औंसी : को महत्त्व

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको आधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालाई मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलाई चन्द्रकलाका आधारमा १५/१५ दिनका दुईवटा पक्षमा विभाजन गरिएको हुन्छ – शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलाई अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलाई एउटा तिथिको समय मानिन्छ, जस्तै ० देखि १२ डिग्रीसम्म प्रतिपदा, २४ डिग्रीसम्म द्वितीया, त्यसरी नै तृतीया, चतुर्थी आदि तिथिको समय निर्धारण हुन्छ । पृथ्वीमा बसेर सूर्य र चन्द्रमाको परिभ्रमण पथको अवलोकन गर्दा सूर्य र चन्द्रमाको १८० डिग्रीको दूरीमा पूर्णचन्द्र अर्थात् पूर्णिमा तिथिको समाप्तिकाल हुन्छ र सूर्य र चन्द्रमाको रेखा एकै ठाउँमा आइपुगेको बेला अमावस्या तिथिको समाप्तिकाल हुन्छ । त्यसैले अन्य तिथिका तुलनामा सनातन हिन्दू धर्ममा औंसी र पूर्णिमाको विशिष्ट स्थान छ ।

अन्य तिथिहरूमा देवताहरूको उपासना गर्ने गरिन्छ, तर औंसीमा पितृहरूको उपासना हुने गर्दछ । शास्त्रले यस तिथिका देवता पितृदेवलाई मानेको छ, अतः सनातन संस्कारमा यस दिन आआफ्ना पितृहरूको प्रसन्नताका निमित्त श्राद्ध, दान, ब्राह्मणभोजन आदि गर्ने प्रचलन छ । त्यस बाहेक आफूले गर्ने एकोद्दिष्ट (मृतपितृको छिन्ने तिथिमा गरिने) श्राद्धमा कुनै कारणले विघ्न भएमा वा मृतपितृको तिथिमा निश्चितता नभएमा त्यसै महिनाको औंसी वा त्यसपछि आउने कुनै औंसीका दिन विधिवत श्राद्धादि सम्पन्न गर्ने विधान पनि छ । त्यसैले अमावस्यामा प्रत्येक व्यक्तिले आआफ्ना पितृहरूको सम्झना गर्ने गर्दछन् र श्रद्धाभाव व्यक्त गर्दै श्राद्ध, तर्पण र दानादि गर्ने गर्दछन् । पितृहरूको सम्झना गरिने भएकाले यस दिनलाई निशि बार्ने दिन भनिएको हो । निशि निशा शब्दको अपभ्रंश रूप हो । निशा शब्दको अर्थ रातको समय हुन्छ । त्यसैले पितृअधिकार पाएका व्यक्तिले औंसीका दिन बेलुकाको छाक बार्ने भएकाले यस दिनलाई निशि बार्ने भनिएको हो । अपराह्न काल पितृपूजा वा श्राद्धको समय हो । त्यसैले जुन दिन अपराह्नकालमा औंसी तिथि पर्दछ, त्यस दिन बेलुका नियमित खानपान नगरी हविष्यान्न (चोखो खान्की) खाई निशि बार्ने काम हुन्छ । समग्रमा पितृहरूको तृप्तिका निमित्त औंसी तिथिको अत्यधिक महत्त्व छ । बृहन्नारदीयपुराणमा बेग्लाबेग्लै अमावस्यामा गरिएको पार्वण श्राद्धको विशेष फल प्राप्त हुने कुरा उल्लेख गरिएको छ –

चैत्रवैशाखयोस्तत्र दर्शे पितृसमर्चनम् । पार्वणेन विधानेन श्राद्धं वित्तानुसारतः ॥

द्विजानां भोजनं दानं गवादीनां विशेषतः । सर्वमासेष्वमायां वै बहुपुण्यप्रदं यतः ॥

ज्येष्ठामायां व्रतं प्रोक्तं सावित्र्याः कस्य नारद । विधानं ज्येष्ठपूर्णावदिहापि परिकीर्तितम् ॥

शुचौ नभसि भाद्रे च मासे पूर्णान्तिके द्विज । पितृश्राद्धं दानहोमसुरार्चानन्त्यश्नुते ॥

भाद्रदर्शेऽपराह्ने तु तिलक्षेत्रसमुद्भवान् । विरिञ्चिमनुनामन्त्र्य हुंफट्छिन्नान्कुशान् द्विज ॥

सर्वदा सर्वकार्येषु योजयेदेकदापरान् । इषामायां विशेषण पितॄणां श्राद्धतर्पणम् ॥

विधेयं जाह्नवीतोये मुक्तिदं च गयास्थले । ऊर्ज्जामायां दीपदानं देवा गारगृहेषु च ॥

नद्यारामतडागेषु चैत्यगोष्ठापणेषु च । समर्चनं तथा लक्ष्म्याः स्वर्णरौप्ये कृताकृते ॥

द्यूतं च वर्षफलदं जये चापिपराजये । गवां पूजात्र विहिता शृङ्गाद्यङ्गानुरञ्जनैः ॥

यवसान्नादिदानैश्च नमस्कारप्रदक्षिणैः । मार्गेऽपि पितृपूजा स्याच्छ्रद्धैर्ब्राह्मणभोजनैः ॥

ब्रह्मचर्यादि नियमैर्जपहोमार्चनादिभिः । पौषे माघे च विप्रेन्द्र पितृश्राद्धं फलाधिकम् ॥

अमायां कर्णपातार्कयुक्तायां तु गयाधिकम् । फाल्गुने केवलं श्राद्धं द्विजानां भोजनं तथा ॥

दानादि सर्वफलदं दर्शे सोमेऽधिकं फलम् ।

ज्योतिषशास्त्रको सिद्धान्तअनुसार एउटा साैर वर्षमा उत्तरायण र शुक्ल पक्षमा देवात्माहरू तथा दक्षिणायन र कृष्ण पक्षमा दुष्टात्माहरू सक्रिय हुन्छन् । देवात्मा निष्क्रिय भएको समयमा दुष्टात्मा र दानवी प्रवृत्ति हाबी हुने गर्दछ । दुष्टात्मा र दानवी प्रवृत्ति भएको वेलामा मानव जीवन र मनमा पनि अशुभ भावना, कुबुद्धि र अलच्छिन सल्बलाउन थाल्दछ । त्यसैले प्रेरणा, आत्मबल, उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले कृष्णपक्ष र दक्षिणायनका समयमा व्यक्तिविशेषको मनमस्तिष्क धर्ममार्गमा मोड्नका निमित्त शुभकर्ममा जोड दिइएको हो । औंसी कृष्णपक्षको सबैभन्दा धेरै प्रभाव रहने दिन हो, अतः औंसीका दिन सकेसम्म सात्विक भाव ग्रहण गरी चोखोनीतो र शुद्धाचरण गर्न अनिवार्य मानिएको हो ।

दुष्टात्मा सक्रिय हुने विशेष दिन भएकाले अमा‍वस्याका दिन भूतप्रेत, पितृ, पिशाच, निशाचर, जीवजन्तु र दैत्यहरू अत्यधिक सक्रिय र उन्मुक्त रहने गर्दछन् भन्ने मान्यता पनि छ । यस दिनको प्रकृतिपक्ष मानव हीतविपरीत हुने भएकाले व्यक्तिले आफैं सावधान हुनु पर्दछ भन्ने ठानिन्छ । टुनामुना, जादु, धामी, झाँक्री आदिको साधनाकाे समय पनि औंसी वा पूर्णिमा नै हुने गर्दछ । प्रेतको शारीरिक संरचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत ईथरिक एटम हुन्छ, त्यस्तै पितृहरूको शारीरिक संरचनामा २५ प्रतिशत ईथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुन्छ । ईथरिक एटमको सघनता भएको वेला प्रेतको र एस्ट्रल एटम सघन भएको अवसरमा पितृको फोटो (छायाचित्र) खिच्न सकिन्छ भन्ने मान्यतासमेत छ ।

औंसीका दिन चन्द्रमा देखिंदैन । मनको कारक मान्ने गरिएकाले व्यक्तिको मनमस्तिष्कमा चन्द्रमाको प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैले जुन व्यक्ति भावुक हुन्छ, तिनमा तिथिको उतारचढाव र सूर्य तथा चन्द्रमाको गतिस्थितिको अनुभूति छिटो हुन्छ । मानसिक रोगीमा देखिने उतारचढावमा यो प्रभाव अत्यधिक रहेको देखिन्छ । त्यसैले गाउँघरमा ‘औंसी पूर्णे लागेछ’ भनी उखानको प्रयोग नै गर्ने चलन पनि छ । भावनाका दृष्टिकोणले किशोर अवस्थाको उमेरमा जोसुकै बढी संवेदनशील हुन्छन् । त्यस्तै पुरुषका तुलनामा स्त्रीहरू बढी भावुक र संवेदनशील हुन्छन् । जुन वेला चन्द्रमाका कलाहरू घट्दै र क्षीण हुँदै गएका हुन्छन्, मनोसंवेगमा त्यसको प्रभाव बढ्दै जान्छ र औंसी तथा आसपासको समयमा हाम्रो मनमस्तिष्क र शरीरमा बढी हलचल हुने गर्दछ ।

माैसम विज्ञानमा पनि सूर्य र चन्द्रमा मिलन र दूरीको प्रत्यक्ष प्रभाव हुन्छ । सामान्यतया औंसी र पूर्णिमाका दिन समुद्रमा ज्वारभाटा आउँछ । एकाएक समुद्रको सतह माथि उक्लिन्छ । वायुले समुद्रको जलको शोषण र दोहन शीघ्रगतिमा गर्नसक्ने वातावरण बन्छ । त्यस्तै सूर्य र चन्द्रमाको कोणीय सम्बन्ध बनेका दिनहरू अर्थात् दुबै पक्षका अष्टमीका दिन पनि सानो ज्वारभाटाको उत्पत्ति हुन्छ । त्यसैले औंसी वा पूर्णिमाका आसपासमा वर्षा र बादलको सङ्केत गर्ने प्रचलन छ ।

औंसीका दिन के के गर्नु हुँदैन :-

१) अमावस्याको दिन पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२) यस दिन दाम्पत्यसुख र पारिवारिक सम्मृद्धिका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन छ, त्यसैले यस दिन नाचगान, पार्टी, उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नुहुँदैन । यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ । त्यसैले औंसी वा यसको आसपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन, त्यस्तै औंसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलाई ज्योतिषशास्त्रले राम्रो मान्दैन ।

३) यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी आदि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन । यी वस्तुको सेवन गरेमा तत्काल हुने दुष्परिणामबाहेक भविष्य दीर्घरोगी बनाउने र परिवारसुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४) अमावस्याको वैज्ञानिक पक्षलाई नै विचार गर्ने हो भने औंसीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *