मूल, गण्डान्त र अभुक्त मूलको निर्णय एवं शान्तिविधान

मूल, गण्डान्त र अभुक्तमूल

जुन बालबालिकाको जन्मकालमा कुनै एउटा राशि र कुनै एउटा नक्षत्र एकै पटक समाप्त हुने स्थिति सिर्जना हुन्छ, त्यस्तो अवस्थालाई गण्डान्त अवस्था मान्ने गरिन्छ । यसै समापनको स्थितिमा नै नयाँ राशि र नयाँ नक्षत्र एकै चोटि प्रारम्भ हुने भएकाले यी नक्षत्रहरूलाई मूल संज्ञक वा गण्डान्त नक्षत्र भन्ने गरिन्छ । यदि कुनै नवजात शिशुको जन्मकालमा ज्योतिषीय गणनामा रहेका सत्ताईस वटा नक्षत्रमध्ये मीन र मेष राशिको सन्धि गराउने रेवती र अश्विनी नक्षत्र, कर्कट र सिंह राशिलाई जोड्ने अश्लेषा र मघा नक्षत्र एवं बृश्चिक र धनु राशिलाई सन्धि गराउने ज्येष्ठा र मूल नक्षत्रमध्ये कुनै एउटा नक्षत्र भएमा सामान्य भाषामा त्यस बच्चाको जन्म मूलसंज्ञक वा गण्डान्त नक्षत्रमा भएको मान्ने गरिन्छ। अझ राशि र नक्षत्र एकैसाथ समाप्त हुने अश्लेषा, ज्येष्ठा र रेवती गण्डान्त नक्षत्र र अश्विनी, मघा र मूल नक्षत्र मूलसंज्ञक नक्षत्र हुन् । तर नेपाली परम्परामा यी ६ वटा नक्षत्रमध्ये पनि अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रलाई विशेष महत्त्वका साथमा लिने गरेको पाइन्छ ।

मूल संज्ञक नक्षत्रको निर्णय
ज्येष्ठाश्लेषारेवतीनामन्ते च घटिकाद्वयम् ।

आदौ मूलमघाश्वानां भगण्डो घटिका द्वयम् ।। – ज्योतिःसार शिरोमणि २।२४५

(ज्येष्ठा, अश्लेषा र रेवती यी नक्षत्रको अन्तिम दुई घडी तथा मूल, अश्विनी र मघाका आदिका दुई घडी नक्षत्रगण्डान्त हुन् ।)

अभुक्त मूलको निर्णय
ज्येष्ठान्ते घटिकायुग्मं मूलादौ घटिकाद्वयम् ।

अभुक्तमूलमेतत्स्यादित्येवं नारदोऽब्रबीत् ।

वशिष्ठस्तु तयोरन्त्याद्ययोरेकद्विनाडिकम् ।

अङ्गीरा घटिकामेकामन्ये षट् चाष्ट तत्र तु ।

जातं शिशुं त्यजेत्तातो न पश्येद्वाष्टहायनम् ।।

(ज्येष्ठा नक्षत्रको अन्तिमको २ घडी र मूलको सुरुको २ घडी अभुक्तमूल संज्ञक हुन्छ । यो नारदको वचन हो । वशिष्ठको मतमा ज्येष्ठाको अन्तिम १ घडी र मूलको सुरुको १ घडी अभुक्तसंज्ञक मूल हुन्छ । अङ्गीराको मतमा मत पनि वशिष्ठसँग मेल खान्छ । तर अरुअरु आचार्यहरूको मतमा ज्येष्ठाको अन्तिम ६ घडी र मूलको प्रारम्भको ६ घडी अभुक्त संज्ञक हो । यस्ता योगमा बाल उत्पन्न भयो भने बाबुले त्यसलाई त्यागीदिनु वा आठ वर्षसम्म त्यस नवजात शिशुको मुख नहेर्नु, त्यसपछि हेर्दा दोष लाग्दैन, हेर्नु हुन्छ ।)

मूल नक्षत्र जन्मफल
आद्ये पिता नाशमुपैति मूले पादे द्वितीये जननी तृतीये

धनं चतुर्थोऽस्य शुभोऽथ शान्त्या सर्वत्र सत्स्यादहिभे विलोमम् ।। – ज्योतिःसार शिरोमणि २।२३७

(मूल नक्षत्रको पहिलो चरणमा पिताको, दोस्रो चरणमा माताको र तेस्रो चरणमा धनधान्यको नाश हुन्छ । तर अन्तिम चरणमा सबै असल हुन्छ । यद्यपि शान्ति गरे/गराएमा राम्रो हुन्छ । यस्तै अश्लेषाको विलोम फल हुन्छ । अर्थात् अश्लेषाको पहिलो पाउमा शुभ, दोस्रोमा धननाश, तेस्रोमा मातृकष्ट र अन्तिम चरणमा पितृवियोगको फल हुन्छ ।)

ज्येष्ठा नक्षत्र जन्मफल
आद्ये पादेऽग्रजं हन्ति ज्येष्ठायामनुजं द्विके ।

तृतीये जननीं जातः स्वात्मानं च तुरीयके ।।

(ज्येष्ठा नक्षत्रका पहिला चरणमा दाजुको नाश गर्छ, दोस्रा चरणमा भाइको नाश गर्छ, तेस्रा चरणमा मातालाई पिर्दछ र अन्तिम चरणमा जन्म भए आफैँ नाश हुन्छ ।)

मूल/अश्लेषा वास फल
मार्गफाल्गुनवैशाखज्यैष्ठे मूलं रसातले ।

माघाश्विननभस्येषु शुचौ मूलं सुरालये ।

पौषश्रावणचैत्रेषु कार्त्तिके भूमिसंस्थितम् ।

भूमिष्ठं दोषबहुलं स्वल्पमन्यत्र संश्रितम् ।।

(वैशाख, ज्येष्ठ, मंसिर र फाल्गुन महिनामा मूलको वास रसातल अर्थात् पातालमा हुन्छ । असार, भाद्र, आश्विन र माघमा स्वर्गमा मूलको वास हुन्छ । अनि श्रावण, कार्तिक, पौष र चैत्रमा पृथ्वीमा मूलको वास हुन्छ । मूल नक्षत्र पृथ्वीमा रहेको अवस्थामा जातकले अत्यधिक दुःख र कष्ट व्यहोर्नु पर्छ, अन्यत्र हुँदा आंशिक रूपमा मात्र व्यहोर्नु पर्दछ ।)

स्वर्गे मूले भवेद्राज्यं पाताले च धनागमः ।

मर्त्यलोके यदा मूल तदा शून्यं समादिशेत् ।।

(स्वर्गमा मूल भएमा राज्यप्राप्ति र पातालमा भएमा धनागम हुन्छ भने पृथ्वीमा भएको खण्डमा फलरहित हुने गर्दछ ।)

मूल वृक्ष विचार
जयार्णव नामक ग्रन्थमा मूल नक्षत्रलाई एउटा वृक्षको स्वरूप मानी त्यसका ६० घटिकामध्ये जुन घटिकामा बालकको जन्म भएको छ, तदनुसार फल प्राप्त गर्ने विषय उल्लेख गरिएको छ ।

मूलस्तम्भस्त्वचा शाखा पत्रं पुष्पं फलं शिखा ।

मुनयोऽष्टौ दिशो रुद्राः सूर्य्याः पञ्चाङ्घ्रयोऽग्नयः ।

मूले तु मूलनाशः स्यात् स्तम्भे वंशविनाशनम् ।

त्वचि १० मातुर्भवेत् क्लेशः शाखायां ११ सातुलस्य च ।

पत्रे १२ राज्यं विजानीयात् पुष्पे ५ मन्त्रिपदं स्मृतम् ।

फले ४ च विपुला लक्ष्मीः शिखाया ३ मल्पजीवितम् ।।

(मूल नक्षत्रका ६० घडीमध्ये सुरुदेखि क्रमशः ७ घडी फेदमा, ८ घडी स्तम्भमा, १० घडी बोक्रामा, ११ घडी हाँगामा, १२ घडी पातमा, ५ घडी फूलमा, ४ घडी फलमा र ३ घडी टुप्पोमा परेको मानिन्छ । फेदमा जन्म भए मूलनाश र स्तम्भमा भए वंश नाश हुन्छ, त्यस्तै बोक्रामा मातृकष्ट, शाखामा दाजुभाइको हानि, पातमा राज्यप्राप्ति, फूलमा मन्त्रीपद, फलमा प्रशस्त धनसम्पत्ति प्राप्त हुन्छ भने टुप्पामा परेमा अल्पायु हुने गर्दछ ।)

यसरी नै मूल नक्षत्रलाई पुरुषाकारमा स्थापना गरेर घटिकाको विभाजन गर्ने नियम पनि छ ।

मूलस्य घटिकान्यासो मूर्ध्निपञ्च ५ नृपो भवेत् ।

मुखे सप्त ७ मृतिः पित्रोः स्कन्धे वेदा ४ महाबलः ।

बाह्वोरष्टौ बली पाण्योस्तिस्रो ३ हस्तान्वितो भवेत् ।

हृदि खेटाः ९ भूपमन्त्री नाभौ द्वौ २ ब्रह्मविद्भवेत् ।

गुह्ये दशा १०ऽतिकामी स्याज्जानुनोः षण् ६ महामतिः ।

पादयोः षण् ६ मतिस्तस्येत्युक्तवान् कमलासनः ।।

(मूलपुरुषचक्रमा क्रमशः यसका ६० घडीमध्ये सुरुका ५ घडी टाउकामा, ७ घडी मुखमा, ४ घडी काँधमा, ८ घडी पाखुरामा, ३ घडी हातमा, ९ घडी हृदयमा, २ घडी नाइटामा, १० घडी गुदद्वारमा, ६ घडी तिघ्रामा र ६ घडी खुट्टामा पर्दछ । टाउकामा परे राजा, मुखमा पितृनाश, काँधमा महाबली, पाखुरामा बली, हातमा परोपकारी, हृदयमा राजाको मन्त्री, नाइटामा ब्रह्मवेत्ता, गुदद्वारमा कामुक, तिघ्रामा विद्वान् र खुट्टामा परे चतुरो हुने फल प्राप्ति हुनेछ ।)

तर माथि बताइएको चक्र पुरुष जातक अर्थात् छोराका लागि निर्धारित गरिएको हो । स्त्री जातक अर्थात् छोरीका लागि छुट्टै नियम छ ।

चतस्रो ४ नाडिकाः शीर्षे कुर्वन्ति पशुनाशनम् ।

मुखे षट् ६ धनहानिश्च कण्ठे पञ्च धनागमः ।

कौटिल्यं हृदये पञ्च बाह्वोर्बित्तागमं च तत् ।

वेदाः ४ पाण्योर्दयाधर्म्मं वेदा ४ गुह्येऽतिकामिनी ।

ज्येष्ठमातुलनाशश्च जङ्घयोर्युग ४ नाडिकाः ।

ज्येष्ठभ्रातृविनाशश्च चतस्रो जानुयुग्मके ।

पादयोर्दश १० नाड्यश्च तत्र वैधव्यमादिशेत् ।

(यसरी नै मूल स्त्री चक्रमा ६० घडीमध्ये सुरुदेखि क्रमशः ४ घडी शिरमा, ६ घडी मुखमा, ५ घडी घाँटीमा, ५ घडी हृदयमा, ५ घडी दाहिने पाखुरामा, ५ घडी देब्रे पाखुरामा, ४ घडी दाहिने हातमा, ४ घडी देब्रे हातमा, ४ घडी गुदद्वारमा, ४ घडी तिघ्रामा, ४ घडी घुँडामा र १० घडी खुट्टामा पर्ने गर्दछ । शिरमा परे पशुनाश, मुखमा धनहानि, घाँटीमा धनहानि, हृदयमा कुटिलता, पाखुरामा धनागम, हातमा दयालु, गुह्यमा कामुक, तिघ्रामा जेठा मामालाई कष्ट, घुँडामा दाजुलाई कष्ट, खुट्टामा परे वैधव्यको फल हुन्छ ।)

यसरी नै अश्लेषाको पनि पुरुष चक्र बनाएर फलादेश गर्ने विधान छ ।

मूर्ध्नि पञ्चसु ५ पुत्राप्तिर्मुखे सप्त ७ पितृक्षयः ।

नेत्रे द्वे २ जननीनाशो ग्रीवायां स्त्रीषु लम्पटः ।

स्कन्धे वेदाः ४ गुरौ भक्ति र्हस्तेऽष्टौ ८ च बली भवेत् ।

हृद्येकादशभि ११ श्चात्मघाती संजायते नरः ।

द्वाभ्यां नाभौ भ्रमः, षड्भिर्गुदे नन्दै ९ स्तपोधनः ।

पादे पञ्च ५ धनं हन्ति सार्पादेतत्फलं क्रमाद् ।।

(अश्लेषाको पुरुष चक्रमा सुरुदेखि क्रमशः ५ घडी टाउकामा, ७ घडी मुखमा, २ घडी आँखामा, १ घडी घाँटीमा, ४ घडी काँधमा, ८ घडी हातमा, ११ घडी हृदयमा, २ घडी नाइटामा, १५ घडी गुदामा, ५ घडी खुट्टामा पर्दछ । यीमध्ये टाउकामा परे सुपुत्रवान्, मुखमा पितृनाश, नेत्रमा मातृनाश, घाँटीमा स्त्रीलम्पट, काँधमा गुरुभक्ति, हातमा बलवान्, हृदयमा आत्मघाती, नाइटामा शङ्कालु, गुदामा तपस्वी तथा खुट्टामा परे धनहानिको फलप्राप्ति हुन्छ ।)

मूल नक्षत्र जसरी नै अश्लेषा नक्षत्रको समेत वृक्षचक्र हेर्ने चलन पनि छ ।

फलं पुष्पं दलं शाखा त्वग्लता कन्द एव च ।

सार्पवल्या दशा १० क्षां ५ ङ्कं ९ स्वर ७ विश्वा १३ र्क १२ सागराः ४।

नाडिकास्तद्भवे बाले फलं ज्ञेयं यथाक्रमम् ।

श्रीः श्रीराजभयं हानिर्मातृपित्रात्मसंक्षयः ।

माथि उल्लेख भएका शास्त्रीय वचनका आधारमा पनि मूल वा गण्डान्त नक्षत्रमा जन्मनासाथ सबै स्थितिमा अशुभ फल नै प्राप्त हुन्छ भन्ने निर्णय गर्न सकिंदैन ।तर अधिकतम मानिसहरूमा के भ्रम छ भने मूलमा जन्मिएका मानिसहरू अल्पायु हुन्छन्, उसले मातापिता, मावली, हजुरबाहजुरामाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ र धनवैभव नाश तुल्याउँछ । यसै भ्रमका कारण एउटा नवजात शिशुले जन्मनासाथ दुर्भाग्यको कारक हुनुपर्दछ अनि अनेक क्रियाकलापका अनिष्टपक्षको अपजश ब्यहोर्नुपर्दछ । यद्यपि सबै अवस्थामा यी सबै नक्षत्र अनिष्टकारी हुँदैनन्, समाजमा चलेका भ्रमका कारण यी नक्षत्र दुर्नाम भएको अवस्था भने विद्यमान छ ।

ज्योतिष विधाका ठूलठूला ग्रन्थहरू र शतपथ ब्राह्मण एवं तैत्तिरीय ब्राह्मणमा मूलसंज्ञक नक्षत्रको चर्चा गरिनुका साथै तिनको वेदोक्त मन्त्रद्वारा उपचारका प्रसङ्गमा विस्तारपूर्वक वर्णन गरिएको भेटिन्छ । यता ज्योतिषीय फलादेशलाई महत्त्व दिने केही जातक ग्रन्थहरूमा समेत उक्त मूलसंज्ञक नक्षत्र सदैव अनिष्टकारी हुने ठोकुवा गरेको भेटिंदैन । कतिपय अवस्थामा यी नक्षत्रको स्वतः अरिष्टशमन भएको समेत देखिन्छ । त्यसैले यहाँ प्रत्येक अवस्थामा मूलसंज्ञक नक्षत्र अरिष्ट नहुने देखिएकाले मूलसंज्ञक नक्षत्रका बारेमा फलादेश गर्नुअघि गहिरो चिन्तन गरेर निर्णय लिनु जायज हुन्छ । मेरो व्यक्तिगत अनुभवका आधारमा मूलसंज्ञक नक्षत्रको अरिष्टपक्ष तीस प्रतिशत व्यक्तिलाई मात्र लागू भएको देखिएको छ । सत्तरी प्रतिशत व्यक्ति यस प्रभावबाट स्वतः मुक्त हुन्छन्। तिनलाई सामान्य ढङ्गले स्वस्तिशान्ति गरिदिंदा हुन्छ ।

मूल नक्षत्र स्वतः परिहार हुने केही अवस्थाहरू
१) बालबालिकाको जन्म यदि गण्डान्त नक्षत्रहरू अश्लेषा, ज्येष्ठा र रेवतीको अन्तिम चरणमा भएको छैन भने गण्डान्त जन्मको दोष तिनले भोग्नु पर्दैन ।

२) त्यस्तै कुनै जातक मूलसंज्ञक नक्षत्रहरू अश्विनी, मघा र मूलको पहिलो पाउमा जन्मिएका छैनन् भने तिनले पनि त्यस योगबाट सिर्जना हुने अनिष्ट पाटोको सिकार बन्नु पर्दैन ।

३) बच्चाको जन्मसमयमा यदि वृष, सिंह, वृश्चिक वा कुम्भ लग्नको उदय छ भने ती भाग्यमानी नै हुने गर्छन्, न कि दुर्भाग्यका कारक ।

४) दिउँसो र रात्रीकालको जन्मबाट पनि मूलसंज्ञक र गण्डान्त नक्षत्रमा पाइने शुभाशुभ फलको प्रभाव परेको देखिन्छ, जस्तै जातक पुरुष हो र ऊ दिवाकालमा जन्मिएको छ भने र जातक स्त्री हो र ऊ रात्रीकालमा जन्मिएकी छ भने अनिष्ट फल ब्यहोर्नु पर्दैन ।

५) जन्मिएको दिनमा कुन बार छ, त्यसका आधारमा समेत यी गण्डान्त र मूलसंज्ञक नक्षत्रको परिणाम लेखाजोखा गर्ने परिपाटी छ, जस्तै मङ्गलबार र शनिबारबाहेक अन्य बारमा जन्मिएका बालबालिकाहरूमा गण्डान्त र मूलको अनिष्ट प्रभाव कम रहेको देखिन्छ । मङ्गलबारलाई उग्रसंज्ञक र शनिबारलाई तीक्ष्णसंज्ञक नक्षत्र मानिने भएकाले त्यस दिन जन्मिएका जातकमा भने गण्डान्त र मूल नक्षत्रको दुष्प्रभाव बढी हुने सम्भावना हुन्छ ।

६) ज्योतिषशास्त्रका केही शुभ र अशुभ मानिएका योगहरू जस्तै छत्र योग, कालसर्प योग, गजकेसरी योग, सिद्धि योग, सर्वार्थसिद्धि योग, गुरुपुष्य योग, रविपुष्य योग, पुष्कर योग, अमृतसिद्धि योग, राजयोग, द्विपुष्कर एवं त्रिपुष्कर योगका साथमा जातक जन्मन गएमा समेत गण्डान्त र मूलसंज्ञक नक्षत्रको दुष्परिणाम प्राप्त हुँदैन ।

यद्यपि सबै अवस्थामा गण्डान्त र मूलसंज्ञक नक्षत्रले बिगार गर्दैनन् । तर यीमध्ये अश्लेषा नक्षत्रमा जन्म लिने व्यक्तिको सुरुमा बुध ग्रहको र भ्रामरी योगिनीको दशाकालमा, ज्येष्ठा नक्षत्रको बुध ग्रह र भद्रिका योगिनीको दशाकालमा, रेवती नक्षत्रको बुध ग्रह र उल्का योगिनीको दशाकालमा जन्म हुने एवं अश्विनी नक्षत्रमा जन्मने बालबालिकाको जन्मकालमा केतु ग्रह र भ्रामरी योगिनीको दशाकालमा, मघा नक्षत्रको केतु ग्रह र भद्रिका योगिनीको दशाकालमा र मूल नक्षत्रको केतु ग्रह र उल्का योगिनीको दशाकालमा जन्म हुने भएकाले बाल्यावस्थामा विशेष गरी तिनको बुध/भद्रिका, केतु/उल्का, राहु/उल्का, शनि/उल्का, राहु/सङ्कटाको संयुक्त दशावधि चलेको समय संवेदनशील रहने कुरामा भने तिनका अभिभावकले सचेत र सावधान रहनु आवश्यक हुन्छ। विशेषतः ती नक्षत्रमा जन्मिएका बालबालिका मध्ये बुधको दशाकालमा तिनको कुण्डलीमा बुध ग्रह बसेको र उसको दृष्टि परेको घरमा अनि केतु ग्रहको उपस्थिति रहेको र दृष्टि रहेको घरमा केही नकारात्मक फल प्राप्त हुने हुँदा मूलसंज्ञक नक्षत्रको एकपल्ट विधिविधानपूर्वक शान्ति कर्मसम्पादन गर्नु अनिवार्य हुन आउँछ ।

मूल शान्तिका लागि आवश्यक सामाग्री
मूलशान्ति कर्म गर्दा घरमा सामान्य रुद्री र हवन गर्दा जेजति सामाग्री चाहिने हो, त्यति नै सामाग्रीमा केही थप सामाग्री जुटाएर गर्न सकिन्छ । यस कर्ममा विशेष गरी मूल नक्षत्रलाई केन्द्रमा राखी सत्ताईसवटा नक्षत्रको विशेष पूजा हुने भएकाले ती नक्षत्रका देवताको प्रतीकका रूपमा सत्ताईस वटा प्रतिमाको आवश्यकता हुन्छ । भरिसक्य सुनको वा कुनै एउटा धातुबाट निर्माण भएका सत्ताईस वटै प्रतिमा, सम्भव नभए कम्तीमा तीनवटा र त्यो पनि सकिंदैन भने कम्तीमा एउटा देवप्रतिमाको निर्माण गराउनु पर्दछ । यसरी प्रतिमा निर्माण गर्दा एउटा ठूलो र मूल्यवान्, अरु दुईवटा अलि साना र बाँकी चौबीस वटा सामान्य प्रतिमा बनाउने चलन छ । एउटामात्र प्रतिमा बनाएको अवस्थामा मूल प्रतिमाबाहेक अन्य छब्बीस वटा नक्षत्रका लागि एकएक वटा गिल्टी पैसा (डलर) वा सुपारीको प्रयोग गर्न सकिन्छ । त्यसबाहेक मूल शान्तिमा प्रयोग गरिने तामाको एउटा नयाँ कलश, त्यसमाथि राखिने सुन, चाँदी वा तामा (इच्छानुसारको) एउटा नयाँ थालीसमेत खरिद गर्नु पर्दछ । स्नान गर्दा सहस्रधारा सृजना होस् भन्ने उद्देश्यले चाल्नीको प्रयोग गरिन्छ । त्यसैले सुन, चाँदी, तामा वा बाँसको इच्छानुसार नयाँ चाल्नी पनि किन्नुपर्दछ । शान्तिकर्मपछि उक्त थाली, चाल्नी, कलश र प्रतिमा शान्ति गराउने पण्डितजीलाई दान गर्ने विधान छ । यसबाहेक जसको मूल शान्ति गर्ने हो, उसलाई र मुख्य कर्ता (भएसम्म जातकको पिता) ले लगाउने एकसरो नयाँ लुगा पनि किन्नु पर्दछ । त्यसबाहेक आफ्नो इच्छानुसार पूजासामाग्रीहरू गोदानका लागि एउटा लैनो गाई (सम्भव नभए त्यसको सट्टामा नगद, गोदान द्रव्य), लगभग दुई पाथी जति चरु (हवन सामाग्री), ब्राह्मणको सङ्ख्या हेरी वरणसामाग्री (सामर्थ्य बमोजिम धोती, गम्छा, कपडा, टोपी आदि), अग्निस्थापना विधि सम्पन्न गर्न आवश्यक पर्ने पूजासामाग्री, चन्दन, राता, काला र नीला अक्षता, कुमकुम, अगरबत्ती, धूप, फलफूल, माला, तिल, जौ, कुश, समिधा (सामान्य दाउराका अतिरिक्त विशेष गरी पलाश र खयरका समिधा तथा ग्रहका लागि छुट्टाछुट्टै समिधा समेत), च्यातचुते कपडा (रातो, सेतो, पहेंलो, कालो), धानचामल, आवश्यक खाद्यपदार्थ, चानचुने पैसा (करिब २०० थान), भेटीदक्षिणा, भाडाकुँडा, दुनाटपरी आदि आवश्यक पर्दछ । सौभाग्यवती स्त्रीहरू, कन्याकुमारीहरू, ब्राह्मणहरू, गरिबगुरुबाहरू आदिलाई विशेष निमन्त्रणा गरी भोजन गराई वस्त्रपात्रादि दान गरी दक्षिणा समेत दिनु पर्दछ ।

मूल शान्तिको प्रयोग
देश, काल र परिस्थितिअनुसार नक्षत्रको कुण्डलीगत दोषका आधारमा योग्य र कर्मकाण्डी ब्राह्मणद्वारा वैदिक यज्ञ र पूजासम्पादन गर्दा मूलदोष शान्त हुने विश्वास गरिन्छ । त्यसबाहेक जातकले मूलशान्ति गर्न सम्भव नभएमा जातकको लग्नेशलाई विचार गरी जीवनरत्न वा लग्नेशको प्रतीकात्मक रुद्राक्ष धारण गर्दा समेत मूलको प्रभाव न्यूनीकरण भएको देखिन्छ । बुधको प्रभाव अनिष्टकारक भएमा चार वा छमुखे र केतुको प्रभाव अनिष्टकारक भएमा नौ वा तेह्रमुखे रुद्राक्ष धारण गर्दा समेत शुभफल प्राप्त हुन्छ । मूलशान्ति कर्म सम्पादन गर्न नौजना योग्य र दक्ष ब्राह्मणको आवश्यकता पर्दछ । उक्त कर्म गर्दा अग्निस्थापना र रुद्रीपूजा गर्नु अनिवार्य हुन्छ । त्यसैले अग्नि र शिववास जुरेको कुनै गण्डान्त वा मूलसंज्ञक नक्षत्र रहेकै दिनमा कर्मसम्पादन गर्नु पर्दछ । कर्मसम्पादन गर्दा निम्न सामाग्री खोजमेल गरी दिइएको विधिबमोजिम सम्पादन गर्नु पर्दछ ।

१) १०८ वटा मूलको पानी, १०८ वटा पवित्र स्थलको माटो र १०८ वटा भिन्नभिन्न वनस्पतिको पात जम्मा पारी महादशाचक्र बमोजिम जन्मकालको आद्यदशा प्रदान गर्ने ग्रहको तान्त्रिक वा वैदिक मन्त्रको एक लाख पच्चीस हजार पटक जाप गराउनु पर्दछ।

२) सम्बद्ध ग्रहको दानसामाग्रीका अतिरिक्त चामल, गुड़, घिउ, कालो तिल, गहुँ, कम्बल, जौ आदि सामाग्री समेत दान गर्नु पर्दछ।

३) मूलशान्ति कर्मसम्पादन गर्दा बुधको आद्यदशा भए भगवतीको कुनै शक्तिपीठ वा देवीदेउरालीमा र केतुको आद्यदशा भएमा शिवालयमा गर्दा प्रभावकारी ढङ्गले शुभफल प्राप्त हुन्छन्। त्यसबाहेक मुक्तिक्षेत्र, पाशुपत क्षेत्र, परशुराम क्षेत्र, हरिहर क्षेत्र, कुरुक्षेत्र, बाराहक्षेत्र आदि तीर्थस्थलमा यी कर्म सम्पादन गर्नु अझ प्रभावकारी हुन्छ भन्ने विश्वास पनि गरिन्छ।

मूल नक्षत्रमा जन्मिएका जातकका पिताले नामकरण संस्कारका दिन, जन्मभएको १२ दिनका दिन, २७ दिन भित्रको कुनै शुभ दिन वा कुनै वर्षको जन्मनक्षत्रका दिन वा रुद्रीहवन जुरेको कुनै पनि शुभ दिनमा यज्ञको आयोजना गर्न सकिन्छ । यस क्रममा मूल यजमान (सकेसम्म कर्म चलेको भए जातक स्वयं नत्र जातकको पिता) ले सबैभन्दा पहिले स्वस्तिवाचनपूर्वक विघ्नहर्ता भगवान् गणेशको पूजा गरी पवित्र आसनमा बसी आचमनादि गरी पाद्यअर्घ्यादि पूजनसामाग्री तैयार गरी सङ्कल्प गर्नुपर्छ । (अद्येहेत्यादि अमुक राशिरमुकशर्म्माहम् अमुकराशे पुत्रस्य कन्याया वा मूलनक्षत्रस्यामुकपादजननशान्तिकर्मणि गोमुखप्रसवकर्मणि च निर्विघ्नतया कार्य्यसिद्धये भगवतो गणेश्वरस्य पूजनं कारयिष्ये)

सङ्कल्प गरेपछि भगवान् गणेशलाई यथोपचार पूजा गरी जौतिलकुशमिश्रित तिलानीको पानी हातमा लिएर तिथि, नक्षत्र, वार, योग, करण आदि पञ्चाङ्गको स्मरण गरी मुख्य सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि स्मृत्वा अमुकगोत्रोऽमुकराशिरमुकनाम्नः पुत्रस्य मूलनक्षत्रामुकपादजननामुकारिष्टनिवृत्तिपूर्वकसर्वोपद्रवशान्त्यर्थं शुभफलप्राप्तये शौनकोक्तप्रकारेण गोमुखप्रसवपूर्वकं मूलशान्तिं कारयिष्ये तत्पूर्वाङ्गत्वेन मातृपूजापुण्याहवाचननान्दीश्राद्धानि करिष्ये तथा मूलशान्तिकर्मसम्पत्तये आचार्य्यब्रह्मणो सदस्यत्र्विजां च सप्तशतीशान्तिकसूक्तादिपाठकर्तृणां ब्राह्मणानां पूजनपूर्वकं वरणं च करिष्ये)

यसरी सङ्कल्प गरी यथायोग्य मातृपूजा, नान्दीश्राद्ध, पुण्याहवाचन आदि कर्म गरी आचार्यहरूलाई पूजादि र वरण गरी यजमानले करबद्ध भई यथाविहितं कर्म कुरुध्वम् भन्नु र आचार्यहरूले पनि करवामः भनी स्वीकृति प्रदान गर्नुपर्दछ । त्यसपछि आचार्यहरूले यज्ञमण्डपमा गई आचार्य, ऋत्विक् र सदस्यहरू यथास्थानमा बसी यज्ञको प्रारम्भिक विधि अग्निसंस्कारादि चतुस्वस्ति होमपर्यन्तको कर्म गरी पुण्यतीर्थहरूबाट सङ्ग्रह गरिएको अभिमन्त्रित जल र पञ्चगव्यले भूमि शुद्ध बनाई मण्डपको नैऋत्य दिशामा वेदी बनाई त्यसमा चौबीस दलको (चतुर्विंशतिदलको कमल आकार) रेखी हाली वा चामल वा रङको प्रयोग गरी मूलचक्र निर्माण गरी त्यसको माझमा तामाको कलश स्थापना गरी त्यसको कलशस्थापन विधिको प्रयोग गरी पूजादि गरी त्यसमाथि सुन, चाँदी वा तामाको यथायोग्य थाली राखी त्यसमाथि यथाशक्ति निर्माण गरिएको निऋतिको प्रतिमा अग्निसंस्कारद्वारा शुद्ध तुल्याई दूध, दही, घिउ, मह र चिनीले स्नान गराई ॐ मनोजूति …….. भूर्भुवः स्वः मूलनक्षत्रस्वामिन्निऋते इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव भनी स्थापना गर्नुपर्दछ । उक्त प्रतिमाको दाहिनेपट्टि ज्येष्ठा नक्षत्रका देवता इन्द्रको र देब्रेपट्टि पूर्वाषाढा नक्षत्रका देवता तोयको स्थापना गर्नुपर्दछ । त्यसपछि चौबीस दलको कमलको पूर्वबाट ईशानसम्म क्रमशः उत्तराषाढा नक्षत्रदेखि सुरु गरी श्रवण, धनिष्ठा आदि क्रमले अनुराधा नक्षत्रपर्यन्तका देवताको स्थापना गर्नुपर्दछ । (उक्त क्रममा प्रत्येक नक्षत्रका देवताको उच्चारण गर्दै ॐ भूर्भुवः स्वः उत्तराषाढादेवाः इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव, ॐ भूर्भुवः स्वः श्रवणदेव इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव, ॐ भूर्भुवः स्वः धनिष्ठादेव इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव भनी समस्त चौबीसवटै नक्षत्रको नामोच्चारणका साथमा स्थापना गर्नुपर्दछ र अन्तिममा ॐ भूर्भुवः स्वः विश्वेदेवाआरभ्यमित्रपर्य्यन्ताः देवताः सुप्रतिष्ठिता भवन्तु भनी सबैको पूजा गरिदिनु पर्दछ । )

यसरी २७ वटै नक्षत्रको स्थापना गरेपछि ईशान कलशको विधि प्रयोग गरी कलशमा ब्रह्म, वरुणसमेत नवग्रहको आह्वान गरी पूजाका लागि सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि अमुकराशिरमुकशम्र्माहं अमुकराशेः पुत्रस्य मूलनक्षत्रामुकपादजननामुकारिष्टनिवृत्तये शुभफलप्राप्तये मूलशान्तिकम्र्मणि सुवर्णप्रतिमायां अधिदेवताप्रत्यधिदेवतासहितस्य मूलाधिदेवस्य निर्ऋतेः उत्तराषाढादिनक्षत्रदेवतानां विश्वेदेवादिमित्रान्तानां पूजनं करिष्ये तथा कलशे आवाहितानां ब्रह्मवरुणसहितादित्यादिनवग्रहाणां साधिप्रत्यधिदेवानां च यथामिलितोपचारैः पूजनं करिष्ये ।)

यसपछि निर्ऋति देवताको ध्यान गर्नुपर्दछ –

संस्मरेन्निर्ऋतिं श्यामं सुमुखं नरवाहनम् । रक्षोऽधिपं खड्गहस्तं दिव्याभरणभूषितम् ।

अब इन्द्रको ध्यान गर्नुपर्दछ –

वराभयकरः साक्षाद्द्विभुजो रक्तवर्णकः । पद्मासनोपविष्टश्च ध्यातव्यो मघवा नरैः ।

अब तोयको ध्यान गर्नुपर्दछ –

पाशयुग्मधरो देवो द्विभुजः श्वेतवाहनः । ध्यातव्यस्तोयदेवस्तु मीनस्योपरि संस्थितः ।

यसरी नै चौबीस दलको कमलमा स्थापना गरिएका समस्त विश्वेदेवादि नक्षत्रका देवताहरू र नवग्रह आदिको नाममन्त्रले ध्यान गर्नुपर्दछ । अब मुख्यदेवता निर्ऋतिदेवको ॐ मोषुण परावरा निर्ऋतिर्द्रुहिणावदी तदतृष्णा तृष्णया सह यस मन्त्रले आवाहन गरी आसनादि प्रदान गरी पूजा गरिदिनु पर्छ । इन्द्र र तोयको पनि यसरी नै पूजा गरी स्थापित अन्य २४ वटै नक्षत्र देवताहरूलाई पनि ॐविश्वेभ्यो देवेभ्यो नमः, ॐगोविन्दाय नमः, ॐवसुभ्यो नमः, ॐवरुणाय नमः, ॐअजचरणाय नमः, ॐअर्हिबुध्न्याय नमः, ॐपूष्णे नमः, ॐदस्राभ्यां नमः, ॐयमाय नमः, ॐअग्नये नमः, ॐब्रह्मणे नमः, ॐचन्द्राय नमः, ॐशिवाय नमः, ॐअदितये नमः, ॐगुरवे नमः, ॐसर्प्पेभ्यो नमः, ॐपितृभ्यो नमः, ॐभगाय नमः, ॐअर्य्यम्णे नमः, ॐरवये नमः, ॐत्वष्ट्रे नमः, ॐत्रायवे नमः, ॐशक्राग्नीभ्यां नमः, ॐमित्राय नमः भनी नाममन्त्रले आवाहन, आसनादि प्रदान गर्नुपर्दछ । अब मुख्यकलशमा आदित्यादि नवग्रहको आकृष्णेन आदि वेदमन्त्रले आदित्याय नमः, सोमाय नमः इत्यादि नाममन्त्रको उच्चारण गर्दै त्यसरी नै पूजा गरिदिनु पर्छ । अब मुख्यदेवता निर्ऋतिदेवलाई रातो चन्दन, फूल, काला अक्षता आदिको प्रयोग गरी षोडशोपचार पद्धतिले पुष्प समर्पणपर्यन्तको पूजा गरिदिनु पर्दछ । यसरी नै पूर्वस्थापित अन्य देवताको पूजादि गर्नुपर्दछ ।

यसपछि वेदीको ईशानकुनामा कम्तीमा एकपाथी परिमाणको धान ओछ्याई त्यसमाथि एउटा कलशको स्थापना गरी स्वस्तिक चिह्नले युक्त थाली राखी त्यसमाथि शिवजीको स्थापना गर्नुपर्दछ र सङ्कल्प (अद्यहेत्यादि अमुकोऽहं मूलशान्तिकम्र्मणि रुद्रकलशे सुवर्णप्रतिमायां श्रीरुद्रस्य पूजनं करिष्ये) गरी ॐभूर्भुवः स्वः सुवर्ण प्रतिमायां श्रीरुद्र सुप्रतिष्ठितो वरदो भव भनी शिवप्रतिमाको स्थापना गरी महामृत्युञ्जय मन्त्रको उच्चारण गर्दै ध्यान गर्नुपर्दछ –

ॐत्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम् । उर्वारुकमिवबन्धनान्मृत्योर्मुक्षीय मा मृतात् ।।

यसरी नै उक्त मन्त्रको उच्चारण गर्दै आवाहन, आसन, पाद्यादि विधिले शिवजीको पूजा गरिदिनु पर्छ । त्यसपछि एघार आवृत्ति रुद्री, आशुः शिशान, अप्रतिरथकवचं, नमस्ते रुद्रमन्यवका सोह्रमन्त्र, शतरुद्रानुवाकं त्वं यविष्ठदाशुषे, रक्षोघ्नं रक्षोहण, कृणुष्वपाज आदि मन्त्रको एघार एघार पटक छुट्टै पाठ गरिदिनु पर्दछ । अनि त्र्यम्बकं यजामहे भन्ने मन्त्रको एक सय आठ पटक र पुनन्तु मा देवजना र पावमानीश्च मन्त्रको एक पटक पाठ गर्नु पर्दछ ।

यसपछि प्रधान निर्ऋति देवतालाई धूप दिनुपर्दछ । यसरी धूप दिंदा मेषश्रृङ्गादिधूपैश्च दीपैश्चैव विशेषतः । सुरापोलिकमांसाद्यैस्तथा गोरोचनादिभिः भनिएको छ । तर मत्स्यमांससुरादीनि ब्राह्मणः परिवर्जयेत् सुरास्थाने प्रदातव्यं क्षीरं सैन्धवमिश्रितम् । पायसं लवणोपेतं मांसस्थाने प्रदापयेत् । भनिएको हुँदा दूध र खिरमा नुन मिसाएर नैवेद्य चढाउनु पर्दछ । यति गरेपछि समस्त देवताको नीराजन (आरती) गरी पुष्पाञ्जली गरिदिनु पर्छ ।

यसपछि पहिल्यै नै पञ्चभूसंस्कार गरी स्थापना गरिएका अग्निकुण्डमा गई द्रव्यत्याग सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि अमुकोऽहं मूलशान्तिकम्र्मणा यक्ष्ये तत्र आघाराज्यभागदेवताभ्य इदमाज्यं तथा इदं सम्पादितं पायससमित्कृसरादि-चरुद्रव्यं निर्ऋतीन्द्र-तोय-विश्वेदेव-गोविन्द-वसु-वरुणाजपादहिर्बुध्न्य-पूष-दस्र-यमाग्नि-प्रजापतीन्दु-शिवादिति-गुरु-सर्प-पितृ-भगार्य्यमा-रवि-त्वष्ट्र-वायुयन्द्राग्निमित्र-नवग्रह-रक्षोघ्न-वामदेव-दुर्गा-ऋत्विक्स्तुत्वास्तोष्पत्यग्नि-क्षेत्रपाल-मित्रावरुण-विरुपाक्षाग्नि-श्री-सोम-रुद्र-स्विष्टकृदग्निभ्यो महाव्याहृतिदेवताभ्यः सर्वप्रायश्चित्तदेवताभ्यः प्रजापतये च मया परित्यक्तं ॐतत्सत् यथादैवतमस्तु ।)

प्रधानदेवताहोमः
प्रजापति, इन्द्र र अग्निको हवन गरेपछि प्रधानदेवता निर्ऋतिको घृतमिश्रित पायसको चरु प्रयोग गरी पलाश, खयर वा अन्य समिधामा १०८ पटक होम गर्नुपर्दछ ।

विनियोग – मोषूणपरावरेति अघोरकर्णऋषिर्गायत्रीच्छन्दो निर्ऋतिर्देवता घृतमिश्रितपायसादिद्रव्येणाष्टोत्तरशतसंख्यया होमे विनियोगः

मन्त्र – ॐ मोषूणः परावरा निर्ऋतिर्द्रुहिणावदी तरतृष्णः तृष्णया सह । स्वाहा इदं निर्ऋतये ।

त्यसपछि अधिदेवता इन्द्र र प्रत्यधिदेवता तोयका निमित्त अट्ठाईस अट्ठाईस पटक हवन गर्नुपर्दछ ।

विनियोगः – इन्द्रआसामिति प्रजापतिर्ऋषिस्त्रिष्टुप्छन्दः इन्द्रो देवता पायसाज्येनाष्टाविंशतिसंख्यया होमे विनियोगः

मन्त्र – ॐ इन्द्रऽआसान्नेता बृहस्पतिर्द्दक्षिणा यज्ञःपुरऽएतु सोमः देवसेनानामभिभञ्जतीनाञ्जयन्तीनां मरुतो यन्त्वग्रम् । स्वाहा इदमिन्द्राय ।

विनियोग – आपोहिष्ठेति सिन्धुद्वीपऋषिर्गायत्रीच्छन्द आपो देवता अपां प्रीतये अष्टाविंशतिसंख्यया होमे विनियोगः ।

मन्त्र – ॐआपोहिष्ठा मयोभुवस्तानऽऊर्ज्जेदधातन महेरणाय चक्षसे । स्वाहा इदमद्भ्यः ।

यसपछि चौबीस दलको कमलमा स्थापना गरिएका प्रत्येक देवताहरूलाई आठ आठ पटक नाममन्त्रले पायस हवन गरिदिनुपर्दछ । क्रमशः ॐविश्वेभ्यो देवेभ्यो नमः स्वाहा इदं विश्वेभ्यो देवेभ्यः । ॐगोविन्दाय नमः स्वाहा इदं ……..। ॐवसुभ्यो नमः स्वाहा इदं ……..। ॐवरुणाय नमः स्वाहा इदं ……..। ॐअजचरणाय नमः स्वाहा इदं ……..। ॐअहिर्बुध्न्याय नमः स्वाहा इदं ……..। ॐपूष्णे नमः स्वाहा इदं ……..। ॐदस्राभ्यां नमः स्वाहा इदं ……..। ॐयमाय नमः स्वाहा इदं ……..। ॐअग्नये नमः स्वाहा इदं ……..। ॐधात्रे नमः स्वाहा इदं ……..। ॐचन्द्रमसे नमः स्वाहा इदं ……..। ॐशर्वाय नमः स्वाहा इदं ……..। ॐअदितये नमः स्वाहा इदं ……..। ॐबृहस्पतये नमः स्वाहा इदं ……..। ॐसर्प्पेभ्यो नमः स्वाहा इदं ……..। ॐपितृभ्यो नमः स्वाहा इदं ……..। ॐभगाय नमः स्वाहा इदं ……..। ॐअर्य्यम्यो नमः स्वाहा इदं ……..। ॐसवित्रे नमः स्वाहा इदं ……..। ॐत्वष्ट्रे नमः स्वाहा इदं ……..। ॐवायवे नमः स्वाहा इदं ……..। ॐशक्राग्नीभ्यां नमः स्वाहा इदं ……..। ॐमित्राय नमः स्वाहा इदं मित्राय भनी नक्षत्रका चौबीस वटै देवताको हवन गरेपछि आकृष्णेन आदि मन्त्रले नवग्रह प्रत्येकलाई आठआठ पटक हवन गरिदिनु पर्छ । यसपछि दाल र चामलमिश्रित कृसरले रक्षोहा देवतालाई आठ पटक हवन गर्नुपर्छ ।

विनियोग – कृष्णुस्वेति पञ्चर्चस्य वामदेवऋषिस्त्रिष्टुप्छन्दो रक्षोहा देवता अष्टसंख्यया कृसर होमे विनियोगः

मन्त्र – ॐकृष्णुस्व पाजः प्रसितिं च पृथ्वीं याहि राजेवामवाँ२ । इभेन तृष्वीमनुप्रसितिं द्रूणानोस्तासि विध्यरक्षसस्तपिष्ठैः स्वाहा । इदमग्नये १।

ॐतव भ्रमासऽआशुया पतन्त्यनुस्पृश धृषता शोशुचानः तपुϑष्यग्ने जुह्वा पतङ्गानसन्दितो विसृज विष्वगुल्काः स्वाहा । इदमग्नये २।

ॐप्रतिस्पशो विसृज तूर्णितमो भवापायुर्विशोऽअस्या अदब्धः । यो नो दूरेऽअघशϑसो योऽअन्त्यग्ने माकिष्टे व्यथिराघर्षीत् स्वाहा । इदमग्नये ३।

ॐउदग्ने तिष्ठ प्रत्यातनुष्वन्यमित्राँ२ । ओषतात्तिग्महेते । या नोऽअरातिϑसमिधान चक्रे नी तं धक्ष्यतसन्न शुष्कं स्वाहा । इदमग्नये ४।

ॐऊर्द्ध्वो भव प्रतिविध्याध्यस्मदाविष्कृष्णुष्व दैव्यान्यग्ने अवस्थिरा तनुहि यातुजूनां जामिमजामिं प्रमृणीहि शत्रून् स्वाहा । इदमग्नये ५।

यसपछि गायत्री मन्त्रले सविता देवतालाई, ॐ जातवेदसो मन्त्रले दुर्गालाई, महामृत्युञ्जय मन्त्रले रुद्रलाई, ॐ सीरायुञ्जन्ति मन्त्रले ऋत्विक्स्तुतिलाई, ॐ तामग्निवर्णां मन्त्रले दुर्गालाई, ॐवास्तोपते मन्त्रले वास्तुदेवतालाई, ॐअग्निमीले मन्त्रले अग्निलाई, ॐक्षेत्रस्यपतीनां मन्त्रले क्षेत्रपाललाई, ॐगृणाना जमदग्निना मन्त्रले मित्रावरुणलाई, ॐअग्निन्दूतं पुरोदधे मन्त्रले विरुपाक्ष नामका अग्निलाई समेत आठआठ पटक कृसर हवन गरिदिनु पर्छ । कृसर हवन पछि श्रीसूक्तको पाठ गरी प्रत्येक मन्त्रले श्रीदेवीलाई चरुले हवन गरिदिनु पर्छ ।

त्यसपछि पुनः पायसले ॐत्वन्नः सोम विश्वतो गोपा मन्त्रले सोमलाई र ॐया ते रुद्र शिवा मन्त्रले रुद्रलाई हवन गरेर पुनः कृसर, पायस र चरुमिश्रित सामाग्रीद्वारा ॐ अग्नये स्विष्टकृते स्वाहा भनि अग्निमा हवन गर्नुपर्दछ । त्यसपछि भूरादि आहुति गर्नुपर्दछ । यसपछि यज्ञको उत्तरार्द्धमा गरिने प्रक्रियाहरू क्रमशः पूर्णपात्र, मासभक्तपायसबलि, पूर्णाहुति गर्नुपर्दछ । यसपछि यज्ञान्तगोदान, दक्षिणा सङ्कल्पादि गरी यज्ञसमापन गर्नुपर्दछ ।

यज्ञको विधि समाप्त भएपछि घर वा पूजास्थलको मूलआँगनमा यज्ञमा प्रयोग भएका निर्ऋतिकलश, ईशानकलश आदिको जल अभिमन्त्रित गरी मूल नक्षत्र भएको जातकका साथमा यज्ञका कर्ता तथा यजमानहरूलाई पहिरिएका कपडाका साथमा विभिन्न शान्तिमन्त्र, वसुधाराको मन्त्र, पुरुषसूक्त, श्रीसूक्त र अन्य स्तुतिहरूको पाठ गर्दै सुन, चाँदी, तामा वा यथायोग्य बनाइएको चालनी माथिबाट स्नान र अभिषेक गरिदिनु पर्दछ । अभिषेक गरेको जातकले पुराना वस्त्र त्यागी नूतन वस्त्र धारण गरेर ब्राह्मणहरूलाई भोजन, दक्षिणा, वस्त्राभूषण प्रदान गरी प्रसन्न तुल्याउनु पर्दछ । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *