि धेरै ठूलो फल प्राप्त हुन्छ । यस युगमा मनुष्यहरू ब्रह्मको उपासना गर्दछन । यस युगमा धर्म आफ्ना चारै किसिमका चरणमा व्याप्त भई निवास गर्दछ। यसमा ब्राह्मणबाहेक अन्य कुनै जातिलाई तप गर्ने थिएन, जबकि तपाईको राज्यमा एउटा शूद्र तपस्या गर्दैछ। यसै कारणले तपाईको राज्यमा वर्षा नभएको हो। जबसम्म त्यस शूद्रको जीवन लीला समाप्त हुदैन, तबसम्म यो दुर्भिक्ष शांत हुनेछैन। त्यस शूद्र तपस्वीलाई बध गर्नाले मात्र पापको शांति हुने देखिन्छ।’ परंतु राजाको हृदय एकजना निरपराधलाई मार्न तैयार भएन। राजाले त्यस निरपराध तपस्वीलाई मार्नु उचित नहुने ठानेर ऋषिसित अन्य उपाय बताउन अनुरोध गरे। राजाले बिन्ति गरे-‘हे देव! म त्यस निरपराधलाई हत्या गरौ, यो कुरो मेरो मन स्वीकार गर्दैन। त्यसैले कृपा गरेर तपाईले कुनै अरु उपाय बताउनुहोस।’ त्यस पछि ऋषिले भने -‘ आषाढ़ महिनाको शुक्ल पक्षको एकादशी (पद्मा एकादशी वा हरिशयनी एकादशी) को विधिपूर्वक व्रत गर, यस व्रतको प्रभावले अवश्य नै वर्षा हुनेछ।’ ऋषिका कुरा सुनेर राजा मान्धाता जङ्गलबाट फिर्ता आए र उनले चारै वर्णसहित पद्मा एकादशीको विधिपूर्वक व्रत गरे। व्रतको प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन-धान्यले परिपूर्ण भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *