वास्तुशास्त्रका आधारभूत कुरा

bastu

वास्तुशास्त्र निकै प्राचीन विद्या हो। यो मूख्यतः वास्तुविज्ञान (science of architecture) मा आधारित शास्त्र हो, जसले मानवजीवनमा सकारात्मक ऊर्जा ल्याउनको लागि घर-भवनलाई कसरी निर्माण गर्ने भन्ने कुराको ज्ञान दिन्छ। वास्तुशास्त्रको उचित कार्यान्वयनले शताब्दीऔँ देखि मानिसको जीवनमा शान्ति र संवृद्धि ल्याउँदै आएको छ भन्दा अनुचित नहोला।

हुन त प्राचीन कालमा वास्तुशास्त्रको उपयोग हिन्दु मन्दिर तथा दरबारको निर्माणको लागि गरिन्थ्यो, तर पछि तीलगायत अन्य कुराहरूमा पनि यो विद्याको उपयोग गर्न सकिन्छ भन्ने थाहा भएपछि मानिसहरूले व्यक्तिगत घर, भवन, कार्यालय, सवारी साधन, मूर्ती, चित्रकलालगायत अन्य वस्तुहरूमा पनि वास्तुशास्त्रको प्रयोग गर्दै आएका हुन्।

वास्तुशास्त्र मूख्यतः ८ दिशा र भवन निर्माणको लागि प्रयोग गरिएका सामग्रीहरूमा आधारित रहेको हुन्छ। वास्तुशास्त्र यस्तो विद्या हो, जुन प्रकृतिको वर्षौँदेखिको अध्ययनपश्चात उत्पन्न भएको हो। पत्याउन गाह्रो हुन्छ तर, प्राचीन युगमा पनि विद्वान दार्शनिकहरू थिए। उनीहरूले पनि यो संसारको सृष्टि, संरचना अनि आधारभूत कुराहरूको बारेमा पत्ता लगाएका थिए। उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षण बल, चुम्बकीय क्षेत्र, पृथ्वीको गति-चाल, हावाको गति-चाल जस्ता तथ्यहरूको बारेमा पनि ज्ञान थियो। यहि ज्ञानको वैज्ञानिक तथा आध्यात्मिक सदुपयोग हो ‘वास्तुशास्त्र’, जुन वर्षौँ-वर्षौँको खोज तथा परीक्षणबाट मानवजीवनमा प्रयोग हुँदै आएको हो।Basics of Vastushastra

वास्तुशास्त्रका पाँच तत्वहरू

वास्तुशास्त्रमा सबैभन्दा महत्वपूर्ण मानिने पाँच तत्वहरू छन्ः-

१. जल
२. वायु
३. अग्नी
४. धर्ती
५. आकाश

परम्परागत ज्ञान र विद्याका अनुसार, हामी वरिपरीको यो सारा ब्रह्माण्ड यहि पाँच आधारभूत तत्वहरू मिलेर बनेको हुन्छ, जसलाई ‘पञ्चभूत’ पनि भनिन्छ। वास्तवमै भन्ने हो भने मानवलगायत अन्य जीवित प्राणीहरू पनि यहि पाँच तत्वको समन्वयबाट बनेको हुन्छ। त्यसैले त प्राणी र प्रकृतिको सम्बन्ध यति प्रगाढ हुन्छ।

यी पाँच तत्वहरूको बारेमा हरेक व्यक्तिलाई ज्ञान हुनु आवश्यक हुन्छ। किनकी यसको ज्ञानले नै हामीले यो थाहा पाउन सक्छौँ कि हाम्रो घरको निर्माण र संरचनामा के गल्ती भएको छ अथवा कुन वस्तु कुन ठाउँमा राख्नुपर्दछ अथवा उत्तरपट्टि टाउको फर्काएर किन सुत्नुहुँदैन, आदि। पृथ्वीको कुनै निश्चित दिशा र निश्चित वस्तु वा कुनै व्यक्तिको एउटा विशेष किसिमको अन्तरक्रिया हुने गर्दछ र यहि अन्तरक्रियाको बारेमा बुझ्नकै लागि यी पाँच तत्वहरूको बारेमा थाहा पाउनु जरुरी हुन्छ।

वास्तुशास्त्रमा दिशाको महत्व

पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो। घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, यहि कारण हो हरेकलाई यस्तो बारेमा ज्ञान हुनुपर्ने।

वास्तुशास्त्रमा ८ दिशा र त्यसका विशेषताहरू यसप्रकार छन्:-

१. पूर्व

पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ। त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ। संवृद्धताको दिशा हो पूर्वदिशा।

घरका निम्न भागहरू पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ:-

घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजा-आजा गर्ने कोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ।
धन-सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ।
भाञ्छा तथा चर्पी कहिल्यै पनि पूर्व दिशामा फर्किएको हुनुहुँदैन।
पूर्व दिशामा भएका घरका भागहरू कहिल्यै पनि पश्चिम, दक्षिण-पश्चिम तथा उत्तर-पश्चिम दिशामा भएका भागहरूभन्दा माथिल्लो (उच्च) स्थानमा हुनुहुँदैन।
२. पश्चिम

वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा टिठलाग्दो दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ। त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा संवृद्धि छाउन सक्दैन। केहि गरी सुखको आश पलाउन लाग्ने बित्तीकै फेरि दुखको पिँजडामा थुनिनुपर्ने हुन्छ, डुब्न लागेको पहेँलो घाम जस्तै।

पश्चिम दिशाको बारेमा ध्यान दिनुपर्ने कुराहरू यसप्रकार रहेका छन्:-

घरको पश्चिमपट्टि भागमा मूलद्वार होइन, बरु भर्याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ।
चर्पी, फोहोर फाल्ने ठाउँ अनि गोबरग्याँस लाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ।

३. उत्तर

उत्तर दिशा भनेको व्यापार-व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो। त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ। विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ। त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ। साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ।

उत्तर दिशासँग सम्बन्धित निम्न कुराहरूमा विशेष ख्याल राख्नुपर्दछ:-

उच्चतम सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ।
घरको उत्तर दिशातर्फ निर्माण कार्यलाई अलि कमै गर्दा ठीक हुन्छ। यदि तपाईँको घरको उत्तरतर्फ सदावहार निर्माण कार्य भैरहन्छ भन्ने जान्नुहोस् कि तपाईँको जीवनमा संवृद्धि छाउन सक्दैन।

भाञ्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्दै नराख्नुहोस्।
घरको भर्याङ पश्चिमतर्फ राख्नु उचित हुन्छ, उत्तर तर्फ भर्याङ राख्दा त्यसले जीवनमा आर्थिक गिरावटको सङ्केत गर्दछ।
सुत्ने कोठा घरको उत्तर तर्फ नलगाउनुहोस् र सुत्दा पनि उत्तरतर्फ टाउको राखेर नसुत्नुहोस्।

४. दक्षिण

वास्तुशास्त्रीहरू दक्षिण दिशालाई अक्सर विवादास्पद तरिकाले हेर्ने गर्छन्। वास्तुशास्त्र मान्नेहरू पनि दक्षिण दिशा देखि डराउने गर्छन्। किनभने यो दिशा र मानवजातिको बीचमा समन्वय छ वा छैन भन्ने कुराको अझसम्म ठेट उत्तर पत्ता लाग्न सकेको छैन। उदाहरणकै लागि, मानौँ कसैले दक्षिण तर्फ मूल द्वार राखेर घर निर्माण गर्यो। निर्माणको केहि वर्षसम्म त उसको जीवनमा सफलताले बास गरिरहन्छ, तर केहि वर्षपश्चात उसको सफलता विफलतातर्फ गिर्दै जान्छ। त्यसैले वास्तुशास्त्रीहरू के सल्लाह दिन्छन् भने दक्षिण दिशालाई पालैपालो गरी प्रयोग गर्नुपर्छ।

दक्षिण दिशाको बारेमा जान्नुपर्ने कुराहरू:-

घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ।
घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ।
भाञ्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ।
घरको भर्याङ दक्षिण तर्फ राख्दा पनि कुनै फरक पर्दैन।

५. उत्तर-पूर्व

उत्तर-पूर्व दिशालाई भगवानको दिशा मानिन्छ। आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले पुरुष तथा महिलाहरूको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। त्यसैले;

घरको उत्तर-पूर्व दिशामा खुल्ला ठाउँ अथवा चउर बनाउनु सबैभन्दा उत्तम हुन्छ।
घरको उत्तर-पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।
पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।

६. उत्तर-पश्चिम

परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ। व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर-पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले;

नवविवाहित दम्पत्तीको कोठा उत्तर-पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन।
भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा नराखेकै राम्रो।
घरको निर्माण गर्दा उत्तर-पश्चिमदिशाबाट कहिल्यै पनि निर्माण सुरु गर्नुहुँदैन।
यदि घरको जमीनमुनि पानीको ट्याङ्की छ भने त्यसलाई पनि यो दिशामा नराख्नुहोला।
७. दक्षिण-पूर्व

तर्कसङ्गत र कारणसङ्गत सिद्धान्तलाई मान्ने व्यक्तिहरूको लागि दक्षिण-पुर्व दिशा उत्तम मानिन्छ।

यस दिशाको बारेमा निम्न कुराहरू जान्नु आवश्यक हुन्छ:-

भाञ्छा कोठालाई यो दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ।
विद्युतीय सामग्रीहरू जस्तै; टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण-पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।
चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्दै नराख्नुहोला।
८. दक्षिण-पश्चिम

उत्तर-पूर्व दिशा देवगणहरूको दिशा हो भने त्यसको ठीक उल्टो दक्षिण-पश्चिम दिशा राक्षसगणहरूको दिशा हो। त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन।

यदि तान्त्रिक शास्त्रको पाठ गर्नुहुन्छ भने त्यसको कोठालाई दक्षिण-पश्चिम दिशामा राख्नु उत्तम हुन्छ।
भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला।
सुत्दा टाउको पनि यो दिशामा नफर्काउनुहोला।

घरको दक्षिण-पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ।
वास्तुशास्त्रमा जान्नुपर्ने सबैभन्दा मूख्य तथा आधारभूत कुराहरू यहि नै हुन्। यी सामान्य तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर दैनिक काम गर्दा पक्कै पनि तपाईँको जीवनमा सकारात्मक ऊर्जाले पछ्याउनेछ। किनभने वास्तुशास्त्र अन्धविश्वास होइन, यो पनि विज्ञानकै एक अंश हो, जसले प्राकृतिक र भौतिक ऊर्जाको सम्बन्धलाई बुझाउँदछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *